कोरोना रोकथामका लागि गाउँकै खाद्यान्न, तरकारी र मासु प्रयोग गर्ने नीति

0
Shares

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ।

खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै गाउँपालिकाले गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति बनाएको हो। स्थानीय उत्पादनलाई परिचालन गरी खाद्यान्न परिपूर्ति गर्ने योजनाअनुसार बाहिरको खाद्यान्न प्रवेशमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।

स्थानीयले खाद्य तथा मासुजन्य वस्तु भित्रिँदा जोखिम बढ्ने बताएपछि यस्तो निर्णय गरेको उनले बताए। बस्तीबस्ती छिर्ने सडक र गोरेटोमा पनि निगरानी बढाएको उनले बताए।

‘बाहिरबाट आउनेलाई विशेष निगरानीमा राखिएको छ’, अध्यक्ष लामाले भने, ‘विदेशबाट गाउँपालिका भित्रने प्रत्येकको घरमा पुगेर स्वास्थ्य जाँच गरिएको छ।’

उनले दीर्घरोगीलाई घरघरमा औषधि पुर्‍याउने काम गाउँपालिकाले शुरु गरेको पनि उल्लेख गरे।

स्थानीयस्तरमा २० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। तर, त्यहाँ अहिलेसम्म कोही बसेका छैनन्। तिपेनीको क्षेत्रपालेश्वरीमा २० शय्याको क्वारेन्टाइन निर्माण गरे तापनि गापाले क्षेत्रीय क्वारेन्टाइनलाई विशेष प्राथमिकता दिएको छ। सुरक्षा, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको हिसाबले मेलम्चीमा बन्ने क्षेत्रीय क्वारेन्टाइन नै उपयुक्त हुने उनको विश्वास छ।

विपद् परास्त गर्न सबै मिलेर लड्नुपर्ने भएकाले राजनीतिक दलबीच पनि सहकार्य जरुरी रहेको उनले बताए। सचेतना कार्यक्रम चलाउँदै फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीको परिचालनलाई विशेष प्राथमिकतामा राखेको छ। स्वास्थ्य चौकी छेउछाउको चोकचोकमा औषधि छर्किएको छ। गापाभित्र आठ वटा स्वास्थ्य चौकी, छ वटा बर्थिङ सेन्टर, दुई वटा स्वास्थ्य युनिट र मानेखर्कमा चिकित्सकसहितको स्वास्थ्य संस्थाले अहोरात्र काम गरेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले ठूलो संख्यामा सडक र खानेपानीमा काम गर्न बाहिरबाट आएका १५० मजदूरलाई घर फर्काइदिएको छ। बाँकीलाई तथ्यांक संकलन गरेर खाद्य सामग्रीको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।

खान नपाउने नपुग्ने नागरिकको तथ्यांक संकलन भइरहेको उनले बताए। तथ्यांक आएपछि उनीहरुलाई राहत दिने तयारीमा जुटेको अध्यक्ष लामाले बताए। विपद् व्यवस्थापन कोषको आकार बढाउन खोजिएको उनले बताए। अन्य शीर्षकबाट केही रकम रकमान्तर गरी कोरोना संक्रमण नियन्त्रण र राहत व्यवस्थापन गर्ने उनले बताए।

गर्भवती र दीर्घरोगीलाई असहज हुन नदिन उनीहरुको तथ्यांक संकलन गरी आवश्यक परे उद्धारका लागि तयारी अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ। दीर्घरोगीको औषधि व्यवस्थापन र वितरण शुरु गरिएको छ। उनले प्रत्येक नागरिकको स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन केन्द्र सरकारलाई सुझाएका छन्।

‘शिक्षा र स्वास्थ्यलाई सामान्यीकरण गर्न यो जरुरी छ,’ अध्यक्ष लामाले भने।

प्रकाशित मिति: १६ वैशाख २०७७, मंगलबार  ०८ : २५ बजे