सञ्चालकका बीचमा कर्मचारी व्यवस्थापनको विवाद तीब्र हुँदा मेरो टिभिले निष्काशन गर्यो २०० कर्मचारी


कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितीमा व्यवसायिक प्रतिष्ठानहरुबाट ठुलो संख्यामा कर्मचारी कटौती हुने क्रम तीब्र भएको छ ।

रोजगारदाता परिषदका सभापति एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आईएमई मोटर्सका ५०० कर्मचारीलाई बेतलबी बिदा दिएको केही दिन बित्न नपाउँदै मेरो टिभिबाट झण्डै २ सय कर्मचारी कटौतीको शिकार भएका छन् ।

मेरो टिभि सञ्चालन गरेको डिभाइन स्ट्रिम नेटवर्क प्रालिले चैत १३ गते एकाएक झण्डै २०० जना कर्मचारीलाई अलग अलग रुपमा विद्युतीय माध्यमबाट पत्र थमाउँदै सेवाबाट निष्काशन गरिएको जानकारी गराएको छ । जेठ १३ गते विद्युतीय माध्यमबाट निष्काशन गरिएको पत्रमा गत बैशाख ४ गतेको मिति राखिएको र जेठ ९ गतेदेखि निर्णय कार्यान्वायन हुने व्यहोरा उल्लेख छ । योसँगै कर्मचारीहरुले आन्दोलन गर्दै कानुनी उपचारमा जाने बताएका छन् ।

उता डिभाइन स्ट्रिम नेटवर्कका सञ्चालकले व्याक डेटमा पत्र नकाटिएको दाबी गर्दै गर्दा प्रबन्ध निर्देशकले भने कोही पनि कर्मचारीलाई असहज अवस्था आउन नदिने भन्दै न्यनुतम आधार दिने प्रतिबद्धता जनाएका छन् ।

निष्काशनमा परेका एक कर्मचारीले नोटबजारसँग कुरा गर्दै भने, जेठ १२ गतेसाँझसम्म कम्पनीले कर्मचारी कटौती गर्दैछ भन्ने केही जानकारी नै थिएन । १३ गते बिहानको समयमा ५ जना निष्काशन गर्न लागेको हल्ला चल्यो । त्यसको एक छिन पछि अरु ९ जनाको नाम सुनियो । त्यसको केही बेरमा ५० जना कर्मचारी निष्काशनमा परेको खबर सार्वजनिक भयो । अन्त्यमा आफ्नो हातमा पनि निष्काशनको पत्र पाउँदै गर्दा थाहा भयो, म सहित झण्डै २०० जनालाई बिदा गरिएको रहेछ । त्यो पनि बैशाख ४ गतेको मिति मिति राखेर ।’

नोटबजारसँग कुरा गर्दै डिभाइन स्ट्रिम नेटवर्कका सञ्चालक दिपक कुईकेलले बैशाखमा नै कर्मचारीहरु निष्काशन गर्ने निर्णय भएको दाबी गरे । उक्त निर्णय किन कर्मचारीलाई समयमा नै जानकारी गराउनु भएन भन्ने नोटबजारको प्रश्नमा कुईकेलले भने, ‘सम्पर्क गर्न प्रयास गरिएको हो । लकडाउनले कार्यालय नआएको अवस्थामा उनीहरुसँग सम्पर्क हुन सकेन ।

तपाईको कार्यालयका कर्मचारीहरुको मोबाइल नम्बर तपाईसँग थिएन र निष्काशन जस्तो महत्वपुर्ण विषय जानकारी गराउन सक्नु भएन ? भन्ने प्रश्नमा उनले कसैसँग मोबाइलमा सम्पर्क हुन नसकेको भन्दै आफुहरुले गरेको निर्णय सही भएको र व्याक डेटको पत्र काटिएको भन्ने कर्मचारीको आरोप गलत भएको दाबी गरे । सम्पर्कमा आएका कर्मचारीहरुले कार्यालयमा आएर नियमित रुपमा काम गरिरहेको उनको भनाई थियो ।

झण्डै ५०० हाराहारीमा कर्मचारी रहेको डिभाइन स्ट्रिम नेटवर्क प्रालिले श्रम ऐन २०७४ ले गरेको व्यवस्था विपरित कर्मचारीलाई जानकारी नै नदिई निष्काशन गरेको कर्मचारीहरुको गुनासो छ । ‘बैशाख ४ गते पत्र काटिएको थियो भने एक महिनाभन्दा लामो समयसम्म किन त्यसलाई गुपचुप राखियो ? कानुनी रुपमा बलियो देखाउन व्याक डेटको पत्र बनाएर थमाइएको छ, यसको हामी प्रतिकार गर्दै कानुनी उपचारमा जान्छौं’ अर्का एक कर्मचारीले नोटबजारलाई बताए ।

अर्का एक निष्काशित कर्मचारीले भने, ‘निष्काशन मिति लागू भएको ५ दिन पछि मात्र कर्मचारीलाई जेठ १३ गते निष्काशन गरिएको पत्र थमाइएको छ । जबकी उक्त पत्र काटिएको मिति भने बैशाख ४ गतेको छ । यो सरासर गलत छ ।’

