यी हुन् कोरोनाको पीसीआर प्रविधिबाट नमूना परीक्षण गर्ने देशभरका १६ वटा प्रयोगशाला

0
Shares

नेपाल सरकारले कोरोना भाइरसको पिसीआर विधिबाट नमूना परीक्षणका लागि देशभरका ७ वटै प्रदेशमा गरि १६ वटा प्रयोगशाला सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ जिल्लामा र्‍यापिड डायग्नोस्टिक किट टेस्टबाहेक देशका १६ वटा ल्याबबाट नमूना परीक्षण भइरहेको जनाएको छ।

सोमबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ को परीक्षण सुरु भएसँगै देशभरी परीक्षण गर्ने प्रयोगशालाको संख्या १६ पुगेको हो।

यसअघि सेती प्रादेशिक अस्पताल धनगढी, मध्य पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (कर्णाली प्रदेश अस्पताल) विरेन्द्रनगर, भेरी अञ्चल अस्पताल नेपालगञ्ज, राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र रुपन्देही, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, राष्ट्रिय पन्छि रोग अन्वेषण प्रयोगशाला भरतपुर, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीर अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, काठमाण्डौ विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल काभ्रे, जनकपुर अञ्चल अस्पताल जनकपुरधाम, कोशी अञ्चल अस्पताल विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरि कूल १५ स्थानबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण हुँदै आइरहेको थियो। 

यस्तै मन्त्रालयले कोभिड १९ को परीक्षण गर्ने प्रयोगशालाको न्यूनतम मापदण्ड तोकेर निर्देशिका जारी गर्दै निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षणका लागि बाटो खुला गरेको छ। तर त्यसको लागि मापदण्ड पुगेका निजी प्रयोशालाहरुले स्वास्थ्य मन्त्रालयसँग परीक्षणका लागि छुट्टै अनुमति लिनुपर्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा बताए।

यसैगरि सोमबारदेखि नै प्रदेश नम्बर १ सरकारले कोभिड १९ को संक्रमितको उपचारका लागि सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १०० बेडको अस्पताल सञ्चालनमा ल्याएको छ।