रेष्टुरेन्ट समेत खुलि सके, यथास्थितीमा शेयर बजार छिटो खोल्नु पर्छ : भरत रानाभाट


नेपाल स्टक ब्रोकर एशोसिएसनमा अध्यक्ष भरत रानाभाट भने लकडाउन खुकुलो भएसँगै शेयर बजारलाई जतिसक्दो छिटो संचालनमा ल्याउनुपर्ने बताएका छन् ।

अन्य क्षेत्रहरु संचालनमा आईसकेको अवस्थामा शेयर बजार बन्द गर्नु कसैको हितमा नभएको उनको भनाई छ । साथै उनले, पुरानै र नियमित मोडालिटीमा शेयर बजार संचालन गर्नुपर्ने सुझाब समेत नियामक निकायलाई दिएका छन् ।

‘रेष्टुरेण्ट समेत सञ्चालनमा आईसके, हामी शेयर बजार खोल्न के कुरा पर्खिएर बसेका छौं ? बजारप्रतिको नकरात्मक सन्देश योभन्दा अरु केही हुन सक्दैन’ रानाभाटले भने ।

बजार नखुल्दा बजारको विश्वसनियता माथि नै प्रश्न चिन्ह उठेको बताएका उनले सरकारले लाखौ रुपैंया राजश्व समेत उठाउन नसकेको बताए । बजार सञ्चालन नहुँदा धितोपत्र बोर्ड, नेप्से, सिडीएस, ब्रोकर, डिपी लागायत सम्बद्ध पक्षले आम्दानी समेत गुमाउनु परिरहेको बताए ।

बजारलाई चलायमान बनाउँदै तिब्र उतार चढाव नियन्त्रणका लागि विभिन्न किसिमका उपकरण कार्यान्वायनमा ल्याउनु पर्ने उनको भनाई छ । ५ प्रतिशतलाई अन्तिम कर कायम गर्नु पर्ने, तत्काल स्टक डिलरले काम सुरु हुनु पर्ने, अनलाइन सेटलमेन्टको लागि तत्काल बैंक इन्टिग्रेसन गर्नु पर्ने, संस्थागत लगानी भित्राउन, ब्रोकर लगायत अन्य इच्छुक संस्थालाई स्टक डिलरको काम दिनु पर्ने लगायत विषयमा काम गर्नु पर्ने उनको भनाई छ ।