शेयर कारोबार कहिले देखि खुल्छ ? लकडाउनमा भएको कारोबार रद्द नहुने


विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो भएसँगै शेयर बजार पनि खुल्ने विषयमा छलफल हुन थालेको छ। तर, शेयर बजार कहिलेबाट खुलाउने भन्ने विषयमा आगामी सोमबार पछि मात्र निर्णय हुने धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र बजारको संवेदनशीलतालाई ध्यानमा राखेर आगामी सोमबारपछि मात्र शेयर बजार सुचारु गर्ने विषयमा निर्णय हुने बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए । ‘धितोपत्र बजारलाई अहिलेको समय अनुसार सुरक्षित र थप व्यवस्थित गरेर आगामी सातासम्ममा निर्णय हुन सक्छ ।” धितोपत्र बजारमा हुन सक्ने चलखेल तथा अश्वभाविक उतार चढावलाई व्यवस्थित गर्ने गरी बजारलाइ सुचारु गराइने तयारी रहेको छु’ उनले भने ।

सरकारले आइतबार अर्थात जेठ ३२ गतेसम्म लकडाउन कायम गरेको छ । तर, आर्थिक गतीविधिलाई सुचारु गर्न सरकारले बिहीबार देखि लकडाउनलाई खुकुलो बनाएको अवस्था छ। सरकारले लकडाउनलाई खुकुलो बनाएको भएपनि शेयर बजारमा लगानीकर्ताको उल्लेख्य उपस्थिति हुन सक्ने भएकाले जोखिम कायम नै रहेको हुनाले त्यसलाइै व्यवस्थित हुने गरी बजारलाइ सूचारु गर्नुपर्ने हुन्छ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । यस्तो अवस्थामा बजार खुलाउदा समाजीक दुरी कायम गर्न तथा सुरक्षाका उपायहरु पालना गरेर मात्र कारोबार खुलाउनु पर्ने भएकाले लकडाउनको अवधिपछि मात्र बजार खुलाउने विषयमा निर्णय हुने उनले बताए ।

यता शेयर लगानीकर्ताहरुले भने सार्वजनिक यातायात स¬चालन नभएसम्म शेयर कारोबार खुलाउनुको कुनै अर्थ नभएको बताउँदै आएका छन्। यातायात सहज भएपछि मात्र शेयर कारोबार खुलाउन उपयुक्त हुने एक लगानीकर्ताले बताए।

लकडाउनमा भएको कारोबार रद्द नहुने

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भौतिक दूरी कायम गर्न घरमै बसौं भन्दै लकडउन गरेको भएपनि धितोपत्र बजार बन्द रहेको विषयमा चौतर्फी आलोचना सुरु भयो।

अलोचना सुरु भएपछि अर्थमन्त्रालयको सल्लाहमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सुचारु गरेका थिए । धितोपत्र कारोबार सँग जोडिएका केही कानूनी व्यवस्थालाइ समय सापेक्ष बनाएर २ दिन अर्थात बैशाख ३० र ३१ गते कारोबार पनि गरेको थियो।

लकडाउनका समयमा धितोपत्र कारोबार खुला गरेको लगानीकर्ता बजारको पहुँचमा आउन नसक्ने भएकाले बन्द गरिनुपर्ने चौतर्फी विरोधपछि पुन बजार जेठ ३२ गतेसम्मका लागि बन्द गरिएको नेप्सेले जनाएको छ। यो दुइै दिनको कारोबार समेत बन्द गरिनुपर्ने माग लगानीकर्ताले गर्दै आएका छन्।

त्यसका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बैशाख ३० र ३१ गतेको धितोपत्र कारोबारको प्रकृतिलाई अध्ययन गरी धितोपत्र बोर्डलाई सुझाव दिन आग्रह गरेको थियो। सोही अनुसार नेप्सेले दिएको अध्ययन रिर्पोट अनुसार पनि नियमित तथा सामान्य कारोबार भएको निष्कर्ष सहितको रिपोर्ट नेप्सेले दिएको हुनाले त्यो दुई दिनको कारोबार पनि रद्द नहुने समेत ढुङगानाले बताए।

लकडाउनकोबीचमा दुई दिन बैशाख ३० र ३१ गते कारोबार हुँदा नेप्से परिसूचक पहिलो दिन २५ र दोस्रो दिन २४ अंकले घटेको थियो। दुई कारोबार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन। तत्कालको अवस्थालाई भनेर बनाइएको अल्पकालीन कारोबार संयन्त्र अनुसार दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लाग्यो। मंगलबार झण्डै डेढ घण्टा टिकेको बजार बुधबार कारोवार सुरु भएको ४० मिनेटमै २ प्रतिशतको सर्किट लागेर बन्द भएको थियो।