दक्षिण पूर्वी एशियामा कोभिड १९ को प्रभाव मध्यम , नेपालको स्थान कहाँ ?

0
Shares

चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोभिड १९ बाट युरोप तथा अमेरिकी देशहरु नराम्ररी प्रभावित हुँदा विश्वको कूल जनसंख्याको २१ प्रतिशत मानिस बसोबास गर्ने दक्षिण एशियाली क्षेत्रमा भने युरोपेली र अमेरिकीको तुलनामा त्यति धेरै क्रिटिकल अवस्था देखा परेको छैन।

दक्षिण एशियाली सहयोग संगठन (सार्क) मा आबद्ध आठ राष्ट्रमध्ये कोभिड १९ संक्रमणका आधारमा नेपाल दोस्रो सुरक्षित स्थानमा रहेको देखिएको छ। वल्डओमिटरको सोमबार बिहान साढे ६ बजेको तथ्याङ्कअनुसार भारत सबैभन्दा धेरै प्रभावित देश देखिएको छ भने पाकिस्तान पनि दोस्रो उच्च जोखिममा रहेको देखिन्छ।

सार्कमा हालसम्म ४८ हजार ९६१ जना कोरोना संक्रमत भएकोमा १ हजार ३६४ जनाले ज्यान गुमाएका छन् भने ९ हजार ९४५ जना उपचारपछि निको भई घर फर्किएका छन्। जबकी विश्वमा हाल २९ लाख ९४ हजारमा संक्रमण फैलिएको छ भने २ लाख ६ हजार ९६९ को ज्यान गुमेको छ। यस्तै १९ लाख ८ हजारमा संक्रमण बाँकी रहँदा ८ लाख ७८ हजार निको भई घर फर्किएका छन्।

यस अवधिसम्ममा भारतमा २७ हजार ८९० जनामा संक्रमण देखा पर्दा ८८१ जनाले ज्यान गुमाएका छन् । यस्तै २० हजार ४८६ जनामा अझै संक्रमण बाँकी रहेको भारतमा ६ हजार ५२३ जना भने उपचारपछि निको भएर घर फर्किएको अवस्था छ। भारतमा हालसम्म कूल ६ लाख २५ हजार बढी संख्यामा परीक्षण भएको छ।

यसैगरि दोस्रो प्रभावित देश पाकिस्तानमा यस संक्रमणबाट १३ हजार ३२८ जना संक्रमित हुँदा २८१ जनाले मृत्युवरण गरेका छन्। यस देशमा १० हजार १११ जनामा अझै संक्रमण बाँकी रहेको छ भने २ हजार ९३६ जना उपचारपछि घर फर्किएका छन्। संक्रमित बिरामीमध्ये पाकिस्तानमा १११ जनाको अवस्था गम्भिर रहेको उल्लेख छ। पाकिस्तानमा १ लाख ४४ हजार ३०० बढी परिक्षण भएका छन्।

भुटान, नेपाल र माल्दिभ्समा हालसम्म कोरोना संक्रमणको कारण कुनैपनि व्यक्तिको मृत्यु भएको छैन। तीनवटै देशमा संक्रमितको संख्या पनि सार्क राष्ट्रका अन्य पाँच देशभन्दा न्यून छ।

भुटानमा जम्मा ७ जनामा कोरोड १९ पुष्टि भएकोमा ३ जनालाई निको भैसकेको छ भने ४ जनामा संक्रमण बाँकी छ। नेपालमा भन्दा पहिले नै अर्थात मार्च ६ मै कोरोना संक्रमित भैटिएको भएपनि भुटानामा साढे ७ लाख मात्र जनसंख्या रहेको कारण सो देशले परीक्षण र संक्रमितको उपचारमा ध्यान केन्द्रीत गरेको छ। सोही कारणले भुटानमा अप्रिलमा २ मा १ जनापछि अप्रिल २१ मा १ जना र २२ मा थप १ जना कोरोनाका नयाँ संक्रमित भेटिएका हुन्। भुटानले हालसम्म ९ हजार ७०० बढी परिक्षण गरेको छ।

