‘भूकम्प र नाकाबन्दीले पढाएको पाठबाट लगानीकर्ता आशावादी हुनुपर्छ’ राधाकृष्ण गिरीको लेख


– राधा कृष्ण गिरी

छिमेकी मुलुक चीनबाट २०१९ को डिसेम्बरदेखि फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका २१५ मुलुकहरुमा फैलिरहेको छ । झण्डै ३ लाखले कोरोना संक्रमणका कारण ज्यान गुमाई सकेका छन् भने संक्रमितको संख्या ४२ लाख नाघिसकेको छ ।

संक्रमण तिब्र बन्दै गर्दा नियन्त्रणका लागि औषधि तथा खोप नहुँदा जोखिम नियन्त्रणका लागि अधिकांस मुलुकहरुले संक्रमणको जोखिम न्युनिकरणका लागि बन्दाबन्दीको सहारा लिइरहेका छन् । अनुकुलता अनुसार कतिपय मुलुकले लकडाउनको स्वरुप परिवर्तन गर्दै खुकुलो बनाउने क्रम सुरु गरिसकेका छन् ।

हामी पनि अहिले डेढ महिना लामो लकडाउनका बिचमा छौं । यसले महामारी नियन्त्रणमा निकै सहज अवस्था श्रृजना गरेको छ । अन्य मुलुकमा पनि यसरी नै महामारीको अवस्थालाई नियन्त्रण गरिएका समाचारहरु हामीले देख्न, सुन्न र पढ्न पाई रहेका छौं । यस क्रममा सरकारले आइतबारदेखि लकडाउनलाई केही खुकुलो गराए पछि चहलपहल बढेको छ ।

हामी र विश्वका अन्य मुलुकमा लकडाउनको समयमा देखिएको फरक विषय भनेको धितोपत्र बजार सञ्चालन गराउन नसक्नु हो । विश्वका सबैजसो मुलुकहरुले लकडाउनको समयमा पनि तरल सम्पत्तीको रुपमा रहेको धितोपत्र बजारलाई सुचारु राखे । तर हामीकहाँ त्यो अवस्था रहेन ।

यद्यपि विश्वका अन्य मुलुकमा लकडाउन को बेला पनि तरल सम्पत्तिको रुपमा रहेको धितोपत्र बजार निरन्तरता पायो तर हाम्रो देशमा अन्य क्षेत्र जस्तै शेयर बजार पनि बन्द भयो । पुर्ण प्रविधिका प्रयोग भएका देशमा यो सहज थियो । हाम्रो जस्तो सेमि अनलाइन र प्रविधिको पुर्ण प्रयोग नभएको धितोपत्र बजार खोल्ने कि नखोल्ने बिचमा बादबिबाद भयो पक्ष विपक्षमा बहस भयो र अन्तत बुधबारको मन्त्रीपरिषद बैठकबाट एक तिहाई कर्मचारी राखेर धितोपत्र कारोबार गराउने निर्णय भयो । सोही अनुसार आजबाट बजार खुल्दैछ । कुन मोडालिटीमा कसरी बजार सञ्चालन गर्ने भन्ने निश्चित भैसकेको छ ।

परिमार्जित बजार सञ्चालन प्रणालीका बिच अर्थतन्त्रको ऐना मानिने शेयर बजार अब कता जान्छ भन्ने कौतुहलता सबैमा छाएको छ । अन्य आर्थिक गतिविधि ठप्प हुदा शेयर बजार घट्छ भन्ने साधारण मान्यता रहेको भए पनि भुकम्प र नाकाबन्दी पछि नेपालको शेयर बजार अहिले सम्मकै उच्च बिन्दु १८८१ भन्दा माथिसम्म पुगेको थियो ।

लकडाउन कै बिच सञ्चालनमा रहेको भारतीय शेयर बजार ४३,००० बाट झरेर २४,००० विन्दुसम्म ओर्लिएको थियो । उक्त गिरावट सुधार हुने क्रममा अहिले ३६,००० विन्दुभन्दा माथि उक्लिसकेको अवस्था छ । अन्य देश हरुमा पनि लकडाउनको सुरुवाती चरणमा घटेको बजार पुन घटेको बिन्दु पूरा गर्ने बिन्दुमा फर्किसकेको देखिन्छ । हामी कहाँ पनि तथ्यांक केलाएर सबै कम्पनीको शेयर मूल्यमा आएको गिरावटले लकडाउनको पुर्व सन्ध्यामा बजार सूचकमा गिरावट आएको थियो । अब भने बजारले कस्तो गति लिन्छ भन्ने हेर्न बाँकी नै छ ।

