कियाले निरो कार बुकिङ गरेकालाई लकडाउन खुले लगत्तै डेलिभरी दिने


नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेकाहरुले लकडाउन खुले पछि कार पाउने भएका छन् । किया मोटर्सका अनुसार बुकिङ गरेकाहरुले लकडाउन खुलेलगत्तै एसयुभी सेगमेन्टको उक्त कार चलाउन पाउने भएका हुन् ।

नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ ।

उक्त गाडीको कन्साइनमेन्ट (खेप) कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेको जनाउँदै कन्टिनेन्टल ट्रेडिङले लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने जनाएको छ । सोही अनुसार बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्ने बित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको हो ।

एकपटकको पुरा चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयुभीलाई नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेका छन् । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ ।

डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयुभीमा पर्नेछ । निरो सन् २०२० को पहिलो त्रैमासबाट एसियाली बजारमा बिक्री सुरु गर्ने निर्माता कम्तीको योजना अनुरुप नेपाल आउन लागेको हो ।