शेयर बजार खोल्ने मोडालिटी बारे छलफलमा जुटे धितोपत्र बोर्ड र नेप्से


मन्त्रिपरिषद्कोे बुधबारको बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेपछि शेयरबजारका सरोकारवालाहरु बजार खुलाउने प्रयासमा जुटेका छन् ।

लकडाउन पूर्ण रुपमा खुला भइनसकेको अवस्थामा शेयर बजार कसरी संचालन गर्ने बिषयमा आइतबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबीच छलफल हुने भएको छ । लकडाउनको नयाँ मोडालिटीमा शेयर बजारका बिषयमा प्रष्ट कुरा नआउँदा भने नियामक निकाय नै केहि अलमलमा भने देखिएका छन् ।

धितोपत्र बोर्डले नेप्सेलाई बजार संचालनका मोडालिटी बारे छलफलका आइतबार ११ बजे बोलाएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । सरकारले लकडाउन केहि सहज बनाएको अवस्थामा शेयर बजार सञ्चालनको बिषयमा आइतबार बोर्डमा छलफल भएपछि सोमबारसम्ममा निर्णय आउने उनले बताए । ‘बजार के कसरी संचालन गर्ने भन्ने सम्बन्धमा आइतबार मात्र निर्णय हुन्छ त्यस पछि हामीले धितोपत्र बोर्डले निर्देशन अनुसार बजार खुलाउने हो’ साउदले भने ।

यसअघि धितोपत्र बोर्डले लकडाउनको बीचमै गत वैशाख अन्तिममा बजार सञ्चालनका विद्यमान व्यवस्थाहरुमा केहि परिमार्जन गर्दे नयाँ मोडालिटीमा बजार सञ्चालन गराएको थियो । उक्त व्यवस्था अनुसार बैशाख ३० र ३१ गते दुई दिन बजार खुले पछि सरकारले लकडाउनमा कडाई गरे पछि बजार पनि बन्द गरिएको थियो । परिमार्जित व्यवस्था अनुसार दिनभरिमा कम्पनीको शेयर मूल्य अधिकतम ३ प्रतिशतसम्म घटबढ हुनसक्ने र बजार सूचक २ प्रतिशतले घटबढ भएमा कारोबार नै बन्द हुने व्यवस्था थियो ।

परिमार्जित व्यवस्था अनुसार संचालन भएको बजारमा लगातार २ दिन नै नकारात्मक सर्किट लागेर बन्द भएको थियो भने बजार पुरा अवधि संचालन समेत हुन सकेन । यस क्रममा २ दिनमा नै बजार झण्डै ५० अंकले तल झरेको थियो ।

लकडाउन पूर्ण रुपमा खुलिनसकेको हुँदा कुन मोडालिटीमा बजार संचालन गर्ने बारेमा पनि आइतबार छलफल हुने बताइएको छ । नेपाल स्टक एक्सचेन्ज भने पुरानै मोडालिटीमा फर्कर्ने पर्ने पक्षमा छ ।

धितोपत्र बोर्ड पनि अर्थमन्त्रालयसँग समन्वय गरेर कम्तीमा असार १ गतेपछि बजार खोल्ने पक्षमा रहेको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङानाको बताए । यसअघि बजार खोल्न बनाइएको मोडालिटी फेरबदल गर्नुपर्ने भएकाले केहि ढिलाई हुनसक्ने उनको भनाई छ ।

नेपाल स्टक ब्रोकर एशोसिएसनमा अध्यक्ष भरत रानाभाट भने लकडाउन खुकुलो भएसँगै शेयर बजारलाई जतिसक्दो छिटो संचालनमा ल्याउनुपर्ने बताउँछन । अन्य क्षेत्रहरु संचालनमा आईसकेको अवस्थामा शेयर बजार बन्द गर्नु कसैको हितमा नभएको उनको भनाई छ । साथै उनले, पुरानै र नियमित मोडालिटीमा शेयर बजार संचालन गर्नुपर्ने सुझाब समेत दिए ।

यता शेयरलगानीकर्ताहरु भने बजार खुलाउने नखुलाउने पक्षमा विभाजित देखिएका छन् । एकाथरी लगानीकर्ताहरुले राहत र सुधारका कार्यक्रमसहित बजार संचालन गर्नुपर्ने माग गरेका छन् भने अर्कोथरी लगानीकर्ता सार्वजनिक यातायात नखुलेसम्म बजारसम्म पुग्न नसक्ने भन्दै बजार खोल्न नहुने तर्क गर्दै आएका छन् । कतिपय लगानीकर्ताहरुले लकडाउनको बीचमा भएको दुई दिनको कारोबार रद्द नगरी बजार खोल्न नहुने समेत बताउँदै आएका छन् ।

यता नेप्सेले भने उक्त २ दिनको कारोबार रद्ध नहुने प्रष्ट पारिसकेको छ। बजारका जानकारहरु भने विश्वका अन्य मुलुकहरुमा शेयर बजार संचालन भइरहेको अवस्थामा नेपालको शेयर बजार संचालन हुन नसक्नु दुखद भएको भन्दै बजार संचालन गनुपर्ने बताउँछन् । अब पुरानै मोडालिटीमा बजार संचालन गनुपर्ने एक जानकारले नोटबजारलाई बताए।

बोर्डका अध्यक्ष ढुङ्गानाले पनि धितोपत्र बजारको संवेदनशीलतालाई ध्यानमा राखेर आगामी सोमबारसम्ममा मात्र शेयर बजार सुचारु गर्ने विषयमा निर्णय हुने जानकारी दिए । ‘धितोपत्र बजारलाई अहिलेको समय अनुसार सुरक्षित र थप व्यवस्थित गरेर सोमबारसम्ममा निर्णय हुन सक्छ’ ढुङ्गानाले भने । ‘धितोपत्र बजारमा हुन सक्ने चलखेल तथा अश्वभाविक उतार चढावलाई व्यवस्थित गर्ने गरी बजारलाइ सुचारु गराउने तयारीमा बोर्डले गृहकार्य गरिरहेको छ’ उनले भने ।

सरकारले जेठ ३२ गतेसम्म बन्दाबन्दीको अवधि तोकिएको भए पनि बुधबारको मन्त्रिपरिषद्को निर्णयले शुक्रबारबाटै लकडाउन केही खुकुलो बनाइसकेको छ । यसअघि नेप्सेले जेठ ३२ गतेसम्म बजार बन्द रहने सूचना जारी गरेको थियो । आइतबारको छलफलले ठोस निर्णय गरेमा असार १ गतेबाट शेयर बजार पुरानै मोडालिटीमा सञ्चालनमा आउनेछ ।