मेरो शेयरको इ-सेवाबाट स्वत: नवीकरण हुने


सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ‘मेरो शेयर’ एप्लिकेशनमा परिमार्जन गरेर अब शुल्क भुक्तानी पश्चात रियलटाइममै स्वतः ‘मेरो शेयर’ खाताको नवीकरण हुने व्यवस्था गरेको छ।

सिडिएससीले हाललाई ईसेवा मार्फत गरिने भुक्तानीलाई स्वत नवीकरण हुने व्यवस्था गरेको हो। जसका लागि जेठ २६ गते सोमबार सम्पूर्ण निक्षेप सदस्यहरुलाई पत्राचार गर्दै जेठ ३२ गते आइतबारसम्म आफ्नो मर्चेन्ट खाता खोली त्यसको जानकारी सिडिएससीमा गराउन भनेको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले अहिले पनि करिब ९० प्रतिशत डिपीहरुले इसेवा मार्फत कारोबार गर्दै आएपनि १० प्रतिशत हाराहारीमा केही डिपीहरु आबद्ध हुन बाँकी रहेकाले पत्राचार गरिएको बताए। सिडिएससीमा मर्चेन्ट बैंक र ब्रोकर कम्पनीहरु गरि ७५ वटा डीपी आबद्ध रहेका छन्।

इसेवा मार्फत स्वत नवीकरण हुने प्रकृयाको अहिले परीक्षण भैरहेको जानकारी दिँदै उनले आगामी दिनमा अन्य अनलाइन पेमेन्ट गेट्वेहरु कनेक्ट आइपीएस, खल्ती लगायतबाट पनि भुुक्तानी गर्ने व्यवस्था मिलाइने बताए। सोही अनुसार सम्पूर्ण डिपीहरुलाई आवश्यक तयारी गर्न समेत निर्देशन दिइएको छ।

सिडिएससीले मेरो शेयरको नवीकरण शुल्क वापत वार्षिक ५० रुपैयाँ लिँदै आएको छ।

अहिलेपनि इसेवा तथा अन्य वालेट मार्फत हुने ‘मेरो शेयर’को अनलाईन भुक्तानीको म्यानुअल नवीकरण भैरहेकोमा अब भने भुक्तानी पश्चात स्वत नवीकरण हुने व्यवस्था गरिन लागिएको हो।