लकडाउनमा पनि भेरी बबईको दोस्रो चरणको निर्माण कार्य जारी

0
Shares

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउनले अन्य विकास आयोजना ठप्प भइरहेका बेला यहाँ सञ्चालित भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा भने असर परेको छैन ।

सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले दोस्रो चरणको निर्माणलाई निरन्तरता दिएको हो ।

आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट एवं सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) र सुरुङको फिनिसिङको काम भइरहेको बताए ।

बर्खाअघि सक्नुपर्ने अत्यावश्कीय काममा आफूहरु केन्द्रित भएको उनले बताए । ‘बर्खाअघि नदीको बीचमा पर्खाल लगाएर बाँध बनाउन सकिएन भने लक्ष्यअनुसार आयोजनाले प्रगति गर्न सक्दैन’, सूचना अधिकारी उपाध्यायले भने ।

कामदारलाई क्याम्पभित्रै राखेर काम जारी राखेको उनको भनाइ छ । सरकारले ठूला आयोजनाको निर्माण कार्य जारी राख्न कामदारलाई क्लोज क्याम्पमै राख्नुपर्ने, एक मिटरको दूरी कायम गरी काममा लगाउनुपर्ने, दैनिक स्वास्थ्य जाँच गर्नुपर्नेलगायतका निर्देशन दिएको छ ।

 

बाँधस्थल चिप्लेमा हाल १३० कामदार कार्यरत छन् । सबै कामदारलाई आयोजनास्थलमा सञ्चालित क्याम्पमै खाने बस्ने व्यवस्था मिलाइएको छ । लकडाउन लम्बिए पनि अत्यावश्यक सामग्री अभाव हुन नदिने तयारीमा रहेको आयोजनाले जानकारी दिएको छ ।

प्रशासनले लकडाउन अवधिमा स्थानीय स्रोतसाधन प्रयोग गरेर आयोजनाको काम अघि बढाउन निर्देशन दिए पनि ठेकेदारलाई सिमेन्ट बाहिर जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । सुर्खेतमा सिमेन्ट उद्योग छैनन् । सूचना अधिकारी उपाध्यायले बाँधका साथै सुरुङ फिनिसिङ, बायो इञ्जिनीयरिङलगायतका काम पनि भइरहेको जानकारी दिए ।

यसअन्तर्गत सुरुङ मर्मतसम्भार, सरसफाइ गर्ने, आसपासमा बोट बिरुवा रोप्नेलगायतका काम पर्दछन् । टनेल बोरिङ मेशिन ९टिबिएम० को सहायताले गत वर्ष चैतमै १२ किमि २१० मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको थियो । फिनिसिङ, बायो इञ्जिनीयरिङलगायतका काम बाँकी रहेकाले निर्माण कम्पनी चाइना इञ्जिनीयरङ ओभरसिज प्रालि (कोभेक) ले सिचाइँ विभागलाई सुरुङ हस्तान्तरण गरेको छैन् ।

चिनियाँ कम्पनी कोभेकले २०७४ कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो । सिँचाइ विभाग र कोभेकबीच २०७६ चैत १५ गतेसम्म सुरुङ खनिसक्नुपर्ने सम्झौता भए पनि एक वर्षअगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र कोभेकले चौतर्फी प्रशंसा बटुलेका थिए ।

टिबिएम अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित उपकरण हो । जुन नेपालले पहिलोपटक सुरुङ खन्न यहाँ प्रयोगमा ल्याएको थियो । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धीमा पर्दछ । निर्माण कार्यका हिसाबले हालसम्म ४० प्रतिशत निर्माण कार्य पूरा भएको आयोजनाको दाबी छ ।

त्यस्तै, दोस्रो चरणको ठेक्काअन्तर्गत विद्युत् गृह (पावरहाउस) निर्माणको कार्यको तयारी पनि शुरु गरिएको छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउन १३ गते दोस्रो चरणको ठेक्का अघि बढाउने सम्झौता भएको थियो ।

दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत्गृह लगायतका संरचना पर्दछन् । यसका लागि आयोजनाले रू। छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महीनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको आयोजनाको सम्पूर्ण काम भने आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।

भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमि २१० मिटर लामो सुरुङमार्फत सोही नगरको वडा नं ११ हात्तीखालस्थित बबईमा भेरीको पानी खसालिनेछ । जहाँ नेपाल सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।

आयोजनाले भेरीबाट प्रति सेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ ।