कोरोना सँगै ध्वस्त शेयर बजार खोलाउने टिकाउने र उकास्ने उपायहरु

0
Shares

कोरोनाको कहर सँगै सबै देशको शेयर बजार ओरालो लाग्यो। क‍ोरोना संक्रमणबाट बच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम विकल्प भएपछि संसारले नचाहेर पनि लकडाउनमा जानू पर्यो।वस्तु ओसार पसार र मानिसको आवागमन ठप्प भएपछि शेयर बजार पनि बन्द हुने नै भयो।

नेपालमा चैत्र १० गतेबाट बन्द भएको शेयर बजार क्रमश थपिँदै बैशाख २५ गते सम्म पुगिसकेको छ। ४५ दिन लगातार शेयर बजार बन्द हुँदै गर्दा लगानीकर्तामा छटपटि बढदै गईरहेको छ।

लकडाउनमा गएका कतिपय देशका शेयर बजार खुल्दै गएका छन्। नेपालको बन्द शेयर बजार प्रति अन्तर्राष्ट्रिय चासो पनि बढ्न थालेपछि लगानिकर्ता, ब्रोकर, नेप्से र नियामक निकाय पनि सक्रिय हुन थालेका छन् र सबै जसो शेयर बजार खोल्नुपर्छ भनी लबिङ्गमा लागेको पाईन्छ।

  • लगानीकर्ताको मानसिकता:-

शेयर बजारमा करिब करिब १८ लाख भन्दा बढी शेयरधनिको लगानी छ।संख्याको हिसाबले ९० प्रतिशत भन्दा बढी साना लगानिकर्ताहरु छन्। स सानो पूँजी शेयरमा लगानि गरि नाफा कमाउने र खाँचो परेको बेला बेचेर काम चलाउने प्रकृतिका लगानिकर्ता बढी छन्।

पटक पटकको लकडाउन थपिएसँगै तीनमा छटपटाहट बढ्दै गएको छ। उद्योग ब्यवसाय सबै बन्द छ,अधिकांश ब्यवसायीको केही न केही शेयरमा लगानी छ। नगद प्रवाह नभएको अवस्थामा स‍ोही शेयर बिक्री गरि काम चलाउन खोज्नेको पनि हात बाँधिएको छ। त्यसैले सबैको ध्यान शेयर बजार तिर छ। अहिले शेयर बजार खोल्ने र नखोल्ने बीचको बहस व्यापक हुँदै गएको छ। शेयर बजारका पण्डितहरु, ब्रोकरहरु, ठूला लगानीकर्ताहरु कसै गरि पनि बजार खोल्नु पर्छ भन्ने लबिङ्गमा छन्। फागुनमा ईण्डेक्स १ हजार ६३२ हुँदा शेयर बेचेर बसेकाहरु घटेको बजारमा किन्ने दाउमा छन्।

कोरोनाको त्रासमा बजार लकडाउन अघि १ हजार २५१ पुगेको र खुलेपछि पुन घट्ने अनुमान गरेकाहरु जसरि नि बजार खोलाउन मरिहत्ते गरिरहेका छन्। ठूला लगानीकर्ता जो उद्योगी ब्यवसायी पनि छन् ती चाहिँ बजार खुलेपछि शेयर बिक्री गरि आफ्नो खर्च धान्न र ब्यवसायको चालू पूँजी जोहो गर्ने शुरमा छन्। खरीद बिक्री दुबैमा कमिशन कमाउने ब्रोकरहरुको आम्दानी शून्य भएकोले उनीहरुलाई निन्द्रा लाग्न छोडेको छ।

उनीहरु पनि कसैगरि बजार खोल्ने लबिङ्गमा लाग्नु स्वभाबिक नै ह‍ो। ठूला लगानीकर्ता, शेयर पण्डित, ब्रोकर तथा अन्तर्राष्ट्रिय दबावको अगाडि नेप्से र नियामक निकाय सरकारको स्पष्ट निर्देशन नआएको कारण असहाय देखिन्छन्। तर पनि फेस सेभिङ्गको लागि बजार खोल्नेहरुको कित्तामा उभिएका छन्। तर अर्को तिर रहेका लाखौं साना लगानीकर्ता जो जहिले पनि बढ्दो बजारमा लोभमा परेर उच्च दरमा किन्ने गरेका छन् ती सबै एकदम त्रासमा छन्।

देशको समग्र अर्थब्यवस्था ध्वस्त भएको बेला बजार खुलेमा बढ्ने सम्भावना प्रति विश्वस्त नभएका ती साना लगानीकर्ता कहिँ बजार क्र्यास भएर आफ्नो पूँजी नै डुब्ने त हैन भनि भयभित छन्। त्यसैले केही ठोस संकेत नआई लकडाउन भरि बजार खुल्नु हुँदैन भन्ने मनासिकतामा छन्।

  • बजार खोल्नुपर्छ पछाडिको तर्कहरु:-

ठूला लगानीकर्ता,ब्रोकर, नेप्से, नियामक निकाय समेत बैशाख २५ गतेपछि लकडाउन होस् या नहोस् जुन अवस्थामा भए पनि निम्न कारणले शेयर बजार खोल्नुपर्छ भनिरहेका छन्।

१. बजार खुलेपछि संक्रमण अवस्थामा पनि लगानी गर्ने उपयुक्त स्थान शेयर बजार नै भएकोले लगानीकर्ता उच्च मनोबलका साथ खरीद बिक्रीमा लाग्ने।

२. विश्व परिवेशमा लकडाउन पछि खुलेका अधिकांश देशका शेयर बजार बढेको छ, नेपालको बजार नि बढ्ने।

३. नेपालको शेयर कारोबारको ८० प्रतिशत भन्दा बढी हिस्सा बैंक, विकास बैंक, लघुवित्त, वित्त कम्पनी, बीमा कम्पनीहरुको रहेको छ। यी सबै नाफामा रहने भएकोले बजार घटने सम्भावना नरहेको।

४. कोरोनाको प्रारम्भसँगै फागुनको मध्यतिर रहेको शेयर ईण्डेक्स १ हजार ६३२ र कारोबार रकम ४ अर्ब ८४ करोड थिय‍ो। कोरोना असर बढ्दै जाँदा घटेर १ हजार २५१ र रकम १९ करोड ४६ लाख भैसकेकोले कोर‍ोना करेक्सन पहिले नै भैसक्यो। अब पुन: घट्ने सम्भावना नरहेको।

५. लकडाउन अवधिमा कर्जा प्रवाह नभई बैंकहरुमा तरलता बढ्ने र र बढेको फण्ड सजिलो, छिटो र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने क्षेत्र शेयर नै भएकोले थप कर्जा प्रवाह हुने।

६. विगतको इतिहास हेर्दा पनि बियरिस ट्रेण्डपछि बुलिस ट्रेण्ड आउने भएकोले अब बजार बढ्ने सम्भावना रहेको।

७. अर्थतन्त्र सोचनीय अवस्थामा भएकोले शेयर बजारप्रति सरकारको पनि सकारात्मक प्रयास रहने र संस्थागत लगानिकर्ता नि प्रवेश गरि बजारलाई तल आउन नदिने।

  • बजार खोल्न हुन्न पछाडिका तर्कहरु:-

कोरोना समस्याको प्रभावकारी र ठोस ब्यवस्थापन नगरि बजार ख‍ोल्दा क्र्यास हुने सम्भावना र यसबाट लाखौं स‍ोझा साझा लगानिकर्ताको लगानी डुब्ने डरलाई नि विचार पुर्याउनु जरुरी छ।

१. भारत लगायत विकसित देशको शेयर बजार पूर्णत स्वचालित भई सकेकोले घर घरबाट कारोबार गर्न सक्ने भएकोले लकडाउनमा पनि कार‍ोबार सञ्चालन गरे। हामी कहाँ शेयर अर्डर र ई डिआईएसबाट शेयर ट्रान्सफर बाहेक सबै म्यानुअल तरिकाले सम्बन्धित कार्यालयमा गएर गर्नुपर्ने भएकोले लकडाउन हुन्जेल कारोबार गर्न गराउन सम्भव नै नहुने।

२. अमेरिका भारत लगायत धेरै देशले क‍रोनाको कारण ध्वस्त अर्थ ब्यवस्थालाई पुनरोत्थान गर्न राज्यको ढुकुटीबाट अर्बौं खर्बौं स्टिमुलस (नगद) लगानी गर्ने घोषणा गरे। लकडाउन पछि बजार खोल्दा ईण्डेक्स बढेको देखियो। भारतिय रिजर्भ बैकंले ५० हजार करोड, अमेरिकाले १ खर्ब डलर, मलेशियाले ४.६ अर्ब डलर, टर्कीले १५.४ अर्ब डलर, ईटालीले २७.३ अर्ब डलर जस्तै प्राय: धेरै देशले उद्योग ब्यवसाय र बेरोजगारलाई राहत दिने भए। हामी कहाँ लकडाउन भएको ४० दिन भईसक्दा पनि सरकार र केन्द्रीय बैंक उधोग ब्यवसाय र पीडित बर्गलाई बचाउन राहतको ठोस कार्यक्रम र थप लगानीको घोषणा गर्न सकेका छैनन्। अनि के आशामा बजार खुलेपछि बढ्ने हो, क्र्यास नै हुने धेरै सम्भावना रहेको।

