लकडाउनका बीच तेस्रो मुलुकबाट कन्टेनर आउने क्रम जारी

0
Shares

कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखी सङ्घीय सरकारले लागू गरेको लकडाउनको समयमा पनि तेश्रो मुलुकबाट रेल मार्गबाट सुक्खा बन्दरगाह सिर्सियामा खाद्यान्न लगायतका समान बोकेका कन्टेनर निर्वाधरुपमा भित्रिने गरेका छन् ।

विगत ३१ दिनदेखि जारी रहेको लकडाउनका कारण तेस्रो मुलुकबाट रेलमार्ग हुँदै आउने सामान बाहिर निकासी हुन नसक्दा पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा सामान राख्ने ठाउँको अभाव देखिएको छ ।
भारतको वैशाखापटनम तथा कोलकता बन्दरगाहबाट दैनिक दुईदेखि तीन रेलमा तेस्रो मुलुकबाट सामान आउने गरेको तर लकडाउनका कारण कन्टेनरमा रहेको सामान राख्ने ठाउँको अभाव भएको सो कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए ।

तेस्रो मुलुकबाट आएका मरिच, केराउ, तोरी, कुखुराको दाना, हरियो तथा पहेँलो मटर, खाद्यान्न, तेल तथा फलामको कच्चा पदार्थ बोकेका तीन हजार ४०० कन्टेनर लकडाउनका कारण भन्सार कार्यालयमै रोकिएका र ती सामान सम्बन्धित ठाउँमा पु¥याउन भाडाका सवारीसाधन नपाएकाले सामान बन्दरगाहबाट निस्कन नसकेको सूचना अधिकारी जगदिश पुर्वेले बताए।

सो बन्दरगाहमा एक हजार ५०० कन्टेनर अटाउने क्षमता रहेको भए पनि अहिले तीन हजार ४०० कन्टेनर थन्केर रहेकाले त्यहाँ ठाउँको अभाव भएको सो कार्यालयले जनाएको छ।
अहिले थोरै मात्रामा भए पनि दैनिक १५० ट्रक सामान लिएर बाहिर जाने गरेका छन् । तेस्रो मुलुकबाट बन्दरगाहको बाटो गरी आउने सामानमध्ये ३० प्रतिशत सामान चीनबाट तथा ७० प्रतिशत सामान अमेरिका, क्यानाडा, थाइल्यान्ड, मलेसिया, दुबईलगायतका देशबाट आउने गरे पनि ती सामान झार्ने मजदूरलाई कोरोनाको सुरक्षा सम्बन्धमा कुनै किसिमको स्यानिटराइजर, मास्क लगायतको व्यवस्था नभएकाले कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।

सो कार्यालयले चैत महिनामा ३१ अर्ब २८ करोड १९ लाख नौ हजार राजश्व उठाउने लक्ष्य पाएकोमा ८९ दशमलव ७४ प्रतिशत अर्थात् २८ अर्ब सात करोड आठ लाख ८० हजार मात्र राजश्व उठाउन सकेको छ । राजस्व प्रभावित हुने मुख्य कारण तेस्रो मुलुकबाट सामान आए पनि लकडाउनको कारण सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान बाहिर जान नसक्नु हो ।

अहिले लकडाउनको कारण सो कार्यालय परिसरमा भारत लगायत तेस्रो मुलुकबाट आउने सवारीसाधन निस्किन नसकेकाले सो कार्यालयको राजश्व उठाउने लक्ष्य प्रभावित हुने देखिन्छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा ४१ अर्ब ८८ करोड पाँच लाख चार हजार राजश्व उठाउने लक्ष्य पाएकोमा ६७ दशमलव तीन प्रतिशत अर्थात २८ अर्ब सात करोड आठ लाख ८० हजार मात्र सो कार्यालयले राजश्व उठाउन सकेको थियो ।

लकडाउनका कारण गाडी नपाएर, मजदूरको अभावका कारण ती कन्टेनर देशका विभिन्न शहरमा पठाउन नसकिए पनि जीतपुर र सिमरासम्म पठाउने गरिएको सुक्खा बन्दरगाहका सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका डिजिएम अनिमेष कुमारले बताए।

भारतीय रेलमार्ग मार्फत तेस्रो मुलुकबाट सामान आउँदा कामदारले कोरोना भाइरसको सङ्क्रमण हुने डरले कामदार आउन नमानेकाले पनि समस्या देखिएको जनाइएको छ ।

हिमालय टर्मिनलले सुक्खा बन्दरगाहमा कीटनाशक औषधि छर्किन वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरे पनि नगरपालिकाले हालसम्म औषधि नछर्किदा कोरोनाको त्रास बढ्दै गएको छ ।

भारतीय रेलवे कम्पनीले सिपिंग कम्पनीको सामान ल्याउँदा बिलम्व शुल्क नलिने भनिए पनि नेपाल सरकारले यस सम्बन्धमा अहिलेसम्म स्पष्ट नहुँदा व्यापारीलाई बिलम्व शुल्कको समस्या परेको जनाइएको छ ।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  २१ : ०० बजे