‘व्याज तिर्ननसक्ने अति प्रभावितलाई मात्र सहुलियतमा प्राथमिकता दिइनुपर्छ’ – भुवन दाहालसँग अन्तरवार्ता


सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका भुवन कुमार दाहाल नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष पनि हुन ।

अर्थशास्त्रमा स्नातक गरेका दाहालले व्यवसायिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । बैंकिङ क्षेत्रमा करिब २८ वर्ष बिताएका दाहालले नबिल बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका हुन ।

पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको भएपनि बैंकिङ क्षेत्रले अतिआवश्यक क्षेत्रको रुपमा सिमित सेवा प्रदान गरीरहेका छन् । कोरोनाका कारण विश्वअर्थतन्त्र नै प्रभावित भएको अवस्थामा नेपालको अर्थतन्त्र पनि समस्याबाट गुज्रिरहेको छ ।

कोरोना भाइरसको त्रासका बाबजुद पनि सुचारु बैंकिङ सेवा, बैंकिङ क्षेत्रको प्रविधिमा आउन सक्ने सुरक्षा चुनौति, सहुलियत, भोलिको बैंकिङ क्षत्रेको अवस्था तथा समग्र अर्थतन्त्रमा पर्ने कोरोनाको नकारात्मक असरलगायत विषयमा केन्द्रित भई नोटबजारले गरेको कुराकानी :

नोटबजार: लकडाउनको अवस्थामा कसरी बैकिङ सेवा प्रदान गर्दै आउनु भएको छ ?

भुवन कुमार दाहाल : अहिले हामीले सिमित बैंकिङ सेवाको रुपमा ११ बजे देखि १ बजेसम्म सेवा प्रदान गर्दै आएका छौ । सानिमा बैंकको सन्दर्भमा कुरा गर्दा उपत्यका भित्र प्रत्येक दिन ४ वटा शाखा खुल्छन । उपत्यका भन्दा बाहिर स्थानीय प्रशासनले स्विकृती दिएको खण्डमा सिमित अवधिका लागि खुल्ने गरेको छ ।

अहिले जुनसुकै एटिएमबाट पैसा झिकेको खण्डमा शुल्क नलाग्ने व्यवस्था गरेका छौ । त्यसको अलवा डिजिटल बैंकिङ निशुल्क गरीएको अवस्था छ । बैंकमा भिडभाड नहोस भनेर यस्तो व्यवस्था गरीएको हो । अहिलेको अवस्थामा औषधि तथा खाद्यन्न आयात गर्नका लागि आवश्यक पर्ने एलसी पनि जारी गरेका छौ । अत्यावश्यकीय सेवाका लागि ग्यारेन्टी पनि जारी गरेका छौ । अन्तर बैंक भुक्तानीका लागि क्लियरीङ हाउस पनि खोलिरहेको अवस्था छ । सबै बैंकले ब्यक्ति नै तोकेर विदेशमा रहेका विद्यार्थीका लागि समेत अत्यावश्यकीय खर्च पठाउने रेमिट्यान्सको काम पनि गरेका छौ ।

नोटबजार : बैंकले सेवा प्रवाह गर्दै गर्दा अपनाएको सुरक्षा अवस्था कस्तो छ ?

भुवन कुमार दाहाल : नेपालका वरिष्ठ भाइरोलोजिष्टसंग अन्तरक्रिया गरेर उहाँको सुझाव अनुसार सेवा प्रदान गर्ने गरेका छौ । सुरुका चरणमा कर्मचारीहरु डराएको अवस्था थियो । तर, सम्बन्धित क्षेत्रको विज्ञसंगको छलफलपछि कर्मचारीहरुले पनि सुरक्षित भएर सचेत भइ सेवा प्रदान गर्दै आउनु भएको छ । त्यस्तो डराउन पर्ने विषय नभई होसियारी मात्र अपनाउनु पर्ने कुरा भएकाले ढुक्क भएर होसीयारीका साथ सेवा प्रदान गर्न सक्नुहुन्छ भन्ने उहाँको सुझावले पनि कर्मचारीहरु पनि सकारात्मक भएको देखिन्छ । सेवा प्रदान गर्ने क्रममा मास्कको प्रयोग, कागजात समात्न पर्ने अवस्थामा पन्जा लगाउने, बेला बेलामा सेनिटाइजर वा साबुन पानिले हात धुने गरेर सेवा प्रदान गर्दा हुन्छ भनेर सुझाउनु भएको छ । संक्रमित व्यक्तिसंग ‘डिल’ गर्नेले मात्र पिपिइ लगाउने हो । सामान्य दुरी कायम राखेर सेवा प्रदान गर्दा त्यो जरुरी हुदैन भनेर उहाँले भन्नु भएको छ । बाहिरको अभ्यासलाई हेर्दा पनि त्यस्तै देखिएको छ । त्यसैले हामीले सेवा दिदा सुरक्षाका उपायहरु अपनाएर सचेत भएर सेवा दिइरहेको अवस्था छ ।

