चीनबाट आइपुग्यो २० हजार किट सहितका थप अत्यावश्यक स्वास्थ्य सामग्री

0
Shares

कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न चीनको तिब्बत सरकारले उपलब्ध गराएका दुईवटा पीसीआर मेशिन र त्यसका २० हजार किट सहितका स्वास्थ्य सामग्री बुधवार प्राप्त भएको नेपाली अधिकारीले बताएका छन्।

ती स्वास्थ्य सामग्री झन्डै ५१ लाख चिनियाँ युआन अर्थात साढे आठ करोड नेपाली रुपियाँको रहेको बताइएको छ। हाल कतिपय अत्यावश्यक किटहरूको अभाव हुन सक्ने विवरण आइरहेका बेला ती सामग्री नेपाल आइपुगेका हुन्।

बुधवार नै भन्सार प्रक्रिया गरी ती सामग्री काठमाण्डू ल्याउने लक्ष्य राखिएको त्यहाँ रहेका स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

सामग्रीमा के के छन ?

सहयोगमा आएको सामग्रीमा स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्ने एन९५ मास्क र पीपीई १०,००० थान रहेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या तथा समन्वय महाशाखाका प्रमुख डा। रमेश पोखरेलले कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्न प्रयोग गरिने दुईवटा पीसीआर मेशिन र त्यसमा प्रयोग हुने रिअजेन्ट र स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएम २०,००० थान रहेको बताए।

परीक्षणका लागि नाक र घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएमको अभाव हुन लागेको विवरण आएका थिए।

सरकारी अधिकारीहरूले ५०० देखि १,००० को सङ्ख्यामा मात्रै भीटीएम बाँकी रहेको बताएका थिए। त्यसबाहेक १,००० वटा ज्वरो नाप्न प्रयोग गरिने इन्फ्रारेड थर्मामिटर पनि तिब्बतले सहयोग दिएको उनले जानकारी दिए।

बुधवार बिहान चिनियाँ पक्षले तातोपानीको सीमावर्ती मितेरी पुलमा नेपाली पक्षलाई ती सामग्री उपलब्ध गराएको थियो।

चीनबाट थप सामग्री ल्याउने प्रयास

प्रादेशिक तहमा पनि यी सामग्रीहरू पठाउनुपर्ने आवश्यकता रहेको र यसबारे अध्ययन गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि अघिल्लो हप्ता सरकारले चीनको अलीबाबा फाउन्डेशनबाट सहयोग प्राप्त गरेको थियो।

सरकारबीच हुने सम्झौता अनुसार नेपाली सेनालाई दिइएको जिम्मेवारी अन्तर्गत सवा दुई अर्ब रुपियाँभन्दा बढीको ३४२ टन औषधिजन्य सामग्री चिनियाँ सरकारी स्वामित्वको चाइना सिनोफार्म इन्टर्न्याश्नल कर्पोरेशनबाट खरिद सम्झौता गरिएको मङ्गलवार नेपाली सेनाले जनाएको थियो।

नेपाली सेनाले पीपीई, मास्क, पीसीआर मेसिन र टेस्ट किटहरू हवाई माध्यमबाट ल्याउने प्रयास भइरहेको उल्लेख गरेको छ।

यसअघि एउटा निजी कम्पनीमार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय विवादमा तानिएपछि सरकारले औषधि, उपकरण तथा अन्य सामग्री खरिदको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।

चैत १६ गते मन्त्रिपरिषद्को निर्णयबाट त्यस्तो जिम्मेवारी दिइएपछि चीनबाहेक भारत, दक्षिण कोरिया, इजरेल र सिङ्गापुरसँग सामग्रीको उपलब्धताको आर्थिक प्रस्ताव माग गरिएको अधिकारीले जनाएका छन्।

प्रकाशित मिति: १० वैशाख २०७७, बुधबार  १५ : ३५ बजे