यस्तो बन्यो कोभिड ट्रेस गर्ने सरकारको मोबाइल एप (भिडियो सहित)


सरकारले कोरोना भाइरससँग सम्बन्धित सूचना, जानकारीलाई एकीकृत प्लेटफर्मबाट सार्वजनिक गर्नका लागि बनाएको मोबाइल एप तथा वेब पोर्टल तयार भएको छ । नोटबजारले एपडेभलपमेण्ट भैरहेको स्थानमा पुगेर एपको बिस्तृत प्रयोग विधिको भिडियो तयार पारेको छ ।

कोरोना भाइरस ट्रेसिङ समेत गर्न सकिने गरि विकास गरिएको एप सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले तयार गरेको हो । यस अघि नेपाल सरकारको आधिकारिक वेब पोर्टल आईमार्कले बनाउने जिम्मेवारी पाए लगत्तै आईमार्कले तत्कालका लागि डाँफे हेल्थ डटकम सार्वजनिक गर्दै लर्निङ पार्टलको रुपमा अघि सारेको थियो ।

डाँफे हेल्थ सार्वजनिक गरेर पूर्ण रुपमा सरकारको एप निर्माण गरे पछि डाँफे हेल्थलाई समेत उक्त एपमा समायोजन गरी एकीकृत सूचना प्रणाली तथा ट्रेसिङ एपको विकास गरिएको र केही दिनमा नै सरकारले कोभिड एनपी नामक मोबाइल एप तथा कोभिड १९ डट गभ डट एनपी नामक वेब पोर्टल सार्वजनिक गरिने आईमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले नोटबजारलाई बताए ।

नेपालको बैंक तथा वित्तीय क्षेत्र, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा प्रविधि विकासको काम गर्दै आएको आइमार्क प्रालीले यो वेव तथा एप सरकारलाई निशुल्क निमार्ण गरिदिएको हो।

लकडाउनको समयमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न कोभिड एनपी एप तथा वेब पोर्टल तयार पारिएको हो । गत चैत अन्तिम साता राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका सम्भावित संक्रमितको पहिचान गर्न ट्रेसिङ एप सञ्चालनमा ल्याउने उद्घोष गरेका थिए । सोही अनुरुप आफुहरुले पाएको जिम्मेवारी अनुसार छोटो समयमा वेब पार्टल तथा मोबाइल एप तयार पारिएको आईमार्क प्रालिले जनाएको छ । आईमार्कका अनुसार गुगल प्लेमा एप अपलोड भैसकेको र केही दिनमा नै सर्वसाधारणले समेत पाउने छन् भने तथा एप्पलको एप स्टोरमा केही दिनमा एप उपलब्ध हुनेछ ।

गुगल एपमा कोभिड एनपी एप डाउनलोड गर्न यो लिंकमा जानु पर्ने हुन्छ ।

प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीका अनुसार आईमार्क प्रलिले तयार गरेको मोबाइल एप तथा वेब पार्टल केही दिनमा प्रधानमन्त्रीले औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

कोभिड एनपी एपमा के के छन् विशेषता, नोटबजारसँगको कुराकानीमा आईमार्कका डेभलपर पवन अधिकारीले गरेको व्याख्या सहितको भिडियो यहाँ हेर्नुहोस् ।