३. शेयर कारोबार पोर्टफोलियोको ८० प्रतिशत बैंक, विकास बैंक, फाईनान्स कम्पनी, लघुवित्त, र बीमा कम्पनीक‍ो छ। अहिलेसम्म हेर्दा सुरक्षित देखिन्छन्।सबैको अनुमान बजार खुल्दा यी कम्पनीको शेयर मूल्य घट्दैन। ११ चैत्रबाट लकडाउन भएकोले पहिलेको मुनाफा र प्रोभिजनमा चलखेल गरि तेश्रो क्वाटरको ब्यालेन्ससिट राम्रो आउला, तर ऋणको ब्याजदर कटौती, शून्य सावा ब्याज असुली, अन्य जिरो आम्दानी र लकडाउन पछिको चेन असरले २०७७ आषाढमा प्रोभिजनमा चलखेल गरिएन भने सबैको वित्तीय अवस्था नाजुक हुने निश्चित छ। त्यसैले २०७६ चैत्रको वासलात हेरि शेयर खरीद गर्ने सबै फस्ने पक्का छ। अनि खुलेको बजारमा टाठा बाठा बिक्री गरि निस्कने र फस्ने चाहिँ उहीँ स‍ोझो साना लगानीकर्ता नै हुने।

  • बजार खोलाउने र टिकाउने उपायहरु:-

शेयर बजारमा माग र आपूर्तिले कारोबारको मात्रा र ईण्डेक्सलाई निर्धारण गर्ने हो। माग राम्रो हुनलाई कम्पनकिो परफरमेन्स, ईमेज र प्रतिफल राम्र‍ो हुनु जरुरी छ। पूँजीबजार प्रति नियामक र सरकारको सकारात्मक सोच र सोही अनुसार नीति र कार्यक्रम आउनुपर्छ।अनि समग्रमा देशको अर्थतन्त्रको भबिष्य राम्रो देखिनुपर्छ।

विकसित मुलुक जस्तो शेयर बजार हामी कहाँ अझै परिपक्व हुन सकेको छैन। नियामक निकाय र मन्त्रीहरुले न सोचेर जे पनि बोलिदिने, कम्पनीहरुको भित्री सूचनाको गलत तरिकाले प्रयोग हुने, शेयर खेलाडीहरु नै सञ्चार माध्यममा बनावटी समाचार निकाल्न लगाई शेयर कारोबारलाई प्रभावित गर्ने कार्य हामी कहाँ सामान्य कुरा भैसकेको छ। त्यसैले यी सबै कुराहरुलाई विचार गरि लकडाउन खुलेपछि मात्र निम्नानुसार वातावरण नि बनाउँदै जाने र सुरुमा सीमित कारोबार गर्दै लगानीकर्ताक‍ो मन‍ोबल बढाउँदै कारोबार वृद्धि तर्फ लाग्नुमा नै सबैको हित छ।

१. केन्द्रीय तथ्याङ्क विभागले हालै मात्र ८ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष कोरोनाको कारण २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। भन्नुको अर्थ कृषि बाहेक सबै क्षेत्र गम्भिर संकटमा पर्ने देखिन्छ। कोरोना प्रभावित देशले अर्थतन्त्र उकास्न जिडिपिको १४ प्रतिशतसम्मको स्टिमुलस लगानी गरेका छन्। नेपालले पनि कूल जिडिपी ३२ खर्ब ९ अर्बको ३ प्रतिशत बराबर १ खर्बको राहत प्याकेज बैंक, उद्योग ब्यवसाय, बेरोजगार ब्यक्ति, कृषक र श्रमिकको लागि घोषणा गर्नुपर्छ। यसले लकडाउनपछि खुल्ने शेयर बजारलाई उकास्न मदत्त गर्छ।

२. शेयर कारोबार पूर्णत स्वचालित गर्ने भनेको पनि लामो समय भैसक्यो। अब निश्चित समय तोकेर बैंक, ब्रोकर , लगानिकर्ता, डिपि, सिडिएससी र क्लियरिङ्ग बैंक खाता सँगको ईन्ट्रेगेशन छिटो गर्ने र आईपिएस भुक्तानीको सीमा बढाउन प्रयास गर्ने।