शेयर बजारको ग्राफलाई मुख्य दुई कुराले निर्धारण गर्ने देखिन्छ । पहिलो व्याजदर (लगानीको लागत) र दोस्रो लगानीका अन्य क्षेत्रका अवसरहरु । बढ्दो ब्याजदर र लगानीका अन्य क्षेत्रमा सिर्जना भएको अवसरका कारण शेयर बजार परिसुचक नेप्से ११०० सम्मको बिन्दमा आइपुगेको थियो ।

व्याजदर घट्दो क्रममा हुँदा पुन फर्किएको बजार १६३२ अंकसम्म पुगेर अहिले १२५१ मा कारोबार स्थगन भएको अवस्था छ । बजार पूँजीकरण अहिले जम्मा १९ खर्बको हाराहारीमा छ । जुन कुल गार्हस्थ उत्पादन भन्दा १२ खर्बले थोरै हो । धितोपत्र बजारमा देशको कुल गार्हस्थ उत्पादनको हाराहारीमा बजार पूँजीकरण हुँदा सामान्य मानिन्छ ।

हाम्रो बजारको ७० प्रतिशतभन्दा धेरै हिस्सा बैंकिङ क्षेत्रले ओगटेको छ । दोस्रो त्रैमाससम्म राम्रो प्रगति बिवरण सार्वजनिक गरेका बैंकहरुको वासलात तेस्रो त्रैमासमा आइपुग्दा केही नकारात्मक देखिएका छन । यद्यपि सरकार र राष्ट्र बैंकको अनुरोधमा दिइएको सहुलियत को कारणले यस्तो अवस्था देखिएको हो । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको व्याज मिनाहा नहुने तर भाका सार्न सकिने भनाईबाट यो पुष्टि हुन्छ कि क्षतीको आँकलन थोरै हुनेछ ।

बैंकहरुले बचतमा र ऋणमा दुबै तिर व्याजदर घटाएका छन । लगानीका अन्य क्षेत्र खुम्चिएका छन । बैंकिङ क्षेत्रको निमायक निकाय राष्ट्र बैंकमा नै लामो समय बिताएका व्यक्ति अहिले गभर्नर छन् । गभर्नरले धितोपत्र बजारमा झण्डै १ करोड रुपैंया लगानी गरेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन । गभर्नरको धितोपत्र बजारको ९० प्रतिशत रकम बैकिङ क्षेत्रमा लगानी भएकाले जनतामा बजारप्रति झनै सकारात्मक तरंग सिजना भएको छ ।

केही बीमा कम्पनी को तेस्रो त्रैमासको वित्तीय विबरणलाई हेर्ने हो भने अपेक्षा भन्दा कम असर परेको देखिन्छ । शेयर बजार को अर्को हिस्सा जलविद्यत क्षेत्रमा कोरोना संक्रमणको असर खासै परेको छैन । माथिल्लो तामाकोसीको कामले निरन्तरता पाएको छ भने निर्माण भैरहेका जलविद्युत आयोजनामा पनि अवरोध हटेको अवस्था छ । निर्माण पुरा भएका आयोजनाहरुले नियमित रुपमा विद्युत उत्पादन गरेर बिक्री बितरण गरिरहेका छन् । अब सुख्खा मौसम सकिएको हुनाले ति जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन क्षमता बढ्न गई आम्दानी अझै बढ्ने समय सुरु भैसकेको छ ।

पर्यटन क्षेत्र कोरोना संक्रमणका कारण सबैभन्दा धेरै प्रभावित बनेको छ । तर हाम्रो पर्यटन प्रकृति र संस्कृतिमा आधारित भएको हुनाले राज्यले ध्यान दिएर अघि बढ्न सकेको खण्डमा चाँडै नै लयमा फर्कने छ ।

हाम्रो अर्थतन्त्र उपभोग र रेमिट्यान्समा आधारित छ । यहाँ ठुला उद्योग कलकारखाना सञ्चालनमा छैनन् जसमा परेको प्रचावले अर्थतन्त्र नै ध्वस्त हुने अवस्था बनोस् ।

