खर्च कटौतीको नाममा बैंक वित्तीय संस्थाका कर्मचारीको मनोबललाई पारिँदैछ कमजोर


कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि सम्पुर्ण अर्थतन्त्र नै अस्तब्यस्त भएको छ । यो अवस्थामा अर्थतन्त्रको मध्यस्थकर्ता बैंकिङ क्षेत्रले आफ्नो जनशक्तीलाई पुर्ण सुरक्षीत महसुस भने गराउन सकेका छैनन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको अढाई महिना बितिसकेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाले अत्यवश्यक सेवाअन्तर्गत बैंकिङ सेवा प्रदान गरीरहेको अवस्था छ । तर, अधिकासं बैंक वित्तीय संस्थाको व्यवस्थापन संकटको समयमा पनि अग्र पंङतिमा रहेर सेवा प्रदान गर्ने कर्मचारीहरु प्रति गैर जिम्मेबार बनेको देखिन्छ । खर्च कटौतीको नाममा बैंकहरुले कर्मचारीको सुरक्षामा ध्यान नदिँदा आफुहरु त्रसित वाताबरणमा काम गर्न बाध्य भएको गुनासो विभिन्न बैंकका कर्मचारीहरुले गरेका छन् ।

बैंक वित्तीय संस्थाको उच्च व्यवस्थापन नाफाको पछि दैडने प्रतिस्पर्धामा उत्रिँदा खर्च घटाउने बाहानासँगै संकटको अवस्थामा आआफ्ना कर्मचारीप्रतिको दायित्व पुरा गर्न नसकेको अधिकांस बैंकका कर्मचारीहरुले नोटबजारसँग गुनासो गरेका छन् । सबै जसो बैंक वित्तीय संस्थाकाकर्मचारीहरु अहिले बैंकप्रति सन्तुष्ट हुन सकिरहेका छैनन, चाहे सवारी साधनको विषयलाई लिएर होस् वा स्वास्थ्य सुरक्षाको व्यवस्थाको विषयलाई लिएर होस् वा कर्मचारी आलोपालो प्रणालीको विषयलाई लिएर होस् कर्मचारीहरु बैंक व्यवस्थापनलाई लापरवाह देखाई रहेका छन् ।

बैंकहरुले कारोना संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न उपाहरु अपनाएको भनिए पनि कर्मचारीले आफुलाई सुरक्षीत महसुस गर्न सकेका छैनन । त्यसका साथै संकटको अवस्थामा पनि कार्यलयमा उपस्थित भएर सेवा प्रदान गर्ने बैंकिङ क्षेत्रका कर्मचारीलाई भोलिका दिनमा जागिर टिक्छ कि टिक्दैन भन्ने डरले समेत सताउन थालेको छ । एक वाणिज्य बैंकमा कार्यरत उच्च तहका कर्मचारी नै त्रास नै त्रासका बिचमा काम गरिरहनु परेको अनुभव सुनाउँछन् । बाहिर भन्ने एउटा र भित्री व्यवस्था अर्कै हुने भएकाले बैंक वित्तीय संस्थाका कर्मचारी ज्यादै जोखिममा रहेको भन्दै आफू पनि त्रसित वाताबरणमा काम गरिरहेको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकले एक तिहाइ कर्मचारीबाट बैंकिङ सेवा प्रदान गर्न भने पनि कर्मचारीहरुलाई ‘अल्टरनेट’ गरेर काममा लगाएका बैंक तथा वित्तीय संस्थाले कर्मचारीको मनोवल उच्च बनाउने काम गर्न नसकेको देखिन्छ । नेपाल सरकारले निजामती कर्मचारीलाई सार्वजनिक विदा सरह नै मान्ने भनेर विदामा पठाएको अवस्था छ ।

पछिल्लो समयमा कतिपय बैंक वित्तीय संस्थाले कर्मचारीलाईदिदै आएको भत्ता समेत काट्ने अन्तिम तयारी गरिसकेको अर्को बैंकका एक उच्च कर्मचारीले नोटबजारलाई बताए । ‘बैंकर्स संघले यस सम्बन्धमा छलफल गरिरहेको भन्ने सुनिएको थियो, तर कतिपय संस्थामा यो विषय कार्यान्वायनमा आईसकेको भन्ने सूचनाले कर्मचारीहरुको मनोबल झनै गिराएको छ’ उनले नोटबजारसँग भने ।

उता नेपाल बैंकर्स संघका अध्यक्ष भने बैंकमा यस्तो समस्या रहेको विषयलाई मान्न तयार देखिँदैनन् । ‘बैंक वित्तीय संस्थाका कर्मचारीहरुले अहिलेको अवस्थामा असुरक्षित भयौं भनेर गुनासो आएको छैन । अहिले कोरोनाको सुरक्षाका उपहरणको सहज उपलब्धतासँगै सबै बैंकले आवश्यक सामग्री उपलब्ध गराइरहेका छन् । तपाईले भने अनुसार कुनै बैंकका साथीहरुले समस्या भोग्नु भएको भए बैंकर्स एशोसिएनको गुनासो सुनुवाई समितिमा जानकारी गराउन आग्रह गछौं । त्यस्तो समस्या देखिएको खण्डमा तत्काल समाधानका लागि संघले सम्बन्धित बैंकसँग समन्वय गर्छ’ दाहालले भने ।

