सरकारले लकडाउन खुकुलो बनाएसँगै नेपाल धितोपत्र बोर्डले शेयर बजार खुलाउन आइतबार बजार सञ्चालक नेप्से र लगानीकर्ताहरुसँगको छलफल अगाडि बढाएको छ । यसै बिच नोटबजार डटमले अब बजार कसरी खुला गर्नुपर्छ भनेर मर्चेन्ट बैंकका अध्यक्ष तथा सिद्धार्थ क्यापिटका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनासँग कुराकानी गरेको छ । प्रस्तुत छ तिमिल्सिनासँगको कुराकानीको सम्पादित अंश:-
अब खुल्ने बजारमा लगानीकर्ताको ‘इम्प्याक्ट फेयर इन्टर्याक्सन’ हुन पाउनुपर्छ । आजको दिनमा अनलाईनबाट शेयर बेच्न सक्ने लगानीकर्ताको संख्या साढे ६ लाख हाराहारी छ । अर्कोतर्फ शेयर किन्ने लगानीकर्तालाई ब्रोकरकोमा २५ प्रतिशत ‘डिपोजिट’ राखेपछि मात्र शेयर किन्न सकिने यस अघिको नयाँ व्यवस्थाका कारण लगानीकर्ताले शेयर खरीद लिमिट पाएनन् । जसका कारण शेयर किन्ने र बेच्नेका बिचमा ‘फेयर इन्टर्याक्सन’ हुन पाएन ।
त्यसो हुँदा हामीले प्राय बजारमा लकडाउनभन्दा अघि जुन किसिमले बजार सञ्चालन गरेका सथयौं, त्यहि किसिमले बजार खोल्दा मात्रै शेयर खरिद गर्ने र किन्नेका बिचमा ‘फेयर इन्टर्याक्सन’ हुन्छ । अनलाईनबाट मात्र कारोबार गराउँदा बेच्नेहरुको मात्र पहुँच हुने र खरीदकर्ताको पहुँच नहुने स्थितिका कारण बजार अस्वभाविक गतिमा चल्न सक्छ ।
नेपालमा कारोबार आदेश प्रविष्ट गर्नका लागि मात्र अनलाइनको भुमिका छ । त्यसमा पनि अनलाईन कारोबारीको संख्या धेरै छैन । अर्कातर्फ अनलाईन सेटलमेन्ट कुनै पनि हालतमा छैन भन्दा फरक पर्दैन ।
आज कुनै पनि लगानीकर्ताहरुलाई तिमीले अनलाईन सेटलमेन्ट गर्नेपर्छ भन्दैमा आजको आजै कनेक्ट आइपीएस लिएर काम गर्ने कुरा व्यवहारिक रुपमा सम्भव हुँदैन । पछिल्लो समय शेयर खरीद बिक्रीको भुक्तानीको सीमालाई हटाइएको भए पनि आजको आजै बैंकमा गएर कनेक्ट आईपीएस लिएर कारोबारका लागि तयार हुन् र पहिले देखि नै तयार भएर बस्नु फरक कुरा हो । फेरी कनेक्ट आईपीएसमा नै ढुक्कले भर पर्ने अवस्था पनि नरहन सक्छ ।
खरीदकर्ताले आफुले चाहेको मूल्यमा मात्र शेयर किन्न सक्ने भए पनि ‘फेयर इन्टर्याक्सन’ हुन पाएन भने बजारमा जे मूल्य निर्धारण हुनु पर्ने हो त्यस्तो हुँदैन । सबैको पहुँच भएको अवस्थामा भने जे मूल्य निर्धारण हुनुपर्ने हो त्यस्तै हुने भएकाले सबैलाई स्वीकार्य हुन्छ । लकडाउनका बीच खुला गरिएको बजारमा ‘फेयर इन्टर्याक्सन’ हुन पाएन, यसलाई बैंशाख मसान्तमा भएको २ दिनको कारोबारले पुष्टि गरिसकेको छ ।
कोरोनाको असर पछि मान्छेले आ-आफ्नै हिसाबले बजार कति घट्छ भन्ने आंकलन गरेको हुनसक्छ, अथवा हैन मूल्य घटेपछि यहिँबाट अब बजार फर्किन्छ भन्ने आंकलन पनि होला । अहिले अन्यन्त्र लगानीको अवसर नभएकाले शेयर बजारमा नै लगानी आउँछ, पहिला पनि त्यस्तो भएको थियो भन्ने ‘भर्सन’ कसैको होला । यी सबै कुरा एकातिर छन् ।
अर्कातिर बजार के हुन्छ भन्ने चैं बजारमा गएर कारोबार हुन थाले पछि देखिने कुरा हो । अहिले बजार १० प्रतिशत घटेपछि शेयर किन्छु भनेर बसेको मानिस दुई दुई प्रतिशतका दरले नै सर्किट ब्रेकर कायम राख्दा पाँच दिन पछि मात्र शेयर किन्न सक्ने अवस्थामा हुन्छ । एक दिनमा हुन सक्ने कारोबारका लागि उसले ५ दिन कुर्नु पर्ने अवस्था बन्न सक्छ । यस्तो अवस्थामा खरीदकर्ता देख्दै नदेखिने हुन सक्छ । शेयर बजारमा खरीदकर्ता नदेखिँदा ओहो बजारमा खरीदकर्ता नै छैनन् भनेर नकारात्मक असर पर्छ कि भन्नेमा बिचार गर्नु पर्छ । अर्थात वास्तविक रुपमा नै बजारमा जे हुनुपर्ने वा बजारलाई आफ्नो लयमा जानका लागि पहिला जे थियो त्यहि स्थितिमा खोल्न ुपर्छ जस्तो मलाई लाग्छ ।