३. सबै लगानीकर्ताक‍ो मेरो शेयरमा खाता खोल्न लगाउने र खाता हुनेको १०० लिएर गरिने नवीकरण यो पटकलाई स्वतःगर्ने वा आषाढ भित्र शुल्क लिने गरि गर्ने।

४. शेयर कारोबार बढाउन बैंक कर्जाको ठूलो भुमिका हुन्छ। ६५ प्रतिशत सम्म कर्जा र २० प्रतिशत घट्दा सम्म मार्जिन कल नगर्ने ब्यवस्था रहेको छ ।शेयर कर्जाको जोखिममा बैंकलाई पनि सुरक्षित राख्ने गरि हालको शेयर मुल्यको रकममा सावा ब्याज गरि ८० प्रतिशत भित्र हुने गरि नवीकरणको सुविधा दिनुपर्ने। थप शेयर कर्जा दिन नेपाल राष्ट्र बैंकले सरल प्रक्रियाको निर्देशन जारि गर्नुपर्ने।

५. विकसित देशमा नगद लाभाशंले शेयर मूल्य बढ्छ भने हामी कहाँ बोनस शेयरले बजार बढाउँछ। क‍ोरोनाको असरबाट बैंकिङ्ग क्षेत्रको वित्तीय सन्तुलन कायम राख्न तथा तरलताको कमी हुन नदिन भारतको केन्द्रीय बैंकले नगद लाभाशंमा र‍ोक लगाई सक्यो। नेपाल राष्ट्र बैंकले बैकिङ्ग क्षेत्रमा, बीमा समितिले बीमा कम्पनीमा र सरकारले दुरसञ्चार, नागरिक लगानी कोष लगायतमा नगद लाभाशं वितरणमा रोक लगाउनुपर्छ। बोनस शेयरको आशामा बजार घट्न पाउँदैन।

६. लकडाउन पछि शेयर बजार पूर्ण रुपमा खोल्दा कोरोनाको भयावह असरको कारण अझै क्र्यास हुने ठूलो सम्भावना छ। संकटको अवस्थामा नियन्त्रित कारोबार गर्नु उत्तम हुन्छ। अत: पहिलो हप्ता १ घण्टा कारोबार समय र एक ब्यक्तिले प्रति कम्पनी ५०० कित्ता खरीद बिक्री गर्ने, दोश्रो हप्ता २ घण्टा १ हजार कित्ता, तेश्रो हप्ता ३ घण्टा ३ हजार कित्ता र चौंथो हप्ता देखि पूर्णकालीन खोल्दा असर कम हुँदै जान्छ र सम्भावित क्र्यासलाई र‍ोक्न पनि सकिन्छ। १० प्रतिशतको सर्किट ब्रेकरलाई केहि समय ५ प्रतिशतमा राखि अनुगमन र नियन्त्रण गर्न सकिने।

७.शेयर बजारमा लगानीकर्ताको मनोबल उठाउन र बजारलाई गिर्नबाट जोगाउन संस्थागत लगानिकर्ता, डिलर, मार्केट मेकर, म्यचुअल फण्ड, बीमा कम्पनी, सञ्चयकोष लगायतलाई लगानी गर्न प्रोत्साहन गर्ने तथा सरकार र राष्ट्र बैंकले नीति नियम बनाउँदा शेयर बजारलाई सप‍ोर्ट हुने गरि बनाउने र सकारात्मक रुपमा सार्वजनिक धारणाहरु राख्ने।

८. सरकारक‍ो राजश्वको श्रोत कम हुँदै गएको छ। पूँजीगत लाभ कर घटाउन न सकिए पनि ब्यक्तिगत लगानीकर्ताको अग्रिम काटिएक‍ो करलाई अन्तिम मानिने ग्यारेन्टी गर्दा पनि लगानीकर्ताक‍ो मनोबल बढ्ने देखिन्छ। यसरी समग्रमा भन्नु पर्दा देशको ढुकुटीबाट उद्योग ब्यवसाय ,बैंक र अन्य क्षेत्रलाई ठोस राहतको घोषणा गरि शुरुको केही दिन नेप्सेमा नियन्त्रित कारोबार गरि क्रमश बढाउँदै लग्दा क्र्यास हुनबाट ज‍ोगाउँछ र लगानीकर्ताको मनोबल पनि बढी सबैको हित हुने देखिन्छ।