अमेरिकाबाट पौने ५ अर्ब सहायता स्वीकार गर्ने लगायत यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णयहरू

0
Shares

सरकारले गत बैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । अर्थ, सुचना तथा संचार मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निणर्यहरु सार्वजनिक गरेका हुन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

१. सार्वजनिक खरिद (दशौं संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने ।

२. हरित जलवायु कोष तथा विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा वन तथा वातावरण मन्त्रालयवाट कार्यान्वयन गर्ने गरी Building a Resilient Churia Region of Nepal आयोजनाका लागि ३९.९ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब ७९ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने र समझदारीपत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयका सचिव वा सहसचिवलाई अख्तियारी प्रदान गर्ने ।

३. कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, कर छुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने ।

४. कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा सोको कारणबाट अर्थतन्त्रमा पर्नसक्ने क्षति न्यूनीकरण गर्न आवश्यक स्रोत व्यवस्थापन गर्न थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने।

५. महाकाली लोकमार्ग (दार्चुला-टिंकर सडक) को कूल १३४ कि.मि.मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ कि.मि.(घाँटीबगर-टिंकर) खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति दिने ।

६. कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूमा परेको र पर्नसक्ने असरहरूको बारेमा सुधार तथा सम्बोधन गर्न र सामाजिक संघ संस्था परिचालन बारेको कार्ययोजना, २०७७ स्वीकृत गर्ने ।

७. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय इपिएस प्रणालीअन्तर्गत मित्रराष्ट्र गणतन्त्र कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपालमा रहेका व्यक्तिहरू स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरूको स्वास्थ्य परीक्षण गराई निजहरूकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने ।

८. रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने ।

९. संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम सर्भे) अत्यावश्यक बाहेक अन्यको हकमा अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्ने ।

१०. कोरोना भाईरसको उपचारबापत अस्पतालहरूलाई अनुदान उपलव्ध गराउनेसम्बन्धी आदेश, २०७७ स्वीकृत गर्ने ।

११. कोभिड १९ युनिफाईड अस्पताल सञ्चालन आदेश, २०७७ स्वीकृत गर्ने ।

१२. कोरोना भाईरसको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ स्वीकृत गर्ने।

१३. विश्‍वव्यापी महामारीको रूप लिएको कोभिड १९ को संक्रमण फैलिने सम्भावना देखिएकोले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७ बैशाख २ गतेको निर्णयअनुसार सो रोग रोकथाम र निर्मूल गर्न संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशलाई मिति २०७७ वैशाख २५ गते बिहीबार मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने।

सो रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्‍ट्रहरू लगायत अन्य मित्रराष्‍ट्रहरूले चालेका प्रयास र अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्‍न नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन मिति २०७७ वैशाख ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने । तर, मालसामानको ढुवानीलाई यथावत कायम राख्‍ने । यो आदेशको पालना नगरी सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने ।

विश्‍वव्यापी महामारीको रूप लिएको कोभिड १९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो । हालसम्म यो आदेशको पालना गरी साथ दिनु भएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

साथै, मिति २०७७ वैशाख २५ गते बिहीबार मध्यरातसम्मका लागि जारी भएको उक्त आदेश र मिति २०७७ वैशाख ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी गराई सहयोग पुर्‍याउन हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछ ।