वैशाख २५ पछि बजार खोल्ने पक्षमा छौं : नेप्से प्रमुख साउद


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा रहेको बताएका छन् ।

साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अव वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रहेर अघि बढेको बताए ।

नेपालको सन्दर्भमा शेयर बजार सञ्चालनका लागि विजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरीको प्लान र आइटी पोलिसी आवश्यक रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले आईटी पोलिसी सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्डमा पेश गरेको जानकारी समेत दिए ।

नेप्सेको अनलाईन कारोबार प्रणाली आफैमा पूर्ण भएको बताउँदै उनले लगानीकर्ताहरु नै यसप्रति आकर्षित नभएकोमा दुखः व्यक्त गरे ।

बजारमा उल्लेख्य कारोबार भएको दिन ४५ प्रतिशत भन्दा बढी कारोबार अनलाईन मार्फत भएको जानकारी गराउँदै उनले यस प्रणालीको थप विकास र विस्तारमा नेप्से निरन्तर लागेको उनको भनाई थियो ।