पुनरकर्जा सुविधा साना तथा मझौला उद्योग केन्द्रित हुने

0
Shares

नेपाल राष्ट्र बैंकले आगामी दिनमा कृषि, साना तथा मझौला उद्योगका लागि केन्द्रित गरेर पुनरकर्जा सुविधा उपलब्ध गराउने भएको छ ।

केन्द्रीय बैंकले मंगलबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै आगामी दिनमा पुनरकर्जाको प्राथमिकतामा कृषि, साना तथा मझौला उद्योग पर्ने जनाएको हो । यस व्यवस्थाले कोरोनाका कारण अस्तित्वमाथि नै संकट उत्पन्न भएका साना तथा मझौला व्यवसायमा संलग्न उद्योगीहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जा सुविधालाई प्रभावकारी बनाउन पुनरकर्जा कार्यविधि जारी गरि त्यसको आकार समेत बढाएको छ । हाल पुनरकर्जा कोषको सीमा वृद्धि गरी ६० अर्ब रुपायाँ पु¥याइएको छ ।

चालु आर्थिक वर्षको २०७६ चैत मसान्तसम्म कुल १८ अर्ब ३१ करोड पुनरकर्जा लगानीमा रहेको केन्द्रीय बैंकले जनाएको छ । यो तथ्याङ्क अनुसार पुनरकर्जा कोषमा अझै पनि ४१ अर्ब ६९ करोड रुपैयाँ लगानीका लागि उपलब्ध रहेको देखिन्छ ।

केन्द्रीय बैंकले मौद्रित नीतिको समीक्षा मार्फत कृषि व्यवसाय, लघु, साना तथा मझौला उद्योग लगायतका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुनेगरी सहज रुपमा पुनरकर्जा सुविधा उपलव्ध हुने व्यवस्था मिलाइने जनाएको छ ।

आन्तरिक तथा वाह्य क्षेत्र स्थायित्व कायम राख्न प्राथमिकता प्राप्त क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, रोजगारी सिर्जना एवम् उद्यमशीलता विकास तर्फ वित्तीय साधन प्रोत्साहित गरी आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड दिइनेछ ।

कोभिड-१९ महामारीले पार्न सक्ने थप प्रभावलाई समेत ध्यानमा राखी अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटसँग सामञ्जस्यता कायम हुने गरी वार्षिक मौद्रिक नीति तर्जुमा गरिने समेत समीक्षामा उल्लेख छ ।

कोभिड—१९ संक्रमण पछि अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरण गर्न राष्ट्र बैंकले चालेका नीतिगत कदमहरुका कारण तरलता स्थिति सहज रहनेर कर्जाको ब्याजदरमा कमी आउने समेत उसको दाबी छ ।

FACEBOOK मा हामीलाई यहाँबाट पछ्याउनु होस् । TWITTER मा पनि नोटबजारको अपडेट नियमित रुपमा पाउन फलो गर्नुहोस् ।