तेस्रो त्रैमासमा यस्तो देखियो निर्जीबन बीमा कम्पनीहरुको तुलनात्मक अवस्था

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १५ निर्जीबन बीमा कम्पनीहरुमध्ये हिमालयन जनरल इन्स्योरेन्सभन्दा बाहेक बाँकी १४ बीमा कम्पनीले चालु आर्थिक वर्षका तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।

नोटबजार डटकमले गरेको आठ शिषकहरुमा यी बीमा कम्पनीरुको तुलनात्मक विश्लेषण गर्दा मिश्रित प्रगति देखिएको छ। कुनैमा कुन कम्पनी अगाडि देखिएको छ भने अकोमा अर्को कम्पनीले अग्रता कायम गरेको भेटिएको छ। हेरौं कुनको अवस्था कस्तो छ त !

  • खुद नाफा ६ कम्पनीको घट्यो

वित्तीय विवरण सार्वजनिक गरेका १४ मध्ये ६ कम्पनीको खुद नाफा घटेको छ भने ८ कम्पनीले बढाएका छन्।

समग्रमा १४ कम्पनीको नाफा ०.२५ बिन्दुले बढेको छ। चालु आवको ९ महिना अवधिमा १४ कम्पनीले २ अर्ब ५९ करोड ८९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा सबैभन्दा धेरै ५३ करोड ४३ लाख नाफा कमाउँदा युनाइटेड इन्स्योरेन्सले सबैभन्दा कम ४ करोड २६ लाख खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा धेरै २३१ प्रतिशतले नाफा बढेर १३ करोड ३३ लाख मुनाफा कमाउँदा युनाइटेड इन्स्योरेन्सको ४३.५८ प्रतिशतले घटेर ४ करोड २६ लाखमा संकुचित भएको छ।

  • दश कम्पनीको इपिएसमा गिरावट

चालु आवको तेस्रो त्रैमासिक रिर्पोट अनुसार बाहेक सबै १३ कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (इपिएस) घटेको छ। यस अवधिमा युनाइटेड इन्स्योरेन्सको सबैभन्दा धेरै २७.७७ रुपैयाँ घटेर ५.५२ रुपैयाँमा झरेको छ । युनाइटेड सबैभन्दा कम नाफा आर्जन गर्ने कम्पनी समेत बनेको छ।

राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै २६७.२३ रुपैयाँले इपिएस बढेको छ भने प्रिमियर इन्स्योरेन्सको ४.९९ रुपैयाँ बढेर २३.६३ रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा निर्जीबन बीमा कम्पनीको औसत इपिएस ६.३९ रुपैयाँ घटेर ३७.५१ रुपैयाँ कायम भएको छ।

  • आठ कम्पनीको खुद बीमाशुल्क घट्यो, ७ अर्ब ३७ करोड संकलन

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा गत चैतको तुलनामा ८ कम्पनीको खुद बीमाशुल्क संकलन घटेको छ। यस अवधिमा ६ कम्पनीको मात्र बढेको वित्तीय विवरण सार्वजनिक भएको छ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क रकम ४२.४० प्रतिशतले घटेर १७ करोड ४७ लाख रुपैयाँमा झरेको छ। उता एनएलजी इन्स्योरेन्सले भने १६.८८ प्रतिशतले बढोत्तरी गर्दै ६२ करोड ६५ लाख रुपैयाँ संकलन गरेको छ।

शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम संकलन गरेको छ।

चालु आवको तेस्रोे त्रैमाससम्ममा निर्जीबन बीमा कम्पनीहरुले ७ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन्। जुन गत आवको यसै अवधिको तुलनामा २.०२ प्रतिशतले थोरै हो।

निर्जीबन बीमा कम्पनीहरुको औषत खुद बीमाशुल्क संकलन ५२ करोड ७० लाख रहेको छ। गत आवको यसै अवधिमा औषतमा ५१ करोड ६७ लाख रहेको थियो।

  • १७ अर्ब बढी कूल बीमाशुल्क आर्जन

चालु आवको ९ महिना अवधिमा १४ निजीबन बीमा कम्पनीले १७ अर्ब ७ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेका छन्। गत आवको यसै अवधिमा यस्तो संकलन १५ अर्ब ६६ करोड ९२ लाख रहेकोमा ८.९७ प्रतिशतले वृद्धि भएको हो।

यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब ६० करोड ९ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ भने युनाइटेड इन्स्योरेन्सले सबैभन्दा कम ५१ करोड २१ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा अवधिमा प्रुडेन्सियल इन्स्योेन्सको कूल बीमाशुल्क आजन रकम १२.३९ प्रतिशतले घट्दा प्रभु इन्स्योरेन्सको ७०.६७ प्रतिशतले वृद्धि भएको छ।

यस अवधिमा लुम्बिनी जनरल, राष्ट्रिय बीमा कम्पनी र प्रुडेन्सियल इन्स्योेन्स बाहेक सबैको कूल बीमाशुल्क बढेको छ। निर्जीबन बीमा कम्पनीहरुको औषत कूल बीमाशुल्क रकम १ अर्ब २१ करोड ९५ लाख रहेको छ।

  • बीमा कोषको आकार १० अर्ब माथि

यस अवधिमा १४ कम्पनीको बीमा कोष १० अर्ब ८ करोड ३६ लाख पुगेको छ। गत आवको यसै अवधिमा ८ अर्ब २६ करोड ७६ लाख रहेकोमा २१.९७ प्रतिशतले बढोत्तरी भएको हो।

