कोरोनाले रेमिट्यान्स आप्रवाहमा धक्का: चैत महिनामा ४ प्रतिशतले घट्यो

0
Shares

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत्रमा कोभिड १९ को असरले रेमिटेयान्स आप्रवाहमा धक्का लागेको छ। केन्द्रीय बैंकका अनुसार चैत महिनामा विप्रेषण आप्रवाहदर ४ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको ९ महिनासम्ममा नेपालमा कूल ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आवको यसै अवधिको तुलनामा ४ प्रतिशत कम हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको चैतसम्ममा नेपालमा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो ।

फागुनमा ७९ अर्ब २० करोड रेमिट्यान्स भित्रिएकोमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै रेमिट्यान्स भित्रिएको हो। चालु आवको ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको थियो। यस हिसाबले हेर्दा चैतमा करिब ५५ प्रतिशतको गिरावट आएको हो।

चालु आवको ९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

चैतसम्ममा अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई ७१३ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । गत आवको चैतसम्ममा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो ।