‘चैत महिनाको ऋणको व्याज तथा किस्ताको १०% रकम फिर्ता नभए संघमा जानकारी गराउनुहोस’- भुवन दाहाल


नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुका ऋणीलाई चैत महिनाको किस्ताबाट १० प्रतिशत रकम फिर्ता हुने बताएको छ ।

नोटबजारसँग कुरा गर्दै संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बैशाख १० गते भित्रमा बैंकहरुले चैत मसान्तमा संकलन गरेको ऋणको व्याज तथा किस्ताको १० प्रतिशत रकम फिर्ता हुने प्रष्ट पारेका हुन् ।

बैंकहरुले ऋणीको खातामा रहेको पैसावाट किस्ता तथा व्याज भुक्तानी लिइरहेको गुनासो चौतर्फी रुपमा उठिरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण सरकारले चैत मसान्तसम्ममा किस्ता तथा व्याज तिर्नेहरुलाई १० प्रतिशत ब्याज छुट दिने निर्णय गर्दै कार्यान्वायन गर्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएको थियो । यद्यपी बैंकहरुले चैत मसान्तमा ऋणीको खाताबाट व्याज तथा किस्ताको शतप्रतिशत रकम तानेका थिए ।

१० प्रतिशत रकम छुट गराउने स्वचालित प्रणाली नभएका कारण बैंकहरुले सबै रकम तानेको बताएका दाहालले हरेक ऋणीलाई १० प्रतिशत व्याज म्यानुअल्ली फिर्ता गर्ने बताए ।

‘सरकारले घोषणा गरेको सहुलियत कार्यान्वायन नहुने कुरै उठ्दैन । बैंकहरुको सिस्टमले नै स्वचालित रुपमा खातामा पैसा भएको ऋणीको किस्ता लिन्छ । तर, बैंशाखको पहिलो साता भित्र १० प्रतिशत रकम फिर्ता हुन्छ । चैत मसान्तसम्ममा कर्जा तिर्ने ग्राहकले बैंकलाइ केही सम्पर्क नै नगरे पनि हामी फिर्ता गर्ने पक्षमा छौ । बैंकमा सम्पर्क गर्ने ग्राहकलाइ पनि हामीले बुझाएका छौ’ दाहालले भने ।

‘बैंकको काम गर्ने प्रणाली अनुसार हामीले फिर्ता गर्छौ भनेर बुझाएको अवस्था हो । हामीले बैशाखको पहिलो साताभित्र सबै ग्राहकलाइ म्यानुअल्ली फिर्ता गर्न लागीरहेका छौ । कुनै पनि बैंकले त्यो १० प्रतिशत छुटको रकम फिर्ता नगरेको खण्डमा नेपाल बैंकर्स संघमा सम्पर्क गर्न अनुरोध गर्दछु’ उनले भने ।

कोरोनाको संक्रमणका कारण आर्थिक रुपमा असर पर्नेहरुको संख्या धेरै भए पनि बैंकबाट ऋण लिने मध्येमा अहिलेको असरको सामना गर्न नसक्नेहरुको संख्या न्युन भएको उनको भनाई छ । राज्यले व्याज तथा किस्तामा सहुलियत दिँदा कमजोर आर्थिक अवस्था भएकालाई लक्षित गर्दै सम्बोधन गर्नु पर्नेमा दाहालले जोड दिए ।

दाहालसँगको अन्तरवार्ता केही बेरमा नोटबजार डटकममा प्रकाशित हुनेछ ।