काठमाण्डौं प्लाजा भवन तत्काल खाली गर्न नेपाल ट्रष्टको कार्यालयले दियो दबाव

0
Shares

नेपाल ट्रष्टको कार्यालयले कमलादी काडमाडौं स्थित काठमाडौँ प्लाजा भवन खाली गर्न दबाव दिएको छ ।

नेपाल ट्रष्टको कार्यालयले असार २ गते मङ्गलवार एक सूचना प्रकाशित गरेर आजैका मितिबाट उक्त भवन सम्पूर्ण रुपले खाली गरी चालु हालतमा हस्तान्तरण गर्न भनेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण्का लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन पूर्ण रुपमा खुलिसकेको छैन । सरकारले आंशिक रुपमा लकडाउन केहि खुकुलो पारेको अवस्था जारी रहँदै गर्दा नेपाल ट्रष्टले उक्त भवन खाली गर्न भनेको हो। 

नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपर्स प्रालिबीच २०६६ पौष २३ गते भएको अद्यावधिक सम्झौता अनुसार दुई कम्पनीबीचको सम्झौता  २०७७ असार २ गते समाप्त भएको नेपाल ट्रष्टले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

सम्झौतामा भएको व्यवस्था अनुसार सम्झौता सकिएपश्चात कन्सेप्ट डेभलपर्स प्रालिले नेपाल ट्रष्टको कार्यालयलाई उक्त भवन चालु अवस्थामा हस्तान्तरण गर्नुपर्ने ट्रष्टको दाबी छ ।

उक्त भवनमा मुक्तिनाथ विकास बैंकको प्रधान कार्यालय, वेस्र्टन युनियन मनि ट्रान्सफर, होटेल, रेष्टुरेन्ट तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतका दर्जन बढी वित्तीय संस्थाका कार्यालयहरु रहेका छन् । त्यस्तै विभिन्न प्रकारका पसल समेत संचालनमा रहेका छन्। 

नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको काठमाडौँ महानगरपालिका वडा न. ३१ कमलादी स्थित कित्ता न. २२३५ मा बनेको सो भवनले ५ रोपनी २ दाम जमिन ओगटेको छ।