व्यापारमा मन्दी छाउँदा शोधनान्तर बचत एक महिनामै ८४ अर्बले बढ्यो

0
Shares

चालु आर्थिक वर्षको १० महिनासम्ममा आइपुग्दा मुलुकको शोधनान्तर स्थिति १२० अर्ब ९० करोड बचतमा रहेको छ । चालु आर्थिक वर्षको नौ महिना अर्थात चैतमा ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति बैंशाखमा उच्च दरमा वढेको हो ।

कोरोना भाइरसका कारण नेपाल सरकारले लकडाउन गरकोले अर्थतन्त्र नै करिब ठप्प अवस्थामा रह्यो । आर्थिक गतिविधि नै ठप्प रहेपछि आयात पनि न्यून तथा पेट्रोलियम पर्दार्थको मूल्यमा आएको उच्च गिरावट तथा लकडाउनका कारण खपतमा समेत कमी आएपछि माग समेत न्यून रहेको अवस्था हो । त्यसले गर्दा आयातमा भएको नियन्त्रणका कारण शोधनान्तर बचत एक महिनामा नै ८४ अर्ब भन्दा धेरैले बढेको हो ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा चालु खाता घाटा १०५ अर्ब ७४ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा २२१ अर्ब ७७ करोड रहेको थियो ।

अमेरिकी डलरमा गत आर्थिक वर्षको दश महिनामा १ अर्ब ९६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ । चालु आवको बैशाखसम्ममा पूँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी.९ अर्ब ४७ करोड रुपैयाँ थियो ।

चालु आवको बैशाखसम्ममा शोधनान्तर स्थिति १२० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा चालु आवको बैशाखसम्ममा १ अर्ब १ करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

२०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०७७ बैशाख मसान्तमा १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १० खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १ खर्ब ६० अर्ब ७ करोड रुपौयँ पुगेको छ।

विदेशी विनिमय सञ्चितिले १२ महिनाको वस्तु आयात धान्ने

२०७७ बैशाख मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकको अनुमान रहेको छ ।

चालु आवको बैंशाखसम्ममा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८९.७ प्रतिशत र ३१.२ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।