बंगलादेश बैंकको नाफा साढे १३ प्रतिशतले घट्दा प्रतिशेयर आम्दानी २.६६ रुपैयाँले कमजोर


चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा नेपाल बंगलादेश बैंकको खुद नाफा साढे १३ प्रतिशतले घटेको छ ।

यो अवधिमा बैंकको ब्याज तथा फि कमिसन आम्दानीमा सुधार देखिए पनि कर्मचारी तथा सञ्चालन खर्च बढेपछि नाफा घटेको हो ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले एक अर्ब ५० लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५७ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको चैतसम्ममा बैंकले एक अर्ब १४ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड) बढाउँदा पनि नाफा घटेको हो । चैतसम्ममा बैंकको स्प्रेड रेट ४.८८ प्रतिशत छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको स्प्रेड रेट ४.७१ प्रतिशत थियो । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको वितरण योग्य नाफा भने २ करोड ८० लाख रुपैयाँ रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको सो अवधिमा खुद ब्याज आम्दानी १.४ प्रतिशतले बढाएको छ भने फि तथा कमिसन आम्दानी पनि १७.०७ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको कर्मचारी खर्च करिब ९.५२ प्रतिशतले बढेपछि नाफा कम भएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले २ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले सो अवधिमा ७५ करोड ८२ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको निक्षेप ६३ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने कर्जा ५९ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको नाफासंगै प्रतिशेयर आम्दानी पनि घटेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैंया १६ पैसा छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १८ रुपैंया ८२ पैसा थियो । चालु आवको यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात भने १२.१९ गूणा बढी छ ।

चालु आर्थिक वर्षकोे चैतसम्ममा बैंकको खराब कर्जा केही बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा बैंकको खराब बर्जा १.८६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षकोे सोही अवधिमा २.७६ प्रतिशत पुगेको छ ।

चैतसम्ममा बैंकको आधार ब्याजदर पनि ९.८९ प्रतिशतमा झरेको छ । गत आर्थिक चैतसम्ममा बैंकको आधार ब्याजदर १०.६९ प्रतिशत रहेको थियो ।