नेपालमा हालसम्म ५२ संक्रमितमध्ये ३६ उपचाररत छन् भने १६ जना निको भएर घर फर्किएका छन्। नेपालले हालसम्म पीसीआर र आरडिटी विधिबाट गरि ५१ हजार ३०० बढी परीक्षण गरेको छ।

यस्तै माल्दिभ्समा २१४ जनामा यो संक्रमण देखिएको छ। १७ जनालाई निको भैसकेको छ भने १९७ जनामा संक्रमण बाँकी देखिन्छ। यस देशले हालसम्म ५ हजार २९६ वटा परीक्षण गरेको छ।

श्रीलङ्कामा हालसम्म कोभिड १९ बाट संक्रमित हुनेको संख्या ५२३ पुगेको छ। यस देशमा १२० जना उपचारपछि निको भइ घर फकिएका छन् भने ७ जनाको मृत्यु भएको छ। अझैपनि ३९६ जनामा कोभिड १९ को संक्रमण बाँकी रहेको छ। यस देशले हालसम्म १३ हजार ८५० वटा परीक्षण सम्पन्न गरेको छ।

अफगानस्थानमा हालसम्म १ हजार ५३१ जनामा कोभिड १९ को संक्रमण देखिँदा ५० जनाको मृत्यु भएको छ। ८ हजार बढी परिक्षण गरेको यस देशले २०७ जनालाई निको भई घर फर्काएको छ भने १ हजार २७४ जनामा अझै यो संक्रमण बाँकी रहेको उल्लेख छ।

बंगलादेशमा ५ हजार ४१६ जनामा कोरोना पुष्टि भएकोमा १४५ जनाले यहि भाइरसका कारण आफ्नो ज्यान गुमाएका छन्। ५ हजार १४९ जनामा यो संक्रमण बाँकी रहेकोमा हालसम्म १२२ जनालाई निको भएको छ। यस देशमा ४६ हजार ५ बढी परिक्षण भएका छन्।।

कोरोना परीक्षणको आधारमा नेपाल धेरै परिक्षण गर्ने तेस्रो देश देखिन्छ। नेपालले भारत र पाकिस्तानभन्दा कम परीक्षण गरेको छ भने सार्क देशमध्ये अन्य पाँच देशभन्दा धेरै परिक्षण सम्पन्न गरेको छ। माल्दिभ्स सबैभन्दा कम परीक्षण गर्ने देश हो। उसले ५ हजार ३०० वटा परीक्षण गरेको छ।

दक्षिण एशियाको आठ राष्ट्र सम्मिलित सार्कले विश्वको ३ प्रतिशत भूभाग ओगटेको छ। यस्तै यस क्षेत्रमा विश्वको २१ प्रतिशत जनसंख्या रहेका छन्। यस आधारमा हेर्ने हो भने विश्वमा रहेका कूल संक्रमितमध्ये १.६३ प्रतिशत मात्र सार्क क्षेत्रमा रहेका छन् भने विश्वको कोरोबाट मृत्यु हुनेको संख्याका आधारमा सार्क क्षेत्रमा ०.६५ प्रतिशत मात्र मृत्युदर रहेको देखिन्छ। यस आधारमा पनि यो क्षेत्र सुरक्षित नै रहेको मान्न सकिन्छ।

सन २०१९ को तथ्याङ्ग अनुसार विश्व अर्थतन्त्रको ४.२१ प्रतिशत अर्थात ३.६७ ट्रिलियन डलर बराबरको अर्थतन्त्र रहेको पाइन्छ। सन् १९८५ डिसेम्बर ८ मा गठन भएको सार्कको सचिवालय काठमाण्डौंमा रहेको छ।