स्प्रेड घटाएर पनि सानिमा बैंकले ३ प्रतिशतले नाफा बढायोे


चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा सानिमा बैंकको नाफा करिब ३ प्रतिशतले वढेको छ ।

यो अवधिमा निक्षेप तथा कर्जाको ब्याज अन्तर (स्प्रेड) घटाएर पनि बैंकले नाफा ४ करोड ३३ लाख रुपैयाँले बढाएको हो ।

बैंकले गत आर्थिक वर्षको चैतसम्मको तुलनामा चालु आर्थिक वर्षमा स्प्रेड घटाएको भएपनि नेपाल राष्ट्र बैंकले तोके भन्दा माथि नै छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको स्प्रेड दर ५.०८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चैतमा बैंकको स्प्रेड दर ५.६५ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले धेरै हो । बैंकले गत आर्थिक वर्षको चैतसम्ममा एक अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

तर, चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको सेयरधनीलाई वितरण गर्न योग्य नाफाको रुपमा ५७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको सो अवधिमा खुद ब्याज आम्दानी ११.०६ प्रतिशतले बढाएको छ भने फि तथा कमिसन आम्दानी भने २.३२ प्रतिशतले घटेको छ । बैंकको ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा देखिएको समान्य सुधारले खुद नाफामा उल्लेख्य प्रभाव पार्न नसकेको देखिन्छ ।

यस अवधिमा बैंकको कर्मचारी खर्च करिब ११.५२ प्रतिशत बढेपछि नाफा कम भएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले सो अवधिमा ५४ करोड २३ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको छ । चालु आवको चैतसम्ममा बैंकको निक्षेप एक खर्ब ८० करोड रुपैयाँ रहेको छ भने कर्जा ९२ अर्ब ११ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैंया ७७ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात भने १३.०८ गूणाले बढी छ ।

चालु आर्थिक वर्षकोे चैतसम्ममा बैंकको खराब कर्जा केही बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा बैंकको खराब बर्जा ०.१२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ०.३६ प्रतिशत पुगेको छ ।
चैतसम्ममा बैंकको आधार ब्याजदर पनि ९.२५ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको चैतमा बैंकको आधार ब्याजदर ९.३१ प्रतिशत रहेको थियो ।