देशको आर्थिक वृद्धि तथा विकास गर्न पूँजी बजारको महत्त्वपूर्ण भूमिका- प्रधानमन्त्री

0
Shares

नेपालमा पुँजी बजारको विकास तथा विस्तार गर्ने उद्देश्यले नियमक निकायको रूपमा स्थापना भएको नेपाल धितोपत्र बोर्डले आफ्नो सेवाको २७ औं वर्ष पूरा गरी २८ वर्ष प्रवेश गरेको अवसरमा बोर्डलाई शुभकामना दिन चाहन्छु।

आन्तरिक तथा बाह्य पुँजी न्यून लागतमा उत्पादनशील क्षेत्रतर्फ परिचालन गरी देशको आर्थिक वृद्धि तथा विकास गर्न पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने गर्दछ।

आर्थिक वृद्धिका लागि सर्वसाधारणको बचत परिचालन, संगठित क्षेत्रको विकास, पुँजी बजारमा ससथागत सुशासन, वित्तीय साक्षरता अभिवृद्धि, लगानीलाई तरलता प्रदान गर्ने प्रभावकारी संयन्त्रको व्यवस्था गर्दै स्वच्छ, पारदर्शी एवं विश्वसनीय पुँजी बजारको विकास तथा विस्तारमा बोर्डको भूमिका महत्त्वपूर्ण रहने गरेको छ।

नेपालको पानी जनताको लगानी भन्ने राष्ट्रिय नारा सहित सञ्चालनमा आएका जलविद्युत आयोजनाहरूका शेयर स्वामित्वमा सर्वसाधरणको सहभागिता प्रवर्द्धन हुँदै आएको छ। यस क्रममा समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय पूरा गर्न दीर्घकालीन लक्ष्य प्राप्तिका लागि बोर्डले सहयोगी भूमिका निर्वाह गर्नेछ भन्ने मेरो विश्वास छ।

आर्थिक विकासका लागि स्रोत व्यवस्थापनको यस सकसपूर्ण घडीमा विशिष्टकृत लगानी कोषजस्ता सयन्त्रबाट बाह्य पुँजी परिचालनका साथै वित्तीय प्रवर्तनमार्फत देशको आर्थिक विकासमा बोर्डले विषेश योगदान दिनेछ भन्ने अपेक्षा राखेको छ।

नेपालको कृषि क्षेत्र समेत लाभान्वित हुने गरी वस्तु विनिमय बजारको विकास तथा विस्तारका लागि समेत बोर्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु।

अन्त्यमा, देशको बदलिँदो संरचना तथा आवश्यकता अनुरूप पुँजी बजार र वस्तु विनियम बजारको प्रभावकारी नियमन गरी यसको विकास तथा विस्तारका लागि बोर्ड आफ्नो लक्ष्यमा पुग्न सफल हुनेछ भन्ने विश्वाससहित बोर्डको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

नेपाल धितोपत्र बोर्ड २७ औं वर्ष पूरा गरी २८ वर्ष प्रवेश गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना