धितोपत्र बजार दीर्घकालीन पूँजी परिचालनको गतिशील माध्यम: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बजारलाई दीर्घकालीन पूँजी परिचालनको गतिशील माध्यम भएको बताएका छन्। कोभिड-१९ रोगका कारण सिर्जित विषम परिस्थितीबाट आर्थिक गतिविधिहरू शिथिल हुँदै गएको अवस्थामा दीर्घकालीन पूँजी परिचालनको गतिशील माध्यमको रुपमा धितोपत्र बजार रहेको उनको भनाई छ ।

नेपाल धितोपत्र बोर्डको २८ औ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री खतिवडाले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको सुदृढ एवं विश्वसनीय ब्यबस्था गरी देशभर छरिएर रहेको बचत तथा वैदेशिक पूँजीको समेत उत्पादनशील क्षेत्रमा परिचालन गर्नका लागि अनुकूल वातावरण तयारी गर्न बोर्डको भूमिका सशक्त एवं प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

साथै उनले शुभकामना सन्देशमा सूचना प्रविधिको उच्च प्रयोग मार्फत बजार नियमन गर्नुपर्ने आवश्यकता समेत औंल्याएका छन्। धितोपत्र बजारलाई गतिशील एवं विश्वसनीय बनाउन बजार नियमन तथा पूर्वाधार सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त तथा अभ्यास अवलम्बन गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

लगानीकर्ताको हकहितको रक्षा गर्दै बजारलाई देशभर विस्तार गरी स्थिरता दिनुपर्ने बताउँदै उनले संस्थागत लगानीकर्ताहरूको संलग्नता वृद्धि, धितोपत्र बजार उपकरणमा विविधीकरण, र धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई भित्र्याउनुपर्ने उल्लेख गरेका छन्।

सरकारले दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाउने, पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलर सञ्चालनमा ल्याउने, पूँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गर्ने, वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक ब्यबस्था मिलाउने, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संरचनात्मक सुधार गर्ने लगायतका नीति लिएको उनले बताएका छन्।

नेपालको इतिहासमा विसं १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले पहिलो पटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपश्चात अनौपचारिक रुपमा शुरु भएको धितोपत्र बजार सुरु भएको थियो। विसं २०३३ सालमा सेक्युरिटी खरीदविक्री केन्द्रको स्थापना भएपछि मात्र धितोपत्र बजारको संस्थागत र अनौपचारिक विकासको शुरुवात भएको पाइन्छ ।

धितोपत्र बजारको व्यवस्थापनका लागि तत्कालिन सरकारले नियमनका लागि नेपाल धितोपत्र बोर्ड र धितोपत्र कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जको स्थापन र्गयो । २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई संशोधन गरी धितोपत्र बजारको स्वायत्त नियमनकारी निकाय स्थापना गर्न सक्ने व्यवस्था गरिएको थियो

वार्षिकोत्सवमा आमन्त्रण नगरिएपछि लगानीकर्ता रुष्ट

यता कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बीच भिडीयो कन्फ्रेन्समार्फत आइतबार २८ औं वार्षिकोत्सव मनाउन लागेको धितोपत्र बोर्डले लगानीकर्ताका कुनैपनि संघलाई संलग्न नगराएपश्चात लगानीकर्ताहरु बोर्डप्रति रुष्ट बनेका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाकाको प्रमुख आतिथ्यतामा मनाउन लागिएको उक्त वार्षिकोत्सव समारोहमा बोर्डले सीडीएस एण्ड क्लियिरिङ लिमिटेड, नेपाल क्लियरिङ हाउसका प्रतिनिधिलाई पनि समेटेको छैन।

 

धितोपत्र बोर्डले वार्षिकोत्सव कार्यक्रममा लगानीकर्तालाई नअटाए पछि …

बोर्डले जुम प्रविधिमार्फत गर्न लागेको भिडीयो कन्फ्रेन्समा अन्तरक्रिया सुन्न सक्नेगरी अन्य सहभागीहरुलाई पनि जोड्ने तयारी भने गरिएको बोर्डले जनाएको छ । कार्यक्रमको सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रत्यक्ष प्रसारण हुने त्यसबाट समेत कार्यक्रम हेर्न सकिनेछ।

अपरान्ह २ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा बोर्डका अध्यक्ष ढुङ्गानाले बोर्डको प्रगति विवरण सहितको मन्तव्य राख्नेछन् । त्यसपछि प्रमुख अतिथि अर्थ र सञ्चार तथन सूचना प्रविधिमन्त्री खतिवडाले शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ ।

सो पश्चात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बीमा समिति अध्यक्ष चिरञ्जीवी चापागाई, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, नेपाल मर्चेण्ट बैंकर एशोसिएशनका अध्यक्ष ध्रुव तिमिल्सिना र स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले आ–आफ्ना मन्तव्य राख्ने कार्यक्रम छ ।
साथै बोर्डको तर्फबाट अध्यक्ष भिष्मराज ढुङ्गाना, कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौडेल र निरज गिरीको प्रतिनिधित्व रहनेछ ।