बीमा कम्पनीहरुका लागि विशेष ऋणपत्र लगायतका अल्पकालीन उपकरणहरु व्यवस्था गर्न माग

0
Shares

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा कम्पनीहरुका लागि विशेष ऋणपत्र लगायतका अल्पकालीन उपकरणहरु सञ्चालनको व्यवस्थाका लागि थप कार्य गर्नुपर्ने बताएका छन्।

नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिउत्सवका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै उनले बीमा कम्पनी जस्ता दीर्घकालीन बचत परिचालन गर्ने संस्थाहरु ठूलो रकम कोषको रुपमा रहेकोले उक्त बचत धितोपत्र बजारमा लगानी गर्न सक्ने अवसर उपलब्ध गराउनुपर्ने धारणा राखेका हुन्।

चापागाईले बैंक नपुगेको ठाँउमा पनि बीमा सेवा पुगेको अवस्था भन्दै ७५३ वटै स्थानीय तहमा बीमा अभिकर्ता मार्फत बीमाको पहुँच पुगेको बताए। उनले त्यसरी जम्मा भएको पूँजी धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने वातवरण बनाउन आग्रह गरे।

बीमा कम्पनीहरुको संकलन भएको रकम जतिसुकै बेला पनि प्रकोप आउने र दाबी भुक्तानी गर्नुपर्ने हुनसक्ने भएकाले दीघकालीन उपकरणमा भन्दा तरल सम्पत्तीको रुपमा लगानी गर्नुपर्ने बताउँदै सर्टट्रमको लागि फाइदा हुने क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा समितिका अध्यक्ष चापाँगाइको जोड थियो। बीमा कम्पनीहरु कमोडिटी मार्केटमा पनि लगानी गर्नको लागि तयार रहेको उनको भनाई थियो।

चापागाईले बोर्डले प्राथमिक बजारमा आस्वा प्रणाली लागू गरी लगानीकर्तालाई सहज रुपमा शेयर आवेदन गर्न सक्ने व्यवस्था गरी सराहनीय कार्य गरको बताए।उनले प्राथमिक बजारमा जस्तै बोर्डले धितोपत्रको दोस्रो बजारलाई समेत पूर्ण स्वचालित बनाउने कार्यमा समन्वय तथा सहजीकरण गर्नुपर्ने र वास्तविक क्षेत्रका कम्पनीहरुलाई बजारमा भित्रयाउनुपर्ने समेत समेत बताए।

त्यसैगरी कोभिड-१९ का कारण उत्पन्न समस्या समाधानका लागि नियमन निकायहरुबीच समन्वय जरुरी रहेको भनाई राखे ।