रहेनन् बलिउडका लोकप्रिय अभिनेता इरफान खान


बलिउड अभिनेता इरफान खानको उपचारका क्रममा निधन भएको छ । स्वास्थ्य समस्या आए पछि मंगलबार अस्पताल भर्ना भएका खानको बुधबार बिहान निधन भएको हो ।

मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारका क्रममा अभिनेता इरफानको बुधबार बिहान निधन भएको खबर द हिन्दूस्तान टाइम्सले सार्वजनिक गरेको छ ।

समाचार अनुसार कोलोन इन्फेक्सनका कारण इरफानको निधन भएको हो । ५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । गत वर्ष बेलायतको लन्डनमा उपचार गराएर फर्किएका इरफानले मुम्बईस्थित कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराउँदै आएका थिए ।

गत शनिबार मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरस संक्रमणका कारण लगाइएको लकडाउनले उनी आमाको अन्तिम संस्कारमा जान सकेका थिएनन् ।

रंगमञ्चबाट उदाउँदै बलिउड यात्रा सुरु गरेका इरफान लोकप्रिय अभिनेता मानिन्थे । उनले बलिउडमा दर्जनौं चलचित्रहरुमा फरक फरक किसिमको भुमिका निर्वाह गरी दर्शकमा आफ्नो अभिनयको छाप छोडेका थिए ।