आजदेखि बैंकहरुका सबै शाखा खुल्ने, तोकिएको मापदण्ड पूरा गर्नुपर्ने

0
Shares

मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने भएका छन् । बैक संचालनका लागि राष्ट्र बैंकले मापदण्ड समेत तोकिदिएको छ।

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ ।

‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो ।

बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावना न्यूनीकरण गर्न आवश्यक व्यवस्था अवलम्बन गर्ने भनिएको छ।

मापदण्डअनुसार सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चितताका साथ सेवा प्रभाव गर्ने, विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गर्नुपर्नेछ।

साथै बैंकिङ सेवा सुचारु गर्न आवश्यक सवारीसाधनको हकमा सम्बन्धित संस्थामा रहेका सवारीसाधनको बढीमा २५ प्रतिशत सवारीसाधन सञ्चालन गर्न बैंकको प्रधान कार्यालयले सवारी नम्बर र सवारी उपयोग गर्नेको नाम, जानुपर्ने–आउनुपर्ने स्थान तथा समयसहित तोकपत्र उपलब्ध गराउने पनि भनिएको छ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए।