बढी मूल्यमा सामान बेच्ने भाटभटेनी सहित चार पसललाई साढे ६ लाख जरिवाना

0
Shares

बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार चार पसललाई कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख जरिवाना गरिएको छ । खरीद मूल्य प्रतिगोटा १२० रहेकामा भाटभटेनीले २२० लिएको पाएपछि कारवाही गरिएको उनले जानकारी दिए ।

उनका अनुसार आज नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि दुई लाख जरिवाना गरिएको छ । भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भने तापनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारवाही गरिएको हो।

त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई एक लाख र जिएन स्टोरलाई पचास हजार जरिवाना गरिएको छ ।

ती चार पसललाई आज कारवाही गर्दा छ लाख ५० हजार राजश्व संकलन भएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।