नोटबजार : अहिले बैंक वित्तीय संस्थामा निक्षेप बढेको छ भनिन्छ । यो अवस्थामा जोखिम मोलेर बैंकले सेवा प्रवाह गर्नु पर्ने अवस्था त रहेनछ नि होइन ?

भुवन कुमार दाहाल : अहिले कर्जा प्रवाहको अवस्था शुन्य जस्तै छ । पछिल्ला दिनहरुमा एनसेललाइ कर्जा दिएको देखिन्छ । नत्र अन्य सरकारी तथा नीजि क्षेत्रका काम प्राय ठप्प नै छन । लकडाउनको रुप भनेको गतीविधि कम गर्ने नै हो । बैंकले कुनै पनि कर्जा स्विकृत गर्दा कम्तीमा पनि १० जनाको सहभागिता हुन्छ । त्यसैले लकडाउनका कारण नयाँ कर्जा अपवाद बाहेक जारी भएका छैनन् । कर्जा रोकिने वित्तिकै स्वभाविक रुपमा निक्षेप बढेको देखिन्छ । साथै बैंकहरुले निक्षेपमा रहेको रकमको पनि चैत मसान्तसम्ममा व्याज भुक्तानी दिनु पर्ने भएकाले निक्षेप केही बढेको देखिएको हो । तर, कोरोनाको त्रास सुरु भएसंगै बैंक वित्तीय संस्थावाट दैनिक प्रयोजनाका लागि व्यक्तिगत बचतको पैसा झिक्ने क्रम भने ह्वात्तै बढेर गएको छ ।

नोटबजार : लकडाउनको अवधिमा विद्युतीय कारोबार प्रणालीलाई प्राथमिकता दिने भन्दै गर्दा फाइनान्सीयल साइबर क्राइम पनि वढ्न सक्ने खतरा औंल्याइएको छ, यस्तो अवस्थामा सुरक्षीत विद्युतीय बैंकिङ सेवा प्रदान गर्न के गर्दै हुनुहुन्छ ?

भुवन कुमार दाहाल : चोरी गर्ने, फटाई गर्नेहरु संसारमा भै नै रहन्छन । र त्यस्ता व्यक्तिहरुले अवसरको खोजी पनि गरिरहेका हुन्छन । यो समयमा बैंक वित्तीय संस्थामा विद्युतीय कारोबारहरु बढ्ने हुन्छ । यस्तो समय ह्याकरहरुलाई अवसर हुने भएकाले सक्रिय भएका हुन सक्छन । तर, नेपालका बैंकहरुले आफ्नो आइटी टिमलाइ चनाखो भएर बस्नु भनेको छ । हरेक बैंक वित्तीय संस्थाको आईटी टिमले पनि प्रभावकारी रुपमा काम गरेको देखिन्छ । यो अवस्थामा कार्यालय बन्द गर्नु भन्दा अघि स्विफ्ट सिस्टमहरु डाउन गरेर छोड्छांै । त्यसका साथै बैंकिङ प्रणालीलाई पनि सोही अनुसार धेरै सचेत भएर प्रयोग गरेको अवस्था छ ।

नोटबजार : कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुने देखिन्छ, यस्तो अवस्थामा नेपाली बैंकिङ क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?

भुवन कुमार दाहाल : अहिले विश्वमा देखिएको स्वास्थ्य संकट हो । स्वास्थ्य संकटले आर्थिक संकट पनि निम्त्यायो भन्न मिल्छ । स्वास्थ्य नै धन हो भन्ने भनाईको ब्याख्या अहिलेको विश्वले गरिरहेको छ । आम मानिसको स्वास्थ्यमा संकट आउन सक्ने भएपनि साँगै आर्थिक संकट पनि निम्तियो । स्वास्थ्यको समस्यासँग जुध्दा कुनै पनि गतिविधि हुन नसके पछि आर्थिक क्षेत्र समस्यामा परेको हो । संसारभरी यसको असर देखिएको छ । सकारात्मक कुरा के छ भने कोरोना संक्रमण सुरु भएको चीनमा यस्तो असर सकियो भन्ने आएको छ ।

