सरकारको आम्दानी र खर्चमा पारदर्शिता रहेको महालेखा नियन्त्रकको दाबी

0
Shares

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च व्यवस्थापनका विषयमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयसँग अन्तरक्रिया गरेको छ ।

सार्वजनिक खर्चलाई कसरी व्यवस्थित, पारदर्शि बनाउने र हालको अवस्थाका विषयमा भएको उक्त छलफलमा महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनाली, पुर्व महालेखा नियन्त्रक सुरेश प्रधान, पेफा सचिवालयका संयोजक रमेश प्रसाद शिवाकोटीसहित आर्थिक पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा महालेखा नियन्त्रक मैनालीले सार्वजनिक खर्च र आम्दानी गर्दा कर्मचारीले विवेकसिल मन प्रयोग गर्नुपर्ने बताए । सार्वजनिक खर्च र आम्दानीमा पारदर्शिता रहेको दाबी गर्दै उनले पहिलो गोपनियतालाई प्राथमिकता दिने गरेकोमा अहिले पारदर्शितालाई प्राथमिकता दिने गरिएको बताए । खर्च भएपनि पारदर्शि रुपमा भएन भन्ने गुनासो सधै आउने गरेको भन्दै उनले पछिल्ला दिनमा पारदर्शितामा निकै सुधार आएको जिकिर गरे । “पारदर्शी छौं, पारदर्शितामा कमजोर छैनौं” उनले भने ।

उनले विकास खर्चको समीक्षा प्रणाली रहेको भन्दै उनले भुक्तानी प्रक्रियामा पनि कुनै समस्या नरहेको बताए । अनलाइनमार्फत समेत भुक्तानी प्रक्रिया सुरु भईसकेको उनले बताए ।