जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासमा कस्तो गरे प्रगति ?

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सूचीकृत ७ जीबन बीमा कम्पनीमध्ये प्राइम लाईफ इन्स्योरेन्स बाहेकका ६ वटा कम्पनीले चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

जसमध्ये प्रतिशेयर आम्दानी बाहेक अन्य सातवटै सूचकहरुमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले अन्य कम्पनीहरुलाई पछाडि छाड्दै अग्रता कायम गरेको छ भने गुँरास लाईफ र सूर्या लाईफ इन्स्योरेन्स सबैभन्दा पछाडि परेका छन्।

नेपाल लाईफ चुक्ता पूँजी, खुद नाफा, प्रतिशेयर नेटवर्थ, जगेडा कोष, जीबन बीमा कोष, खुद बीमशुल्क संकलन र कूल बीमाशुल्क संकलन सबैमा सबैभन्दा अगाडि रहेको छ। प्रतिशेयर आम्दानीमा भने नेशनल लाईफ सबैभन्दा माथि रहेको छ।

  • ६ कम्पनीले ९ महिनामा कमाए १ अर्ब २९ करोड नाफा

यस अवधिमा सूचीकृत ६ वटा कम्पनीले चालु आवको ९ महिना अर्थात चैत मसान्तसम्ममा १ अर्ब २९ करोड १९ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

जसमा नेपाल लाईफले सबैभन्दा धेरै ४६ करोड ७५ लाख खुद नफा कमाएको छ भने गुँरास लाईफको सबैभन्दा कम ८ करोड ३७ लाखमात्र रहेको छ।

  • गुँरास लाईफ बाहेक सबैले कायम गरे चुक्ता पूँजी

यसैगरि चैतसम्ममा गुँरास लाईफ इन्स्योरेन्स बाहेक अन्य ५ कम्पनीले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पूँजी कायम गरेका छन्।

यी कम्पनीको कूल चुक्ता पूँजी १५ अर्ब ६९ करोड ३२ लाख ६ हजार रुपैयाँ रहेको छ। जसमध्ये नेपाल लाईफको मात्रै साढे ५ अर्ब रहेको छ। गुँरास लाईफको सबैभन्दा कम ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ।

  • नेशनल लाईफ इपिएसमा अगाडि

यस अवधिमा नेशनल लाईफ इन्स्योरेन्सले सबैभन्दा धेरै १३.६५ रुपैयाँ प्रतिशेयर आम्दानी (इपिएस) कायम गरेको छ। चुक्ता पूँजीका आधार दोस्रो ठूलो अथात ३ अर्ब माथि पूँजी रहेको कम्पनीले इपिएसमा सबैलाई उछिनेको हो।

यस अवधिमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सबैभन्दा कम ७.१४ रुपैयाँ इपिएस रहेको छ।

  • प्रतिशेयर नेटवर्थमा पनि नेपाल लाईफ अब्बल

यस अवधिमा नेपाल लाईफको प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै १४९.७१ रुपैयाँ रहेको छ। एशियन लाईफको सबैभन्दा कम १२४.६६ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको छ।

  • जगेडा कोषको आकार साढे ५ अर्ब

यस अवधिमा ६ कम्पनीले ५ अर्ब ४६ करोड ३२ लाख बराबरको जगेडा कोष कायम गरेका छन्। जसमध्ये नेपाल लाईफको मात्रै २ अर्ब ७३ करोडको रहेको छ भने गुँरास लाईफको सबैभन्दा कम ३६ करोड ७३ लाख रहेको छ।

  • जीबन बीमा कोषको आकार २ खर्ब १० अर्ब माथि

यस अवधिमा ६ कम्पनीले २ खर्ब १० अर्ब ४७ करोड ३७ लाख रुपैयाँ बराबरको जीबन कोषको आकार कायम गरेका छन्।  जसमध्ये नेपाल लाईफको मात्रै ८१ अर्ब ३७ करोड बढीको छ भने सूर्या लाईफ इन्स्योरेन्सको सबैभन्दा कम ६ अर्ब ६४ करोड मात्र रहेको छ।

  • खुद र कूल प्रिमियम संकलनमा नेपाल लाईफ अगाडि

समीक्षा अवधिमा नेपाल लाईफ खुद र कूल प्रिमियम संकलन दुबैमा अगाडि रहेको छ। कम्पनीले यस अवधिमा १८ अर्ब ४१ करोड बढी खुद बीमाशुल्क आर्जन गर्दा कम्पनीको कूल बीमाशुल्क १ खर्ब १० अर्ब ३७ करोड बढी रहेको छ।

सबैभन्दा कम खुद बीमाशुल्क संकलन गरेको गुरास लाईफले १ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ संकलन गरेको छ भने कूल बीमा शुल्क संकलनमा सूर्या लाईफ इन्स्योरेन्स सबैभन्दा पुछारमा रहेको छ। यस अवधिमा सूर्या लाईफले १ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

चालु आवको ९ महिना अवधिमा वित्तीय विवरण सार्वजनिक गरेको ६ कम्पनीहरुले ४० अर्ब ६१ करोड ९३ लाख बढी खुद बीमाशुल्क संकलन गर्दा कूल बीमाशुल्कको आकार १ खर्ब ४० अर्ब ५५ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

 

(नोट:सूचीकृत जीबन बीमा कम्पनीहरुमध्ये प्राइम लाईफ इन्स्योरेन्सले हालसम्म पनि वित्तीय विवरण प्रकाशन नगरेकाले सो कम्पनी बाहेकका कम्पनीहरुको तथ्याङ्कलाई मात्र समाचारमा प्रस्तुत गरिएको छ।)