एभरेष्ट इन्स्योरेन्सले लकडाउनमा पनि यसरी पस्कियो सबै सूचकमा सुधार


एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा १३ करोड ३३ लाख ४१ हजार रुपैंया खुद नाफा कमाएको छ । लकडाउन सुरु भए पछिको २० दिनको असरका बिच इन्स्योरेन्सले खुद नाफामा भारी सुधार गरेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख रुपैंया मात्र खुद नाफा कमाएको थियो ।

व्यवसायमा आएको बढोत्तरी, पुनर्बीमा कमिशनबाट हुने आयका साथै अन्य सूचकहरुमा गरेको सुधारले इन्स्योरेन्सको खुद नाफामा फराकिलो सुधार देखिएको हो ।

इन्स्योरेन्सले चैत मसान्तसम्ममा ३३ करोड ८१ लाख ६७ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्ले यस्तो शिर्षकमा २९ करोड ४९ लाख रुपैंया आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको यसै अवधिमा ७ करोड २४ लाख रुपैंया पुनर्बीमा कमिशनबाट आम्दानी गरेको इन्स्योरेन्सले अहिले १० करोड १० लाख रुपैंया आम्दानी गरेको छ ।

त्यसै गरी लगानी, कर्जा तथा अन्य आम्दानी शिर्षकलाई समीक्षा अवधिमा २ करोड ४१ लाख रुपैंयाबाट ४ करोड १५ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सले दाबी भुक्तानी पनि झण्डै दोब्बरले बढाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा २ हजार १३९ वटा दाबी वापत ७ करोड २६ लाख रुपैंया भुक्तानी गरेकोमा अहिले ३ हजार ३१८ वटा दाबी वापत १२ करोड ३५ लाख रुपैंया भुक्तानी गरेको छ । अभिकर्ता कमिशन पनि बढेको अवस्थामा पुनर्बीमा कमिशन खर्चमा कटौती गरेको इन्स्यारेन्सको व्यवस्थापन खर्च भने बढेको छ ।

६९ हजार ११६ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सले ९८ वटा बीमालेख नबीकरण गराएको छ । इन्स्योरेन्सले ३ हजार १५३ वटा दाबी वापत १ अर्ब ३५ करोड रुपैंया भुक्तान गर्न बाँकी छ ।

समीक्षा अवधिमा २७ करोड ३९ लाख ८३ हजार रुपैंयाको चुक्ता पूँजीलाई १ अर्ब ९ करोड ५९ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १६ रुपैंया ३९ पैसा तथा मूल्य आम्दानी अनुपात २१.०५ गूणाले बढी छ ।

जगेडा कोषमा २० करोड ७८ लाख रुपैंया सञ्चित गरेको इन्स्योरेन्सको बीमा कोषमा २९ करोड ३९ लाख रुपैंया सञ्चित छ । प्रतिशेयर नेटवर्थ १४५ रुपैंया ९१ पैसा रहेको इन्स्योरेन्सको प्रतिशेयर कुल सम्पत्तीको मूल्य २२० रुपैंया ३९ पैसा छ ।