कोरोना परिक्षणमा प्रयोगमा ल्याइएका पीसीआर र आरडिटी विधि के हुन् ?

0
Shares

नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन सरकारले चैत ११ देखि बैशाख १५ गतेसबै देशभर हाल लकडाउन गरेर कोरोना संक्रमितको पहिचान र उपचारमा जुटेको छ। 

कुनै पनि व्यक्तिमा कोभिड १९ को संक्रमण  भएको छ कि छैन भनेर सुरुमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधि मार्फत नमुना परिक्षण गरिरहेको सरकारले बुधबारसम्ममा वाग्मति र सुदूर पश्चिममका सबै जिल्ला सहित ६३ जिल्लामा र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) बाट समेत परिक्षण थालेको छ। अब १४ जिल्लामा बाँकी छ। 

पछिल्ला दिनमा सनसिटी अर्पाटमेन्टमा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको नतिजा पीसीआरमा नेगेटिभ र कैलालीकी एक महिलामा आरडीटीमा नेगेटिभ नतिजा आए पनि पीसीआरमा पोजिटिभ देखिएको घटानाले त्यस विधि जाँचको विश्वसनीयता र कुन विधि कस्तो र कुन चाँही विधि सहि भन्ने द्वविधा आम जनमानसमा उत्पन्न भएको छ। कतिपयले जाँचमाथि प्रश्न समेत उठाएको पाइन्छ।

विज्ञहरुका अनुसार दुई विधिको परीक्षणको उद्देश्य र त्यसले दिने परिणामबारेको अनभिज्ञताले कतिपयमा भ्रम परेको हो। दुवै विधिको उद्देश्य र परिणाम फरक फरक रहेको हुन्छ। उनिहरुका अनुसार पिसिआर विधि पहिचानका लागि आरसिटी निगरानीका लागि उपयुक्त हुन्छ। 

उनीहरुका अनुसार पीसीआर विधिले कुनै पनि व्यक्तिको शरीरमा भाइरस छ कि छैन पत्ता लगाउँछ। कुनै पनि व्यक्तिमा संक्रमणको सुरुवाति चरणको परीक्षणमा पीसीआर विधि उपयुक्त हुन्छ। उता आरडीटी परिक्षणले कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि शरीरले बाह्य पदार्थसँग लड्न बनाउने तत्व ( एन्टीबडी) उत्पादन गरेको छ कि छैन भनेर हेर्छ।

डाक्टर समीरमणि दीक्षितका अनुसार आरडिटी परिक्षणमा रगतमा हाम्रो प्रतिरोधात्मक शक्तिले बनाएको एन्टिबडी डिडेक्ट गर्ने हो। ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) वा ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) एन्टिबडी मुख्य रुपमा कुनै पनि व्यक्तिमा संक्रमण भएको तीन चार दिनदेखि बढीमा पाँच छ महिनासम्म देखिन्छ। नेपालले चलाइरहेको यी दुबैको परिक्षण गर्नसक्ने टेस्ट किट रहेको छ।

डाक्टर दीक्षितले भने ” सनसिटीको एक जनामा पनि पिसिआरमा नेगेटिभ नतिजा आएको बताउँदै र्यापिड टेस्टमा पोजेटिभ देखिँदैमा आत्तिहाल्नु पर्दैन। किनभने तीन महिना अगाडि भएर रोग निको हुने क्रममा रहेको र एक महिना वा एक हप्तामात्र अगाडि संक्रमण सुरु भएको भएपनि र्यापिड टेस्टमा पोजेटिभ नतिजा देखापर्छ। त्यसैले आजको दिनमा कुनै पनि ब्यक्तिमा संक्रमण छ कि छैन भनेर हेर्नका लागि भने पिसिआर नै चाहिन्छ। 

विज्ञहरुका अनुसार १४ दिन  वा सो भन्दा धेरै दिन क्वारन्टीनमा बसेकाहरूलाई संक्रमण बढेको छ कि छैन भनेर हेर्नका लागि आरडिटी उपयुक्त हुन्छ। आरडिटीमा पोजेटिभ देखिएको तर पीसीआरमा नेगेटिभ देखिएकाहरुबाट अन्यमा संक्रमण सर्ने सम्भावना कम हुन्छ। तर आरडिटीमा नेगेटिभ देखिएपनि पीसीआरमा पोजिटिभ देखिएको संक्रमितहरुबाट भने अन्य व्यक्तिलाई सर्न सक्ने सम्भावना रहन्छ।

पीसीआर परीक्षणको विशेष परीक्षण कक्ष, विशेष जनशक्ति, लामो समय, खर्चिलो र जटिल प्रविधिका कारण समुदायमा संक्रमण भएको छ कि छैन भने हेर्न भने आरडिटी परिक्षण गरिन्छ। आरडीटीको नतिजा १५ मिनेटमै आउँछ भने पीसिआरको नतिजा आउन कम्तिमा ६ घन्टा लाग्छ। 

कोभिड १९ संक्रमण भएको १४ दिनपछि गरिने आरडीटी परीक्षणमा शतप्रतिशत पोजिटिभ नतिजा देखाउने विज्ञहरू बताउँछन्। आरडिटीमा नेगेटिभ देखिनु भनेको शतप्रतिशत नेगेटीभ हो जुन पीसीआरबाट नहुनसक्छ। यद्यपी सुरुको दिनमा शरिरले एन्टिबडी उत्पादन सुरु गरिनसकेकोे अवस्थामा आरिडिटी परिक्षणको थप पुष्टिको लागि नेपालले १० प्रतिशत नमुना परीक्षण पुन पीसीआरबाट जाँच्ने गरेको छ। 

पीसीआरले नेगेटिभ नतिजा देखाउनु भनेको यसअघि पनि उसमा कोरोना छैन भन्ने होइन। त्यसैले संक्रमित कुनै व्यक्तिमा भाइरस अस्तित्वमा बाँकी छ छैन वा उ कुनै बेला सङ्क्रमित थियो कि थिएन भन्ने पत्ता लगाउनका लागि भने आरडीटी परीक्षण नै गर्नुपने हुन्छ। सीसीआरमा नेगेटिभ र आरडिटीमा पोजेटिभ देखिनु भनेको शरीरले प्रयाप्त मात्रमा रोगसँग लड्न उत्पादन गर्ने एन्टीबडी उत्पादन गरिरहेको छ भन्ने हुन्छ। 

व्यक्तिमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता सबल बन्दा भाइरस कमजोर भएको अवस्थामा आरडिटी परिक्षणमा नतिजा पोजेटिभ आउनसक्छ। अर्को व्यक्तिमा सर्ने वा नसर्ने तथा भाइरसको हालको अवस्थाको जाँच भनेपीसीआरबाट मात्र हुनसक्छ।  

आरडीटी परीक्षणमा नतिजा पोजिटीभ आएमा थप सर्तक बन्न अवसर मिल्छ तर सुरुमा नै पीसीआर परिक्षण नगरि आरडिटी परिक्षणको नेगेटिभ नतिजाका आधारमा घर फर्किन दिइयो र पछि पीसीआर परिक्षणमा पोजिटिभ देखियो भने त्यस्ता व्यक्तिबाट अन्य धेरैमा संक्रमण फैलिसकेको हुनसक्ने भएकाले एउटै मात्र परिक्षण कहिलेकाहीँ पूर्ण नहुन पनि सक्छ। त्यसैले समय रअवस्था अनुसार दुबै परिक्षण आवश्यक हुने जानकारहरु बताउँछन्। 

नेपालले हाल प्रयोगमा ल्याएको चिनियाँ कम्पनीको आरडीटी किट विश्व स्वास्थ्य सङ्गठनको तथा चीनको आधिकारीक निकायले मान्यता दिएको कम्पनीको उत्पादन भएकाले परीक्षणमा विश्वास गर्न सकिने सरकारी अधिकारीहरु बताउँछन्। 

नेपालले प्रयोग गरिहरेको चिनियाँ कम्पनीको किट अस्ट्रेलिया र थाइल्यान्डले पनि परीक्षण गरिरहेको छन्। जुन किटले आईजीएम र आईजीजी दुबै एन्टिबडीमा पोजेटिभ नतिजा दिने गर्दछ।