राष्ट्रिय बीमा कम्पनीको बीमाकोष सबैभन्दा मजबुत छ भने एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा कमजोर रहेको छ। चैत मसान्तसम्ममा आरबिसीएलले २ अर्ब १९ करोड ७९ लाख रुपैयाँ बीमा कोषमा सञ्तित राखेको छ भने एभरेष्टको २९ करोड ३९ लाख बराबरको रहेको छ।

सबै कम्पनीले बीमा कोषको अकार वृद्धि गरेकोमा नेपाल इन्स्योरेन्सको भने सबैभन्दा धेरै ४०.२५ प्रतिशतले बढेर ३६ करोड ४७ लाख पुगेको हो।

निर्जीबन बीमा कम्पनीहरुको औषत बीमाकोषको आकार ७२ करोड २ लाख रहेको छ।

  • दश कम्पनीले बढाए चुक्ता पूँजी, दुईको तोकिएको पूँजी पुगेन

समीक्षा अवधिमा दश कम्पनीले आफ्नो चुक्ता पूँजी वृद्धि गरेका छन्। एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशतले पूँजीवद्धि गरेको छ भने पाँच कम्पनीको पूँजी स्थिर रहेको छ।

यस अवधिमा शिखर इन्स्योरेन्स कम्पनीकोसबैभन्दा बढी १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ पूँजी पुगेको छ भने राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा कम २६ करोड ६६ लाख रुपैयाँ रहेको छ।

बीमा समितिले निर्जीबन बीमा कम्पनीलाई न्यूनतम १ अर्ब पूँजी कायम गर्न निर्देशन दिएपनि राष्ट्रिय बीमा कम्पनी र एनएलजीको पूँजी पुगेको छैन। यद्यपी एनएलजीले पूँजी पुर्याउन ६० प्रतिशत हकप्रद जारी गरिसकेका भएपनि लकडाउनका कारण निष्काशन बन्द भने गरिसकेको छैन।

निर्जीबन बीमा कम्पनीहरुको कूल पूँजी ३१.३३ प्रतिशतले बढेर १५ अब १३ करोड ११ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

  • चौध कम्पनीको जगेडा कोषमा ६ अर्ब ७४ करोड, आरबिसिएलको मात्रै करिब तीन अर्ब

चालु आवको वित्तीय विवरण प्रकाशनमा ल्याएका १४ कम्पनीको जगेडा कोषको आकार २.०८ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड १८ लाख ८२ हजार रुपैयाँ पुगेको छ। जसमा राष्ट्रिय बीमा कम्पनीको मात्रै २ अर्ब ९१ करोड बढी रहेको छ।

युनाइटेड इन्स्योरेन्सको जगेडा कोष सबैभन्दा कमजोर रहेको छ। उसको जगेडा कोष ३९ प्रतिशतले बढ्दा पनि ११ करोड ४४ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा ८६ प्रतिशत बोनस वितरण गरेको प्रिमियर इन्स्योरेन्सको जगेडा कोषको आकार ५९.३८ प्रतिशतले घटेर २६ करोड ७ लाखमा झरेको छ। उता एभरेष्ट इन्स्योरेन्सको जगेडा कोष सबैभन्दा ५८.८४ प्रतिशत बढेर २० करोड ७८ लाख २९ हजार पुगेको छ।

निजीर्बबन बीमा कम्पनीको औषत जेडाकोषको अकार ४८ करोड १५ लाख बराबरको रहेको छ। जहाँ गत आवको चैतको तुलनामा चालु आवको यसै अवधिमा ५.८७ प्रतिशतले बढोत्तररी भएको छ।

  • प्रतिशेयर नेटवर्थमा राष्ट्रिय बीमा कम्पनी अगाडि, युनाइटेड पुछारमा

यस अवधिमा राष्ट्रिय बीमा कम्पनी १ हजार १९३.७१ रुपैयाँ सहित प्रतिशेयर नेटवर्थमा सबैभन्दा अगाडि रहेको छ भने युनाइटेड इन्स्योरेन्स १११.१३ रुपैयाँ सहित सबैभन्दा अन्तिममा रहेको छ।

यस अवधिमा सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ ९५.५८ रुपैयाँले घटेर १३४.४३ रुपैयाँमा झरेको छ। उता राष्ट्रिय बीमा कम्पनीको २०७.४७ रुपैयाँले बढेको छ।

समीक्षा अवधिमा ९ कम्पनीको प्रतिशेयर नेटवर्थ घटेको छ भने पाँच कम्पनीको बढेको छ। औषमा निर्जीबन बीमा कम्पनीहरुको प्रतिशेयर नेटवर्थ २०३.७४ रुपैयाँ रहेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ०.४१ रुपैयाँ कम हो।

(स्पष्टिकरण: हिमालयन जनरल इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक नगरेका कारण सो कम्पनीको वित्तीय विवरण पश्चात भने निर्जीबन बीमा कम्पनीहरुको कूल र औषत अवस्थामा माथिको तथ्याङ्कहरुमा कम्पनीको घटबढले पार्नसक्ने प्रभावसम्मको हेरफेर हुनेछ। तर अन्य १४ कम्पनीको एक वर्षबीचको तुलनात्मक विवरणमा भने कुनै परिवर्तन हुँदैन)