भारतीय खुद्रा व्यापारीले गुमाए ५.५० लाख करोड, २०% व्यावसायी बन्द हुने जोखिममा

0
Shares

विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमण नियन्त्रणका लागि भारत सरकारले लगाएको लकडाउनका कारण ४० दिने लकडाउनमा खुद्रा व्यापारीलाई ५.५० लाख करोड भारतीय रुपैयाँ नोक्सानी भएको छ ।

लामो समयसम्म भएको लकडाउनका कारण व्यापार गर्ने नपाएका कारण करिब २० प्रतिशत ब्यापारीले आफ्नो व्यापार नै बन्द गर्ने अवस्थामा पुगेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन्।

भारत सरकारले गत मार्च २४ देखि सुरु गरेको लकडाउन हालसम्म पनि कायम रहेको छ । भारतमा लकडाउनका कारण ठप्प रहेको पछिल्ला ४० दिन अर्थात अप्रिल ३० सम्ममा खुद्रा व्यापारवाट मात्र करिब ५.५० लाख करोड भारतीय रुपैयाँ नोक्सान भएको हो।

कन्फेडरेसन अफ अल इण्डिया टे«डर्सका अनुसार ब्यापार नभएको कारणले २० प्रतिशत व्यापारीले आफ्नो कारोबार बन्द गर्ने अवस्थामा छन् भने १० प्रतिशत ती ब्यापारीमा भर पनि साना व्यापारीले आफ्नो कारोबार बन्द गर्ने अवस्थामा पुगेका हुन्।

लकडाउनका कारण भारतीय खुद्रा व्यापारीको आगामी केही महिनासम्मको कारोबार ध्वस्त बनाएको हो । गत मार्च २४ देखि सुरु भएको लकडाउन मे १७ सम्म कायम छ । यो पनि अन्तिम हो भन्ने निश्चित छैन। भारतमा कोरोना संक्रमणका नयाँ बिरामी दिन प्रति दिन बढ्दो क्रममा छन्। त्यसैले आगामी दिनमा पनि लकडाउन अझै बढ्ने सम्भावना पनि उत्तिकै छ । यसले खुद्रा व्यापारीलाई अझै बढी असर गर्ने जोखिम हरेको देखिन्छ ।

यस सन्दर्भमा कन्फेडरेसनले प्रधानमन्त्री नरेन्द्र मोदी तथा वित्तमन्त्री निर्मला सीतारमणलाई खुद्रा ब्यापारीको अस्तित्व जोगाउनका लागि उपयुक्त प्याकेज ल्याउन आग्रह समेत गरेको छ ।

कन्फेडरेसनका राष्ट्रिय अध्यक्ष बीसी भरतियाले खुद्रा ब्यापारमा परेको असर देशको अर्थतन्त्रमा पनि देखिने बताएका छन्। उनका अनुसार भारतीय खुद्रा ब्यापारीले एक दिनमा करिब १५ हजार करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्छन्। पछिल्लो समयमा ४० दिन भन्दा धेरै दिन देखि बन्द गर्नु परेको अवस्था छ। भारतका ७ करोड व्यापारीको कुल ५.५० लाख करोड भारतीय रुपैयाँ नोक्सान भएको उनले बताए।

७ करोड ब्यापारी मध्ये १.५ करोड ब्यापारीले आगामी केही दिनमा आफ्नो कारोबार स्थायी रुपामा बन्द गर्नुपर्ने अवस्था छ। त्यसैगरी करिब ७५ लाख साना ब्यापारी जो यी १.५ करोड ब्यापारीको भरमा ब्यापार गर्दै आएका छन् ती पनि बन्द हुने अवस्थामा छन्।

उनका अनुसार भारतमा २.५ करोड अत्यन्तै साना ब्यापारी रहेका छन् । उनीहरुसँग अहिलेको अवस्थामा बच्न सक्ने अवस्था नै छैन । अहिलेको असरले आगामी ६ देखि ९ महिनासम्ममा ती साना ब्यापारीलाई झनै जटिल अवस्था सामना गर्नुपर्ने हुन्छ । उनले गैर कर्पोरेट क्षेत्रलाई सरकारले वेवास्ता गरेको अरोप समेत लगाए।