उता डिभाइन स्ट्रिम नेटवर्कका प्रबन्ध निर्देशक प्रकाश घिमिरेले भने कर्मचारीहरुलाई निष्काशन गरिएको भन्ने पत्र थमाइएको भए पनि असहज अवस्था आउन नदिने भन्दै सबै कर्मचारीलाई बिचलित नहुन आग्रह गरे । कोही पनि कर्मचारी बहिर्गमनमा पर्नु नपर्ने भन्दै कम्पनीले असहज परिस्थितीमा कसै माथि पनि अन्याय नगर्ने उनले प्रष्ट पारे । कम्पनीका अध्यक्ष होम पाण्डेसँग कर्मचारीको विषयलाई लिएर निरन्तर संवाद भैरहेको बताउँदै घिमिरेले कर्मचारीलाई यथास्थितीमा फर्काउन पहल भइरहेको बताए ।

कम्पनीका सञ्चालक कुईकेल र प्रबन्ध निर्देशक घिमिरेको भनाईलाई आधार मान्ने हो भने कम्पनीमा कर्मचारी व्यवस्थापनको विषयलाई लिएर दुई अलग धारमा व्यवस्थापन तथा सञ्चालकहरुका बिचमा तिब्र विबाद चलिरहेको प्रष्ट हुन्छ । दिपक कुइकेल पक्ष जसरी पनि कर्मचारीलाई निकाल्ने पक्षमा रहेको देखिन्छ भने अर्को पक्ष कर्मचारीलाई समस्यामा पर्न नहुने पक्षमा रहेको देखिन्छ । सञ्चालकका बिचमा देखिएको यो फरक मतका बिच समयमा नै कर्मचारी व्यवस्थापनमा सञ्चालकहरु एकजुट हुन नसकेको खण्डमा समस्या झनै बढेर जाने देखिन्छ ।

कर्मचारी निष्काशन गर्दा १ महिना पहिले नै जानकारी दिनु पर्ने कानुनी व्यवस्था भए पनि त्यस्तो नगरी कागजी प्रकृयामा मात्र १ महिना पहिले निर्णय भएको जस्तो देखाइएको भन्दै कर्मचारीहरुले भने आक्रोस व्यक्त गरेका छन् ।

‘आफूहरुलाई पत्र पाउने समयसम्म कार्यालयमा के भैरहेको छ भन्ने पत्तै भएन, यस्तो अवस्थामा एक महिना पहिले नै निष्काशनमा परिँदैछ भन्ने थाहा पाउनु त धेरै परको कुरा भयो, यसले नीति नियमभन्दा बाहिर गएर मेरो टिभिले असहज परिस्थितीमा हामीलाई अलपत्र पार्ने काम गरेको छ । यो न्यायोचित छैन’ एक कर्मचारीले भने ।

अचानक आएको निर्णयसँगै हिगर्मनमा परेका सबै कर्मचारीले एक जुट भएर धुम्बाराही स्थित मेरो टिभिको कार्यालयमा शान्तीपुर्वक धर्ना दिने र कानुनी उपचारमा जाने निर्णय गरेको उनले बताए । अर्का एक कर्मचारीले भने ‘पहिले नै जानकारी गराएर विधि विधान अनुसार कम्पनी अघि बढेको भए सायद कुरा अर्कै हुन्थ्यो । तर हामीलाई सामान्य ज्यालादारी कामदारलाई गर्ने व्यवहारभन्दा पनि असमान्य व्यवहार गरिएको छ । यसको नतिजा कम्पनीले भोग्नु पर्छ’ आक्रेसित मुद्रामा ति कर्मचारीले भने ।

‘हामीले ८ महिनादेखि नियमित तलब–भत्ता र अन्य सुविधा पाएका छैनौं, लकडाउनका बेला अचानक निष्कासनको पत्र पठाएर कम्पनीले असहज अवस्थामा हाम्रो बाँच्ने अधिकार कुण्ठित गरेको छ । हामी श्रम अदालत जाँन्छौं’ ती कर्मचारीले भने ।

डिभाइन स्ट्रिम नेटवर्कका अध्यक्ष होम पाण्डेले हस्ताक्षर गरी कर्मचारीलाई थमाइएको पत्रमा लकडाउनका कारण सम्पूर्ण व्यापार एवं कारोबार ठप्प रहेकोले कम्पनीका कार्यरत कर्मचारी समेत सेवामा आउन नसकेको, अधिकांश कर्पोरेट ग्राहकले सेवा लिन अस्वीकार गरेको, कम्पनीबाट सञ्चालनमा रहेका अधिकांस सम्पर्क कार्यालय बन्द भएको, ग्राहकबाट रकम नउठेको आदि कारणबाट कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भइ कर्मचारीको तलब खुवाउन नसकेको उल्लेख छ । दुई वटा प्रतिष्ठानहरु (मेरो टिभी र स्काइ टिभी) गाभिएकाले ‘ओभर स्टाफ’ भएको कारण जनाउँदै कम्पनी सञ्चालक समितिले कर्मचारी कटौती गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ ।

स्काइ डिजिटल टिभी समेत आफूमा गाभेर ठूलो नेटवर्क बनाएको डिभाइन स्ट्रिम नेटवर्कका सञ्चालकहरूले केही समय अघि वेबसर्फरको स्वामित्वसमेत आफूमा लिएका छन् ।