एनआईसीको ब्याज आम्दानी २० करोडले बढ्दा साढे २२ करोडको नाफा वृद्धि कसरी सम्भव भयो ?

0
Shares

एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब २० करोड रुपैयाँले खुद ब्याज आम्दानी बढ्दा २२ करोड ६० लाख रुपैयाँले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकहरुको आम्दानीको मूख्य स्रोत भनेको ब्याज आम्दानी हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ३.७३ प्रतिशतले बढ्दा खुद नाफा करिब १० प्रतिशतले बढेको छ । यसले बैंकले उच्च दरको सेवा शुल्कमा बैंकिङ्ग व्यवसाय गर्दै आएको स्पष्ट हुन्छ । त्यसका साथै बैंकले नाफाका लागि गैर बैंकिङ्ग व्यवसायलाई पनि उत्तिकै महत्व दिएको देखिन्छ ।

बैंकले ३ देखि ४ प्रतिशतसम्मको कर्जा नविकरण शुल्क ग्राहकबाट असुल्ने गरेको गुनासाहरु नआएका होइनन् । बैंकको दोस्रो त्रैमासको नाफा र सो अवधिमा बैंकले गरेको फि तथा कमीसन आम्दानीलाई हेर्दा पनि बैंकले दिने बैंकिङ्ग सेवा महङ्गो दरको रहेको बैंकरहरु बीच नै चर्चा हुने गरेको छ ।

यसका साथै बैंकले ग्राहकलाई आफैँमा सीमित राख्नका लागि धितोको मूल्याङ्कन उच्च गर्ने गरेको तथा धितो मूल्याङ्कन मार्फत ग्राहकलाई अन्य बैंक वित्तीय संस्थाले दिने कर्जा भन्दा धेरै दिएपछि ऋणीले अन्य संस्थामा कर्जा सिफ्ट पनि गर्न नसक्ने अवस्था सृजना गरेर उच्च दरको सेवाशुल्क असुल गर्ने प्रवृत्ति बैंकको रहेको चर्चा आउने गरेको छ । अन्य बैंकको भन्दा फरक र महङ्गो बैंकिङ्ग सेवाले दीर्घकालीन नहुने विश्लेषण बैंकरहरुले गर्दै आएका छन्।

बैंकले चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा फि तथा कमिसन बापत एक अर्ब ८४ करोड ५० लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २९.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले खुद फि तथा कमिसनबाट एक अर्ब ४२ करोड ५५ लाख रुपैयाँ गरेको थियो ।

यसरी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा बैंकले २ अर्ब ५० करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.९२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चैतसम्ममा बैंकले २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैकिङ्ग क्षेत्रमा आक्रामक र अन्य २६ कमर्सियल बैंक भन्दा फरक बैंकिङ्ग व्यावसाय गर्दै आएको एनआइसीमा अन्य संस्थाको तुलनामा धेरै कर्मचारी भित्रिने र बाहिरिने संस्थाको रुपमा चिनिन्छ । कर्मचारीको स्थिरता नभएपनि बैंकको आर्जन गरेको नाफाले कार्यसम्पादनमा असर नपुगेको देखाउँछ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकको निक्षेप एक खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ भने कर्जा प्रवाह एक खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ५ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७३ प्रतिशतले मात्र धेरै हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १५ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६.२७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चैतसम्ममा बैंकले १४ अर्ब ५० करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । तर, बैंकले चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा ९ अर्ब ८९ करोड रुपैयाँ ब्याज खर्च गरेको छ भने गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ९ अर्ब १८ रुपैयाँ ब्याज खर्च गरेको थियो । यो अवधिमा बैंकको कर्मचारी तथा अन्य सञ्चालन खर्च बढेको छ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आम्दानी ३४.६८ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३४.७१ रुपैयाँ थियो ।