बरु कारोबार समय चाँही घटाउन सकिन्छ । चार घण्टा समय राख्दा पनि सुरुको १ घण्टा र अन्तिमको १ घण्टामा खासै कारोबार नहुने देखिएकाले समय घटाउँदा पनि हुन्छ कि जस्तो लाग्छ । तर हामीले जे सोचेका हुन्छौं बजारले त्यहि प्रवृत्ति त नदेखाउन पनि सक्छ । मैले देखेको, पहिले जुन किसिमले कारोबार गराउने गरिएको थियो, त्यहि किसिमले जाँदा बजारको यथार्थ अवस्था देखिन्छ । तर लकडाउन छ, लगानीकर्तालाई आवतजावत गर्न जोरविजोर लगायतको नियम लागू भएको अवस्था छ ।
एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने भनिएको छ । कतिपय लगानीकर्ताहरु उपत्यका बाहिर नै अड्किएकाले बजारमा कारोबारका लागि लगानीकर्तालाई अवरोध त छ नै । अहिले पनि कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा विद्युतीय माध्यमबाट कारोबार गर्न सक्नेहरुलाई सोही माध्यमबाटै कारोबार गर्न प्रोत्साहित गर्नु पर्छ । लगानीकर्ताले पनि पहिला जस्तो ब्रोकर अफिसमा थुप्रिएर त्यहिँ एक अर्कामा छलफल गरेर कारोबार निर्णय लिने गरे पनि अहिले त्यो अवस्था छैन, आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै कारोबार गर्नुपर्छ ।
लगानीकर्ताको आवतजावतलाई सकेसम्म कम गर्दै अनलाईन कारोबारलाई नै अगाडि लैजानु पर्छ । ६ लाख ५० हजार लगानीकर्ताले अनलाईनबाट इडिआईएस गर्न सक्ने भैसकेको अवस्थामा त्यसलाई अनिवार्य गर्दा पनि हुन्छ । अनलाईनबाट नगद भुक्तानी गर्न सकिने अवस्थामा अनलाईन बाटै गर्ने र त्यो सम्भव नहुने लगानीकर्तालाई हिँडडुल गर्नु नपर्ने गरेर ब्रोकरहरुले कुनै व्यवस्था बनाउने किसिमको वातावरण सिर्जना गरेर पनि कारोबार गर्न सकिने व्यवस्था गर्न सकिन्छ ।
अनलाईन कारोबारमा ब्रोकर अफिसमा डिपोजिट नराखि कारोबार गर्न नपाउने भन्ने व्यवस्था छ । यसमा ब्रोकरको जोखिम र उसका ग्राहकबीचको ‘रिलेसनसीप’को कुरा हो । २५ प्रतिशत डिपोजिट नराख्दा ब्रोकरलाई खरीद भएको शेयरको सेटलमेन्ट नभएको खण्डमा त्यसको जिम्मेवारी ब्रोकर कम्पनी नै हुने भएकाले उनीहरुले पनि जोखिम मोल्ने अवस्था नहुन सक्छ । विश्वास भएका लगानीकर्तालाई ब्रोकरले धरौटी नराखी पनि शेयर खरीद गर्न सक्ने अवस्था हुनु पर्छ । यो भनेको ‘रिलेसनसीप’को कुरा नै हो ।
तर यसको विपरित अनिवार्य रुपमा २५ प्रतिशत डिपोजिट राख्नुपर्ने व्यवस्थाले भने असजिलो हुन सक्छ । उदाहरणका लागि मलाई विश्वास गरेको ब्रोकर कम्पनीले मैले फोन गरेको भरमा शेयर किनि दिन सक्छ । यदि कारोबार भयो भने चेक लिन आउ भनेर भन्न सक्ने अवस्था हुन सक्छ । किनभने ब्रोकर कम्पनीहरुलाई त आवतजावतको सुविधा छ । यसमा ब्रोकरले लिमिट नराखि पनि खरीद गरिदिन चाहन्छ भने त्यसमा भने रोक्नु हुँदैन । अर्थात धरौटीलाई बाध्यात्मक पारिनु हुँदैन ।
लकडाउन केही खुकुलो भए पनि लगानीकर्तालाई सहज रुपमा आवागमन गर्न सक्ने अवस्था छैन । कोरोना संक्रमणको कारण लगानीकर्ता आफैँलाई पनि संक्रमण सर्छ कि भन्ने डर छ । यस्तो अवस्थामा बजार खोल्न हुने नहुने भन्ने कुरामा चाँही हाम्रो अनलाईन ट्रेडिङ्ग र सेटलमेन्ट सहितको पूर्ण रुपमा अनलाईन नभएको अवस्थामा कहाँ कहाँ के के सुधार गर्नुपर्छ भन्नेमा सरोकारवाला सबै जना लाग्नुपर्छ । एकले अर्कालाई दोष दिएर कुनै पनि अर्थ राख्दैन ।
लगानीकर्ताले पूर्ण रुपमा अनलाईनबाट कारोबार र राफसाफ गर्न नसकिरहेको अवस्थामा तर्क दिएर भन्दा सबैले सहज वातारण बनाउन आवश्यक छ । अहिलेको अनलाइनलाई पूर्ण स्वचालित भन्न मिल्दैन, यदि पूर्ण स्वचालित कारोबार प्रणाली हुन्थ्यो भने अहिले बजार बन्द अवस्थामा हुने थिएन ।
प्रतिक्रिया