मर्जर तथा प्राप्ति प्रकृयाले १४२ संस्थाहरुको इजाजत खारेज

0
Shares

नेपाल राष्ट्र बैंकले संख्यात्मक वृद्धिलाई भन्दा गुणात्मकतामा जोड दिन सुरुवात गरेको मर्जर तथा प्राप्ती प्रकृयाबाट २०७६ फागुन मसान्तसम्म मर्जर।प्राप्ति प्रक्रियामा सामेल भएर १४२ बैंक तथा वित्तीय संस्थाले आफ्नो अस्तित्व समाप्त भएको छ।

यस अवधिसम्ममा कुल १८७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रकृयामा सामेल भई हाल अस्तित्वमा ४५ संस्था कायम रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया २०६४/०६५ बाट सुरु गरेको थियो। आव २०७३/७४ पश्चात यस प्रकृयाले तीब्रता पाएको थियो।

वित्तीय संस्थाको संख्या आवश्यकताभन्दा धेरै भएपछि केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिको नीति लिएको थियो। मर्जरलाई ध्यनमा राख्दै केन्द्रीय बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति मार्फत संख्या घटाउनका लागि बैंक तथा वित्तीय संस्थाको ४ गुणासम्म चुक्ता पूँजी बढाउने नीति लिएको थियो।

पछिल्लो समयमा आफ्नो अस्तित्व नै समाप्त बनाउने संस्थाहरुमा, क्रियटिभ लघुवित्त, रामारोशन लघुवित्त, कैलाश विकास बैंक, त्रिलोक लघुवित्त, जनसेवी लघुवित्त, नागरिक लघुवित्त, जनता बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, भार्गव विकास बैंक, ओम डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, काबेली विकास बैंक, कन्काई विकास बैंक, हाथवे फाइनान्स, हाम्रो विकास बैंक, जेविल्स फाइनान्स, वेष्टर्न डेभलपमेन्ट बैंक रहेका छन्।

मर्जर तथा प्राप्तिको नीति पश्चात ६ वटा वाणिज्य बैंकले पनि आफ्नो अस्तित्व समाप्त पारेका छन्। वाणिज्य बैंकहरूमा जनता बैंक, कमर्ज एन्ड ट्रष्ट, लुम्बिनी, ग्राण्ड, किष्ट र बैंक अफ एसिया छन् ।

जनता र कर्मज एन्ड ट्रष्ट बैंक ग्लोबल आइएमईमा गाभिएको हो भने लुम्बिनी बैंक, बैंक आफ काठमान्डूमा तथा ग्राण्ड र किष्ट बैंक हालको प्रभु बैंकमा गाभिएको हो। यसैगरि बैंक अफ एसिया र एनआईसी एसिया बैंक एक आपसमा मर्जर भएर हालको एनआइसी एसिया बैंक बनेको हो।