‘सरकार ! माग्न पनि नमिल्ने, दिन पनि नसक्नेले अब के गर्ने ?’

0
Shares

बन्दाबन्दीको ४४ औं दिन बिहानै मोबाइलमा घण्टी बज्यो । पुरानो मित्रको फोन रहेछ । सधै जस्तै पारिवारिक हालखबर सोधपुछ भयो । बन्दाबन्दीको समयमा दिनहरु बिताउँदा गर्ने गरेका क्रियाकलापको बारेमा कुराकानी भयो।

मित्रको बोलीमा सधैजस्तो उत्साह थिएन। त्यसमा पनि बिहान बिहान फोन गर्नुमा केही समस्या छ कि भन्ने शंका लागेर मैले उनलाई केही विशेष थियो कि? भनी सोधें। संसार नै समस्यामा रहेको सतही कुरा गर्दै उनले आफ्ना पीडाहरु सुनाउन थाले ।

‘सर यो लकडाउन कहिलेसम्म होला ?’ आज खुल्ला भोलि खुल्ला भन्दाभन्दै कोरोनाको समस्या झन् बढिरहेको छ । झन्पछि झन् धेरै संक्रमित पो देखिन थाले। उनले एकोहोरो रुपमा भन्न थाले। ‘जताततै संक्रमितको संख्या बढिरहेका छन्, घरमा भएको खाद्यान्न पनि सकिन लाग्यो। अलिअलि भएको पैसा पनि पाउँदासम्म किनेर खाँदा सकिन लाग्यो।’ उनले आफ्नो समस्या भन्न भूमिका बाँध्दैछन् भन्ने स्पष्ट बुझिन्थ्यो । ‘

लकडाउनले साह्रै मारमा पा¥यो भएको पैसा पनि सकिन थालेपछि निकै तनाव पो भइरहेछ ।’ उनको बोलीमा निकै पीडाको भाव थियो। ‘अहिले त ठिकै छ नि?’ मैले उनलाई सोधें ‘तत्काल त परिवारलाई खर्च व्यवस्थाले धानिरहेको छ कि समस्या भइसक्यो ?’ मित्रको शब्द एकछिनका लागि बन्द भयो । अलिबेर पछि ‘… अहिलेसम्म त चल्यो तर …।’ उनी बोल्न छोडे ।

निशब्द, उताबाट कुनै आवाज आएन । मैले सोचें । उनी त मभन्दा अलि सम्पन्न नै थिए। रामै्र व्यापार गरेका थिए। चीनबाट जुत्ता, कपडा ल्याएर शहरमा बेच्थे। घर परिवार पनि राम्रै स्तरमा राखेका थिए। उनको घरमा भएका सोफा, टिभी, फ्रिज, किचनसेट मेरोभन्दा धेरै राम्रो थियो। केही समय अघिमात्रै मारुती गाडी किनेर परिवारसहित पोखरा घुमेर आएका थिए। परिवारको खुशीका लागि उनको खटाई राम्रै थियो। तर आज उनले भन्न खोजेको कुरामा नितान्त पीडाको अनुभूति छ । कुरा खोल्न नचाहे पनि उनको पीडा शायद आर्थिक समस्या नै हो भन्ने बुझ्दा अन्यथा नहोला ।

शहरमा बस्ने र निरन्तर पेशा व्यवसाय गरेर परिवारको आवश्यकता पूरा गर्दै आफूलाई मध्यमवर्गमा उकाल्ने प्रयाश गरिरहेका मेरा मित्र जस्ताको लाखौं परिवारको अवस्था एउटै जस्तो छ। आवश्यकताको हिसाबले भन्दा सामाजिक इज्जतका हिसाबले फ्रिज, मोटरसाइकल, वासिङ मेसिन बैंकबाट लोन लिएर पनि घर, लोनमै गाडी चढ्ने शहरीया मेरा मित्रजस्ता मध्यमवर्गका व्यक्तिहरु आयलाई आवश्यकतामा भन्दा इज्जत जोगाउन खर्च गर्ने प्रवृति छ ।

आफ्नो श्रोत खासै नभएका तर ऋण गरेर शुरु गरेको व्यवसायलाई बैंक डिपोजित गरी थप ऋण लिएर सामाजमा आफूलाई स्थापित जस्तो देखाउने वर्गले यो बन्दाबन्दीमा सबैभन्दा बढी पीडा झेल्नुपर्दो रहेछ । विपन्न पनि नदेखिने र आवश्यकताको परिपूर्ति पनि नहुने यो वर्ग बाहिर राम्रै देखिने प्रयाशमा अल्झिरहेको हुन्छ । हाम्रो समाजको चरित्र हेर्ने हो भने अधिक मात्रामा उपभोगवादी प्रवृत्ति छ । ऋणै गरेर पनि चाडपर्व बनाउने, इज्जतका लागि भन्दै ऋणमै परम्परा धान्ने र बाहिर रंगीन देखिनुपर्ने । उपभोगवादी समाजमा सम्भ्रान्तहरुको उदय पनि त्यही हिसाबमा बढिरहेको हुन्छ, जसले गर्दा मध्यमवर्गको कमजोरीलाई तिनै सम्भ्रान्त वर्गले दोहन गरिरहेका हुन्छन् ।

नेपालमा लगभग ६० लाखभन्दा बढी मध्यम वर्गका मानिसहरु रहेको अवस्थामा वर्तमानको कोरोनाले त्यसलाई अझ बढाउने खतरा छ। भनिन्छ लगभग आधा मानिसहरु मध्यम वर्गमा जाने प्रयत्न गरिरहेका छन् । यही मध्यम वर्गको समस्या सामाजिक अस्तित्व जोगाउन र आफूलाई हुनेखाने देखाउन प्रयत्नमा आर्थिक क्षतिको हिसाब नराख्नु हो।

कोरोनाको महामारीले डेढ महिना सताइसके पनि समस्यामा कमी नआएको भन्दै थप एघार दिन बन्दाबन्दी बढाउने सरकारको निर्णय सार्वजनिक भएको छ । लगभग सबै क्षेत्र ठप्प छ, समस्या सल्टिएला भन्दा बल्झिन थालेपछि कहिँ कतै कफ्र्यु लगाउनु पर्नेसम्मको अवस्था आएको छ । धेरै मानिस तत्कालको गर्जाे टार्ने समस्यामा पर्न थालेका छन् ।

सरकारले बाँडेको राहत लिन लाइन बस्नेहरु बढिरहेका छन्। मन अमिलो बनाउँदै समस्या सुनाउनेको संख्या बढ्दैछ । निकास कतै देखिन्न । मोबाइलमा कुरा गर्दा गर्दै अड्किएको साथीलाई के भनेर सम्झाउनु, म आफै अवाक भएँ । उनी मुख खोलेर माग्न सक्दैनन् । माग्दा इज्जत जान्छ कि भन्ने डर छ उनलाई । यता म ‘तिमीलाई सहयोग गर्छु भन के चाहियो’ भन्न सक्दिन । कसलाई सुनाउनु आफ्नो व्यथा ? सुन्ने पनि आफू जस्तै भएपछि । समान समस्या भएका मध्यम वर्गको सरकारलाई साझा प्रश्न छ, ‘सरकार ! माग्न पनि नमिल्ने, दिन पनि नसक्नेले अब के गर्ने ?’