नेपाल भनेको आयातमा निर्भर मुलक हो । नेपालले आयात गर्ने अधिकासं बस्तु तथा सेवा भारत र चीन केन्द्रित छ । चीनको स्वास्थ्य अवस्थामा निकै सुधार भैसकेको र भारतमा धेरै असर नपरेको हुनाले कतिपय उद्योग, धन्दाहरु खुलिरहेका छन् । जसका कारण नेपालको अर्थतन्त्रमा थोरै मात्र असर गर्छ कि भन्ने आशा छ । असर गर्दैन भन्ने अवस्था त छँदै छैन । तर, विस्तारै सुधारको बाटो तर्फ जान्छ कि भन्ने लाग्छ । त्यसका साथै बैशाख १५ भन्दा उता लकडाउन पनि लम्बिँदैन कि भन्ने पनि लाग्छ । आगामी दिनहरुमा सक्दो मात्रामा धेरै परिक्षण गरेर उयुक्त कदम चाल्न सकियो भने केही सहज अवस्था बन्न सक्ला । तर, औषधी बन्दासम्म डर भने रहिरहने भयो । पछिल्ला दिनहरुमा विश्व बैंकले पनि नेपाल जस्ता विकासशील देशहरुको आर्थिक वृद्धि एक प्रतिशतले नकारात्मक हुन्छ कि भन्ने अनुमान पनि लगाएको अवस्था छ । नकारात्मक नै नभए पनि यथास्थितीमा रहेको खण्डमा राम्रो मान्नु पर्ने अवस्था आउन सक्छ । त्यस्तो समयमा धेरै रोजगारी सृजना नहोला । तर, त्यसको ठुलो असर परिहाल्ला जस्तो लागेको छैन ।

अहिले हामीसँग झण्डै १० बिलियन डलर विदेशी सञ्चिती रहेको अवस्था छ । त्यो रिजर्भमा रहेको २ बिलियन डलर मात्र खर्च गरेर पुर्वाधार विकास तथा कृषिमा आधुनिकीकरण गर्न थालेको खण्डमा आत्तिनु पर्ने अवस्था जस्तो लाग्दैन । त्यसका साथै पेट्रोलियम पदार्थको आयात कम हुने तथा त्यसको मूल्य कम हुने वित्तिकै त्यसबाट बचत हुनुका साथै गाडीहरुको आयातमा कमी भएको छ । त्यसैले अहिलेको अवस्थामा रेमिट्यान्समा आएको कमीले नै ब्यालेन्स अफ पेमेन्टलाई असर गर्छ भन्ने अवस्था नरहने देखिन्छ ।

नोट बजार : अब हामीले आन्तरिक उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने निश्चित छ । यो अवस्थामा सम्पत्ती शुद्धीकरण निवारणको नीतिलाई खुकुलो गरेर मुलुकमा प्रशस्त लगानी भित्र्याउँदै आर्थिक कृयाकलापलाई चलायमान बनाउन सकिँदैन ?

भुवन कुमार दाहाल : नेपालको सन्दर्भमा पैसा आवश्यक छ । हाम्रो अर्थतन्त्रको धेरै क्षेत्रलाई भरथेग गर्ने माध्यम भनेको रेमिट्यान्स थियो । त्यसको सट्टामा बाहिरबाट ऋण तथा अनुदान त चाहिने नै हुन्छ । यसका लागि सम्पत्ती सुद्धिकरणको नीति खुकुलो बनाउने भन्ने कुरा केही हदसम्म सही पनि होला । तर, त्यसलाई धेरै खुकुलो बनाएको खण्डमा त्यसले पार्ने नकारात्मक असर धेरै हुन सक्छन् । त्यसैले पनि मेरो व्यक्तिगत कुरा भन्नुहुन्छ भने धेरै गैरकानुनी पैसा नेपाल भित्रियोस भनेर कामना गर्नु हुदैन भन्ने लाग्छ । स्रोेत देखाउन नसक्ने खालको पैसा मात्र अड्केको हो । कर छलेको व्यक्तिले स्वः घोषणा गर्छ भने त्यस्तो रकमको ३० देखि ४० प्रतिशत कर असुली गरेर कानुनी दायरामा ल्याइदिए हुन्छ भन्ने लाग्छ । ड्रग्स् ट्राफिकिङ गर्ने तथा आतंककारी क्रियाकलापमा प्रयोग भएको पूँजीलाई छुट दिन हुदैन । तर, कर छलेको मात्र हो भने करको उच्चदर लगाएर कानुनी दायरामा ल्याएर लगानी जुटाउन सकिन्छ ।

नोट बजार : कोरोनाका कारण केन्द्रीय बैंकले ब्याजदर घटाएपछि बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाउन सुरु गरेका छन, तर, कर्जाको ब्याजदर घट्न अझै एक महिना कुर्नुपर्ने अवस्था देखिया नि ?

