सार्कका कोभिड १९: नेपाल भुटानपछि सुरक्षित स्थानमा

0
Shares

चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोभिड १९ बाट युरोप तथा अमेरिकी देशहरु नराम्ररी प्रभावित हुँदा विश्वको जनसंख्याको २१ प्रतिशत मानिस बसोबास गर्ने दक्षिण एशियाली क्षेत्रमा भने हालसम्म त्यति धेरै क्रिटिकल अवस्था देखिएको छैन।

दक्षिाण एशियाली सहयोग संगठनमा आबद्ध आठ राष्ट्रमध्ये कोभिड १९ संक्रमणका आधारमा नेपाल दोस्रो सुरक्षित स्थानमा रहेको देखिएको छ। वल्डओमिटरको शनिबार साढे ३ बजेको तथ्याङ्कअनुसार भारत सबैभन्दा धेरै प्रभावित देश देखिएको छ भने पाकिस्तान पनि दोस्रो उच्च जोखिममा रहेको देखिन्छ।

यस अवधिसम्ममा भारतमा १४ हजार ४२५ जनामा संक्रमण देखा पर्दा ४४८ जनाले ज्यान गुमाएका छन् । यस्तै ११ हजार ८५२ जनामा अझै संक्रमण बाँकी रहेको भारतमा २ हजार ४५ जना भने उपचारपछि निको भएर घर फर्किएको अवस्था छ। भारतमा हालसम्म कूल ३ लाख ३५ हजार बढी संख्यामा परीक्षण भएको छ।

यसैगरि पाकिस्तानमा यस संक्रमणबाट ७ हजार ४८१ जना संक्रमित हुँदा १४३ जनाले मृत्युवरण गरेका छन्। यस देशमा ५ हजार ५०६ जनामा अझै संक्रमण बाँकी रहेको छ भने १ हजार ८३२ जना उपचारपछि घर फर्किएका छन्। संक्रमित बिरामीमध्ये पाकिस्तानमा ४६ जनाको अवस्था गम्भिर रहेको उल्लेख छ।

भुटान, नेपाल र माल्दिभ्समा हालसम्म कोरोना संक्रमणको कारण कुनैपनि व्यक्तिको मृत्यु भएको छैन। तीनवटै देशमा संक्रमितको संख्या पनि सार्क राष्ट्रका अन्य पाँच देशभन्दा न्यून छ।

भुटानमा जम्मा ५ जनामा कोरोड १९ पुष्टि भएकोमा २ जनालाई निको भैसकेको छ। नेपालमा भन्दा पहिले नै अर्थात मार्च ६ मै कोरोना संक्रमित भैटिएको भएपनि भुटानामा साढे ७ लाख मात्र जनसंख्या रहेको कारण सो देशले परीक्षण र संक्रमितको उपचारमा ध्यान केन्द्रीत गरेको छ। सोही कारणले भुटानमा अप्रिलमा २ मा १ जनापछि नयाँ संक्रमित भेटिएका छैनन्।

नेपालमा ३० संक्रमितमध्ये २८ उपचाररत छन् भने २ जना निको भएर घर फर्किएका छन्।  नेपालले हालसम्म १५ हजार बढी परीक्षण गरेको छ। 

यस्तै माल्दिभ्समा ३२ जनामा यो संक्रमण देखिँदा १६ जनालाई निको भैसकेको छ भने १६ जनामा संक्रमण बाँकी रहेको देखिन्छ। यस हिसाबमा माल्दिभ्समा संक्रमितको उपचार विशेष प्रभावकारी रहेको देखिन्छ। किनभने यस देशमा संक्रमितको आधामा यो निको भैसकेको छ।

कोरोना परीक्षणको आधारमा नेपाल चौथो धेरै परिक्षण गर्ने देश देखिन्छ। नेपालले भुटान, माल्दिभ्स, श्रीलङ्का र अफगानस्थानमा भन्दा धेरै परीक्षण गरेको छ। बंगलादेश, पाकिस्तान र भारतमा भने नेपालको तुलनामा धेरै परीक्षण भएको देखिन्छ।

दक्षिण एशियाको आठ राष्ट्र सम्मिलित सार्कले विश्वको ३ प्रतिशत भूभाग ओगटेको छ। यस्तै यस क्षेत्रमा विश्वको २१ प्रतिशत जनसंख्या रहेका छन्। सन २०१९ को तथ्याङ्ग अनुसार विश्व अर्थतन्त्रको ४.२१ प्रतिशत अर्थात ३.६७ ट्रिलियन डलर बराबरको अर्थतन्त्र रहेको पाइन्छ। सन् १९८५ डिसेम्बर ८ मागठन भएको सार्कको सचिवालय काठमाण्डौंमा रहेको छ।

प्रकाशित मिति: ६ वैशाख २०७७, शनिबार  १५ : ५० बजे