नेपालमा हालसम्म कुन प्रदेशमा कति भयो आरडिटी परीक्षण ?

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले शुक्रबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ४७ हजार ४९६ वटा परीक्षण भैसकेको जनाएको छ। जसमध्ये पीसीआर विधिबाट कूल ९ हजार ४०७ वटा र आरडिटी विधिबाट कूल ३८ हजार ८९ वटा परीक्षण भएका हुन्।

शुक्रबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा ३ हजार ७९१ वटा नयाँ नमुना परिक्षण भएको जानकारी दिए। उनका अनुसार हालसम्म कोरोना पुष्टि भएको ४८ जना संक्रमितमध्ये १० जना उपचारपछि घर फर्किएका छन् भने ३८ जना विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत रहेका छन्।

उनले प्रदेश नम्बर १ मा ३ हजार ९२९ वटा, प्रदेश नम्बर २ मा ४ हजार ९७७ वटा, वाग्मती प्रदेशमा ७ हजार १४३ वटा, गण्डकी प्रदेशमा ४ हजार ७८३ वटा, प्रदेश नम्बर ५ मा २ हजार ८७४ वटा, कर्णाली प्रदेशमा ४ हजार ८७० वटा र सुदूर पश्चिम प्रदेशमा ९ हजार ५१३ वटा आरडिटी विधिबाट परीक्षण भैसकेको बताए।

हालसम्म मूलुकभर १२ हजार ९८५ जनालाई क्वारिन्टाइनमा राखिएको र सम्भावित संक्रमित हुनसक्ने आशंकामा ८९ जना आइसोलेसनमा राखिएकोमा उपत्यकामा ३ जना र ८६ जना उपत्यकाका बाहिर रहेका समेत जानकारी दिए।

मन्त्रालयको २ वटा कल सेन्टरहरु १११५ र ११३३ बाट गत २४ घण्टामा १ हजार ७०८ वटा जिज्ञासा सामाधान गरिएको छ। यस्तै गण्डकी प्रदेशले १०९२ र सुदूर पश्चिम प्रदेशको ११४८ नम्बरको कल सेन्टर स्थापना गरेको छ। यी नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सकिन्छ।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या २४ हजार ९२६ पुगेको छ। गत २४ घण्टामा १ हजार ३२४ जनाले स्वमूल्याङ्कन फारम भर्दा ९ वटा गरि कूल २८७ जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई महाशाखा अन्तर्गत ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

यो एप्लिकेशन र वेवसाइटमा स्वमूल्याङ्कन बाहेक विश्व र नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या हेर्न सकिन्छ। आफ्नो वरिपरि र विदेशबाट फर्किएकाहरुको जानकारी लिन सकिन्छ र कोभिड १९ का बारेमा जनचेतनामूलक सामाग्रीहरु हेर्न पठ्न र सुन्न सकिन्छ।

यसैगरि आफ्नो नजिकमा रहेका कोभिड १९ का लागि अस्पतालहरु, प्रयोगशालाहरुको म्याप पनि हेर्न सकिन्छ।