भुवन कुमार दाहाल : नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुले कर्जाको ब्याजदर आधार ब्याजदरसँग जोडिएको छ । हामीले बैशाखको आधार ब्याजदर घटाएर आगामी जेठको एक गते देखि नै कर्जाको ब्याजदर घटाउने सहमती गरिसकेका छौं । सामान्य अवस्थामा कर्जाको ब्याजदर घट्नका लागि तिन महिना लाग्छ । तर, अहिले एक महिनाको अवधिमा नै त्यो काम हुँदैछ ।

आधार ब्याजदर लागु भएको ठाँउहरुमा कहिले एक महिनाको खर्च वढ्छ भने कहिले घटेको हुन्छ । त्यसैले निक्षेपको ब्याजदर बढेको अवस्थामा पनि कर्जाको ब्याजदर तत्काल बढाउन सकिँदैन । तर, चैतको बेस रेटका आधारमा बैंशाखमा हामीले व्याजदर परिवर्तन गर्ने गृहकार्य थाल्यौं ।
अहिले बेस रेटको आधारमा कर्जाको ब्याजदर घट्ने वा वढ्ने हुन्छ । विगतमा यस्तो व्यवस्था थिएन । यो व्यवस्थाले बैंकिङ क्षेत्रको लागि धेरै राम्रो काम भएको छ । बेस रेट लागु हुनु भन्दा पहिले ब्याजदर घटाउन बैंकका उच्च अधिकरीहरुको चाकडी गर्नु पर्ने अवस्था थियो । बेसरेट लागु भएपछि अहिले त्यस्तो गर्नु पर्ने अवस्थाको अन्ते भएको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैशाखमा घटाएको निक्षेपको ब्याजदर कर्जाको दरमा लागु गर्नका लागि साउन कुनु पर्ने हो । तर, हामीले अहिले बैशाखमा घटाएको निक्षेपको व्याजदरसँगै कर्जाको व्याजदर जेठ देखि नै घटाउँदै छौंै । यसले बैंकहरुले नाफा कमाउन खोजे भनेर बुझ्नु गतल हो भन्ने लाग्छ । यसले बैंकहरुलाई फाइदा गर्छ भनेर बुझ्नु गलत हो । तीन तीन महिनामा रिप्राइसीङ हुने भएकाले एक महिनामा नै रेट बढाउँदा वा घटाउँदा नोफा नोक्सानमा त्यसको प्रभाव शुन्य हुन्छ ।

नोटबजार : बैंकहरुले ऋणीको खातामा रहेको मौज्दातबाट किस्ता तथा व्याज भुक्तानी लिइरहेको अवस्था छ। यसरी किस्ता काट्दा सरकारले भने अनुसार चैतसम्म किस्ता तिरे १० प्रतिशत ब्याज छुट दिने भने पनि बैंकहरुले त्यसो नगरेको देखिन्छ नि ? 

भुवन कुमार दाहाल : यो कार्यान्वायन हुन्छ । बैंकहरुको सिस्टमले नै खातामा पैसा भएको ऋणीको किस्ता स्वचालित रुपमा लिन्छ । यस्तो अवस्थामा सरकारले भने अनुसारको १० प्रतिशत रकम म्यानुअल्ली फिर्ता गर्नु पर्ने हुन्छ । तसर्थ बैंकहरुले एक एक ऋणीलाई एक साता भित्रमा राज्यले तोके अनुसारको रकम फिर्ता गर्ने काम केही दिन भित्रमा नै सम्पन्न गर्छन् ।

चैत मसान्तसम्ममा कर्जा तिर्ने ग्राहकले बैंकलाई सम्पर्क नै नगरे पनि हामी फिर्ता गर्ने पक्षमा नै छौं । बैंकमा सम्पर्क गर्ने ग्राहकलाई पनि हामीले बैंकको जनशक्तिले गर्ने कामको आधारमा रकम फिर्ता हुने कुरा बुझाउँदै आएका छौं । कुनै पनि बैंकका ऋणीले त्यो १० प्रतिशत छुटको रकम फिता पाउनु भएन भने नेपाल बैंकर्स संघमा सम्पर्क गर्न आग्रह गर्दछु ।

