कोरोना बीमालेखको आजदेखि बिक्री बन्द

0
Shares

बीमा कम्पनीहरुको नियामक निकायले कोभिड बीमा तत्कालका लागि स्थगन गर्ने निर्णय गरेसँगै शुक्रबारदेखि गत बैशाख ७ गतेदेखि चालु रहेको कोभिड १९ को बीमालेखको बिक्री बन्द भएको छ।

यसअघि नेपाल बीमक संघले मुलुकमा कोरोना संक्रमितहरुको सुंख्या ह्वात्तै बढ्न थालेपछि कम्पनीहरु भार थेग्न नसक्ने अवस्था पुगेको भन्दै बुधबार पोलेसी स्थगित गर्ने सर्वसम्मत निर्णय गर्दै बीमा समितिलाइ लिखित पत्र पठाएको थियो।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले सरोकारवालहरुसँगको छलफल पश्चात तत्कालका लागि योजना स्थगन गरिएको बताए। सरकारले पनि कोभीड १९ को बीमा पोलिसी ल्याउने तयारी गरेको अवस्थामा एउटै प्रकृतिका २ वटा पोलिसी हुन सक्ने भएकाले त्यसको छलफलका लागि पनि स्थागन गरेको उनको भनाइ छ ।

आगामी दिनमा सरकारले ल्याएको वा समितिले ल्याउने जुन भएपनि सरकारका लागि काम गर्ने भएकाले एउटै हुने गरी आउने उनले बताए । त्यसका साथै रिइन्स्योरेन्स कम्पनीहरुसंग समेत कुरा भैरहेको हुनाले अहिलेको पोलिसीको मोडालिटीलाइ केही सुधार गर्नु पर्ने भएकाले पनि तत्कालका लागि स्थगन गरीएको उनको भनाइ छ ।

यद्यपी बीमा समिति र बिमक संघले पोलेसी जारी गर्दाएको समयमा नै जोखिम विश्लेषण र प्रयाप्त अध्ययन, अनुसन्धान बिना नै पोलेसी जारी गरेकाले सुरुवातको दुई महिना अगावै सो पोलेसी बन्द हुने अवस्था सिर्जना भएको बताइन्छ।

कोभिड १९ बीमालेख जारी गर्दा नेपालमा जम्मा १६ संक्रमित रहेकोमा बिहीबारसम्म सो संख्या बढेर २ हजार ६३४ पुगिसकेको छ ।

न्यून बीमाशुल्कमा थालिएको कारण संक्रमितको संख्या बढ्दै गएको हुँदा भविष्यमा कम्पनीहरुले दाबीको भार थेग्न नसक्ने आंकलन गरिएको छ। कोरोना बीमा अन्तर्गत प्रतिव्यक्ति ३०० मा ५० हजार रुपैयाँको र ६०० मा १ लाख रुपैयाँको गरी २ प्रकारको बीमालेख खरीद गर्न सकिने व्यवस्था छ।

कोरोना बीमा पोलेसीमा अन्तर्गत बीमित पीसीआर रिर्पोटमा कोरोना पोजेटिभ हुने बित्तिकै बीमा दाबी गर्ने पाउने व्यवस्थाले कम्पनीहरुलाई धान्न गाह्रो भएको बताइन्छ।

नेपालमा गत बैशाख ७ गतेदेखि निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी लघु बीमा पुलमार्फत पोलिसी सञ्चालन गरिएको गरिएको थियो। कोरोना बीमा लेखको विदेशी बीमा कम्पनीहरुले रि इन्स्योसको सम्झौता हालसम्म गरेका छैनन् ।

हालसम्म २० निर्जीबन बीमा कम्पनीहरुले करिब २५ हजार पोलेसी बिक्री गरेर ३ लाख व्यक्तिको कोरोना बीमा गरिसकेका छन्। जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६ हजार बीमालेखबाट ५७ हजारको बीमा गर्दा ३ करोड १६ लाख बीमाशुल्क संकलन गरेको छ।