बैंक वित्तीय संस्थाहरुले कर्मचारीहरुलाई पनि बेतलबी विदामा राख्ने संकेत समेत देखिएको अर्को एउटा बैंकको माथिल्लो तहमा कार्यरत कर्मचारीले नोटबजारलाई बताए । “काम गर्न गएका कर्मचारीको सन्दर्भमा पनि सुरक्षाका दृष्टिकोणबाट व्यवस्थापनले धेरै ध्यान दिएको देखिदैन,” ति कर्मचारीले भने, “बैंक वित्तीय संस्थाले सानो खर्च बचाउने बहानामा कर्मचारीको जीवनसंग नै खेलवाड गरेको देखिन्छ ।”
अहिले बैंक वित्तीय संस्थाका कर्मचारीले डर त्रासमा रहेर काम गरी रहेको नेशनल बैंकिङ इन्ष्टिच्यूटका पुर्व प्रमूख कार्यकारी अधिकृत सञ्जिव सुब्बा बताउँछन् । “अहिलेको अवस्थामा सबैले मानीवय संवेदनालाई देखाउनु पर्ने अवस्था हो,” उनले भने, “नेतृत्वको भुमिका भनेको सरोकारवालाहरु सबैको स्वार्थ पुरा गर्ने हो, बैंकको सन्दर्भमा सरोकारवाला भनेको कर्मचारी, ग्राहक र लगानीकर्ता, नियामक निकाय पर्छन् ।”

सवारी चालक, सुरक्षा गार्ड लगायत धेरै व्यक्तिहरुको सम्पर्कमा आउने कर्मचारीहरुको पनिपिसिआर टेस्ट गराएर कन्फर्मेसन लिनु पर्नेमा कुनै बैंकले यसमा चासो नदिएको ति कर्मचारीको भनाई छ । ‘अहिले सबै कर्मचारीलाई हचुवाका भरमा काममा लगाइएको अवस्था छ । जति पनि बैंकका कर्मचारीले शाखा खोलेर सेवा सुचारु गर्छन् ति कर्मचारीलाई इन्सेन्टिभ दिने, प्रोत्साहन गर्ने, मोटिभेट गर्ने जस्ता विषेश सुविधा दिने भनेर हल्ला धेरै गरियो । त्यसको कार्यान्वयनका लागि भने कुनै पनि संस्थाले गम्भीरताका साथ काम गरेका छैनन्’ उनले भने ।

बैंक वित्तीय संस्थाका अध्यक्षहरुको छातासंगठन बैंक वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान पनि कर्मचारीको मनोबल उच्च बनाएर सेवा प्रवाह गर्नु पर्ने बताउँछन् । ‘पछिल्ला केही दिन यता सर्वसाधारणको चहलपहल साविकको तुलनामा बढेको छ । योसँगै बैंकमा आउने सेवाग्राहीको चाप पनि बढ्नु स्वभाविक हो । बैंकिङ कृयाकलापमा पनि बढोत्तरी हुने अवस्था देखिएको छ । यो अवस्थामा जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले पछिल्लो अढाई महिनाको लकडाउनको समयमा भन्दा धेरै सावधानी अबका दिनमा अपनाउनु पर्ने हुन्छ । किनकी पछिल्ला दिनमा संक्रमणको दरमा धेरै वृद्धि देखिन थालेको छ’ गोल्यानले भने ।

एक विकास बैंकमा कार्यरत कर्मचारी भन्छन्, ‘नोटबाट नै कोरोना संक्रमणको जोखिम छ । नोटलाई भाइरस रहित बनाउने प्रयासमा समेत बैकहरु लागेका छैनन् । यसले कर्मचारीलाई असुरक्षित महसुस गराएको छ ।’

अर्को एक बैंकका काउण्टरमा धेरै सेवाग्राहीसँग नियमित सम्पर्कमा आउने कर्मचारी भन्छन् ‘नोटलाई घाममा सुकाउने वा अल्ट्रा भ्वाइलेट रे मार्फत नोटलाई एक्सरे गर्नु पर्छ । त्यसका लागि यूवि लाइट जडित काउन्टिङ मेसिन पाइन्छ । विदेश तिर बैंकहरुले नोट काउन्टीङ मिसिनमा नै अल्ट्र भ्वाइलेट रेको उपकरण जोडेर हरेक पटक नोट गन्दा भाइरस रहित बनाउने गरेका छन् । हामीले त कल्पना मात्र गर्ने हो यस्तो कुरा ।’ यस्तो मेसीनलाई एटिएम तथा शाखामा राख्न सकिने भए पनि बैंकहरुले अझै कुनै तयारी गरेका छैनन् । खर्च कटाउने नाममा बैंकहरुले यस्ता सुरक्षाका उपायहरु अबलम्बन गर्न बेवास्ता नै गरेको उनको आरोप छ ।