कोरोनाको संक्रमणका कारण आर्थिक रुपमा असर पर्नेहरुको संख्या धेरै भए पनि बैंकबाट ऋण लिने मध्येमा अहिलेको असरको सामना गर्न नसक्नेहरुलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने थियो । बढी प्रभावित जो हुन्छ, उसलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने मेरो मान्यता हो । अहिले व्याज तथा किस्तामा सहुलियत दिँदा कमजोर आर्थिक अवस्था भएकालाई लक्षित गर्दै सम्बोधन गर्नु पर्ने थियो, त्यसो नहुँदा बैंकहरुले सबै ऋणीलाई १० प्रतिशत रकम फिर्ता गर्नु पर्ने अवस्था छ । प्राथमिकता अनुसार राहतका कामहरु गर्दा भोलिलाई सजिलो हुन्छ ।

नोटबजार : पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले कारोनासंग सम्बन्धित भएर केही नीतिगत परिवर्तन पनि गरेको छ, के यतिले मात्र अहिलेको संकटलाइ सम्बोधन गर्न सकिन्छ ?

भुवन कुमार दाहाल : नेपाल राष्ट्र बैंकले गरेको अहिलेको नीतिगत परिवर्तन भनेको चैत मसान्तलाइ मात्र केन्द्रित गरेर भएको छ । असहज परिस्थिती लम्बिएको खण्डमा थप व्यवस्था गर्नु पर्ने हुन्छ । अहिले तीन महिनाको सहुलियत दिएको अवस्था छ । लकडाउनसँगै अहिलेको परिस्थिती लम्बिएको खण्डमा एक वर्षको अवधि दिएर पुनतालिकीकरण गर्नु पर्ने हुन सक्छ ।

आर्थिक वर्षमा कुनै पनि ब्यवसायलाई नाफा नहुने मात्र नभई त्यसले नगद प्रवाहमा समेत असर गरेको हुन्छ । यस्तो अवस्थामा विगतमा स्वीकृत गरीएको कर्जा धान्न सक्ने अवस्था हुदैन । त्यसैले कर्जाको सीमा पनि बढाउनु पर्ने हुन्छ । अब केन्द्रिय बैंकले कर्जा निक्षेप अनुपात र पुँजी, कर्जा तथा निक्षेप अनुपात ५ प्रतिशतले बढाएको खण्डमा तत्कालका लागि केही सहज हुने देखिन्छ ।

लकडाउन पछि पुर्ववत् स्थितीमा फर्कनका लागि समय लाग्ने भएकाले धेरै प्रभावित क्षेत्रलाइ बेस रेटमा कर्जा प्रवाह गर्ने विषयमा छलफल गरिरहेका छौं । यसयमा सरकारले पनि पुनरकर्जा दिने भनेको छ । यसलाइ हामीले हेर्नै पर्छ । राष्ट्र बैंकले पनि प्रभावित क्षत्रको अध्ययन सुरु गरिसकेको छ । राष्ट्र बैंकले धेरै असर गरेको क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी काम गर्ने योजना बनाएको देखिन्छ ।

त्यस बाहेक चैत १० गतेसम्म नाफामा रहेका व्यापार व्यवसायले कर्जाको व्याज वा किस्ता नै तिर्न नसक्ने अवस्था आउँछ जस्तो लाग्दैन । आफु पनि बाँचौ र अरुलाइ पनि बचाउँ भन्ने सिद्धान्तमा बैंकिङ क्षेत्र अडिग छ । त्यसैले कसलाई कति असर गरेको छ, त्यो हेरेर मात्र धेरै प्रभावीत क्षेत्रलाई बैंकले प्राथमिकतामा राख्नु पर्ने हुन्छ । र बैंकहरु त्सका लागि तयार छन् । अरु क्षेत्र डुब्ने र बैंकिङ क्षेत्रले नाफा कमाउनु पर्छ भन्ने सिद्धान्तमा हामी छँदै छैनौ । नाफा कम हुने सन्दर्भमा सबैले तयारी गर्नु पर्छ । राज्यको पनि रजस्व घट्ने अवस्था छ । तर, राज्यको दैनिक खर्च घट्ने अवस्थामा त छैन नि ।