रेमिट्यान्स घट्ने निश्चित छ । हाम्रो उपभोगको शैली परिवर्तन भएका छन् । १ पेट्रोलियम पदार्थको मूल्य घटेका कारण हाम्रो सोधानान्तर बचत मा असर गरेको छैन । सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका सवारी साधनको आयातमा रोक लगाएको अवस्थाले केही रकम बचत हुने देखिन्छ ।

अर्कातिर अध्ययनका लागि बाहिरिने ठूलो वैदेशिक मुद्रा बचत भएको छ । यो वर्षको लागि पर्याप्त वैदेशिक पूँजीको स्रोत अनुदान र ऋणबाट सुनिस्चित गरिने भएको छ ।

हामी बजेटको पुर्वसन्ध्यामा छौ, र अर्थमन्त्रीले चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तरखर गरिरहेका छन् ।

धितोपत्र बोर्डले शेयर बजारलाई सम्बोधन गर्न केही प्रस्तावहरु अघि सारेको अवस्था छ । यदि लाभकरका दरहरु अल्पकालीन र दीर्घकालीन लगानीको आधारमा छुट्याइएर सम्बोधन भयो भने बजार स्थायित्वको लागि वाताबरण सिर्जना हुने छ । कर कम हुँदा बचत रकमले पुन पूँजी सिर्जना गर्न सहयोग गर्ने छ ।

लकडाउनको बिच पनि केही विकासका आयोजनाले निरन्तरता पाएका छन । गत बर्षहरुमा पनि पूँजीगत खर्च जेठ र असारमा नै गरिँदै आएको अवस्थालाई हेर्दा यस पटक पनि खर्च हुने अवस्था देखिन्छ ।
त्यसैले कोरोनाको जति असर अर्थतन्त्रमा पर्ने सोच हामीले बनाएका छौं, त्यो भन्दा कम असर पर्नेछ । र देशको अर्थतन्त्र आफ्नै दिशामा अघि बढ्ने कुरामा दुईमत छैन । आगामी बजेटमा कोरोना अति प्रभावित क्षेत्र पहिचान गरेर त्यसको व्यबस्थापन गर्ने हो भने कोरोनाको असर नेपाली अर्थतन्त्रमा त्यति धेरै गहिरो देखिदैन र यो चाडै लयमा फर्कने छ ।

लकडाउनले हाम्रो पूँजी बजारका नियामक निकायलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको प्रयोग अपरिहार्य रहेकोमा घच्घच्याएको छ । सकेसम्म धेरैभन्दा धेरै प्रविधिको प्रयोग पूँजी बजारमा हुनु पर्ने टड्कारो आवश्यक्तालाई पनि लकडाउनले उजागर गरिदिएको छ ।

वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने वा नदिने भन्ने अध्ययन चाँडो पूरा गर्न संसदीय समितिलाई एक पटक सम्झाइएको अवस्था छ । विभिन्न कोण बाट हुने धितोपत्र सम्बन्धि छलफलले हाम्रो बजारलाई अझै परिपक्व बनाएको बुझ्न सकिन्छ ।

शेयर बजार वासलातले मात्र चल्दैन, न कि यो कुनै धर्का समातेर अघि बढ्छ । यसले हरेक सिदन नयाँ किसिमको सोच लगानीस्कर्तामा विकास गराउँछ । र हरेक वाताबरणले मनोबैज्ञानिक असर गर्छ भन्ने मान्यता पनि राख्दछ ।

अपेक्षा र आतंकको मनोवैज्ञानिक मैदान नै शेयर बजार हो भन्दा अनुपयुक्त नहोला । यो सधै आम अपेक्षाभन्दा फरक दिशामा अघि बड्द्छ । आज सम्म पनि विश्वका कुनै पनि देशमा बजार यसैगरी अघि बढ्छ भन्न सकिएको छैन । यद्यपि यसका पनि आधारभुत शिद्धान्त भने हुन्छन । त्यसै आधारमा लगानी गर्दा विभिन्न आयाम हेरेर लगानी गरांै । प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्दा भने जस्तै हामी लड्दै उठ्दै धुलो टक्टकाउँदै पुन अघि बढने छौं ।

– लगानीकर्ता गिरी अध्यापक पनि हुन् ।