अर्का बैंकरले प्रचारबाजीका लागि केही काम गरेको देखिए पनि त्यसमा कर्मचारीको स्वास्थ्य सुरक्षामा खासै चासो दिएको नदेखिएको बताए । संकटको अवस्थामा पनि कर्मचारीलाई उपयुक्त व्यवस्था गर्न बैंक वित्तीय संस्थाको व्यवस्थापन पनि तत्पर नदेखिएको अधिकांस बैंकका कर्मचारीहरुको गुनासो छ । बैंकमा कुनै पनि संक्रमित कर्मचारी वा सेवाग्राही आएको खण्डमा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा कसैले तयारी नगरेको उनीहरु बताउँछन् ।

‘कोरोनाको सन्दर्भमा बैंक वित्तीय संस्थाको व्यवस्थापन असरल देखिएको छ । कोरोनाका कारण संस्थाले कर्मचारीलाई गर्ने विभेदको विषय बाहिर आइसकेको छ । कर्मचारीले सक्दासम्म संस्थाले काम लगाउने र केही भएको खण्डमा फर्केर पनि नहेर्ने किसिमको व्यवहार बैंक व्यवस्थापनबाट हुन थालेको छ । सरकारले राहत नदिने, केन्द्रीय बैंकले बैंकलाई थोपार्ने, बैंकले ग्राहकलाई थोपर्ने प्रवृत्ति देखिएको छ । यो सबै भनेको बैंकका प्रमूख कार्यकारी अधिकृतहरुको अकर्मण्डताको परिणाम हो’ एक वाणिज्य बैंकका कर्मचारीले नोटबजारसँग भने ।

बैंक वित्तीय संस्था परिसंघका अध्यक्ष गोल्यान भने अग्रपंक्तिमा नरहेका तथा घरमा बसेर काम गरिरहेका कर्मचारीको अतिरिक्त सेवा सुविधा कटौती गरेर भए पनि अग्रपंक्तिका कर्मचारीको मनोबल उच्च बनाउनु पर्ने बताउँछन् । ‘अहिले कर्मचारीहरुका लागि गरिएको १ लाख रुपैंयाको कोरोना बीमाको रकम थोरै भयो, यसले कर्मचारीको मानसिकतालाई उत्साहित बनाउन सक्दैन । कुनै पनि उद्योगमा कच्चा पदार्थ, जनशक्ति र मेशिनको संयोजनबाट उत्पादन तयार हुन्छ । तर बैंकमा कच्चा पदार्थ भने पनि मेशिन भने पनि जनशक्ति भने पनि सबै कर्मचारी नै हो । उद्योगको तुलनामा बैंकिङ उद्योगमा कर्मचारी भनेको मुख्य सम्पत्ति हुन् । त्यसैले कर्मचारीलाई संस्था सस्टिनेबल हुने गरि धेरैभन्दा धेरै उत्साहित बनाउने गरि सेवा सुविधाका माध्यमबाट काम गर्ने गराउने गर्नु पर्छ’ गोल्यान भन्छन् ।

अहिलेको जटिल परिस्थितीमा अत्यावश्यक क्षेत्रको रुपमा रहेको बैंकिङ क्षेत्रले फ्रन्ट लाइनमा बसेर सेवा प्रदान गर्ने कर्मचारीको विषयमा प्रभावकारी ब्यवस्थापन गर्नु जरुरी हुने नेशनल बैंकिङ इन्ष्टिच्यूटका पुर्व प्रमूख कार्यकारी अधिकृत सञ्जिव सुब्बाको भनाइ छ । काममा आउने कर्मचारीको सुरक्षा तथा उत्प्रेरणाका अन्य विषयहरुलाई संस्थाले सक्दो सम्बोधन गर्नु पर्ने समेत उनी बताउँछन ।

बैंकहरुले समयमा समयमा नै डिजिटल बैंकिङलाई सुरु गरीदिएको भए अहिले समस्या नै नहने समेत उनको तर्क छ । अहिलेको अवस्थामा कर्मचारीको मानसिक र शारिरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने बताउँदै सुब्बाले भने, “संस्थामा नै चलेन भने कर्मचारीको जागिर त जान्छ नै ।”

बजेटले पनि खासै प्रभावकारी रुपमा सम्बोधन गरेको देखिदैन । मौद्रिक नीतिमा आशा छ । मौद्रिक नीति पनि बजेट जस्तै आएको खण्डमा बैंकहरुको भविष्य नै डामाडोल हुने अवस्था देखिएको छ । समयमा हामीले धेरै विषयमा सोच बिचार गर्नु पर्ने अवस्था आएको छ सुब्बाले भने ।