सर्वसाधारणको बचतलाई अर्थतन्त्रमा परिचालन गर्ने मध्यस्तकर्ताको रुपमा रहेको बैंकिङ क्षेत्रले पछिल्लो एक दशकमा ठूलो फड्को मारेको छ। यो अवधिमा बैंकिङ पहुँचको विस्तार मात्र नभई संस्थागत क्षमतामा समेत उच्च सुधार आएको पाइएको छ।
एक दशक पहिले ५० करोडको ऋण डिफल्ट भएको खण्डमा समस्यामा आउने अवस्थामा रहेका वाणिज्य बैंकहरुको आजको अवस्था हेर्दा विकास निमार्णका पूर्वाधारमा लगानी गर्नसक्ने अवस्थामा पुगेका छन्। वाणिज्य बैंकको सन्दर्भमा ५० करोड सम्मको हानी नोक्सानीले संस्थालाई खासै असर नगर्ने अवस्था आएको बैंकरहरुले नै बताउँदै आएको अवस्था छ।
विसं २०६७ सालमा मुस्किलले एक अर्ब चुक्ता पूँजी भएका बैंकहरुको आजको अवस्था न्यूनतम ८ अर्ब रुपैयाँ रहेको छ। यो एक दशकको अवधिमा पुराना केही बैंकहरुको अस्तित्व समाप्त भएको छ भने समय सापेक्ष नयाँ बैंकहरुको स्थापना पनि भएको छ।
विसं २०६७ असारमा चुक्ता पूँजी एक अर्ब रहेको ग्लोबल आइएमई बैंकले सो समयमा २ करोड ६३ लाख ४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो। तर, सोही बैंकले २०७६ चैत मसान्तसम्ममाको विवरण हेर्दा जनता बैंकसँग मर्जर पश्चात चुक्ता पूँजी १८ अर्ब ९७ करोड रुपैयाँ पुर्याएको छ भने सोही अवधिको खुद नाफा पनि २ अर्ब ७० करोड २६ लाख रुपैयाँ गरेको छ। एक दशकको अवधिमा ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी करिब १८ गुणा भन्दा धेरैले बढेको छ भने खुद नाफा १०२ गुणा भन्दा धेरैले बढेको तथ्याङ्क छ।
बैंकहरुले सर्वसाधारणको पैसामा उच्च मार्जिन राखेर धेरै नाफा गर्ने गरेको गुनासो आइरहने गरेको छ। तर, बैंकहरुले नाफासँगै संस्थागत सबलता र समय सापेक्ष सेवामा विस्तार गरे नगरेको भन्ने विषयमा पनि उत्तिकै चर्चा गर्न जरुरी छ । आज भन्दा १० वर्ष अघि मुस्किलले एक अर्ब चुक्ता पूँजीमा सञ्चालन भएका बैंकहरुले आज साढे ४ गुणा देखि १८ गुणाँ सम्म लगानी बढाएको अवस्थामा छ।
पूँजी बढाएको विषयमा नियामकको दबाब तथा मर्जर तथा एक्विजीशनको नीतिका कारण पनि हो। तर, सबै बैंकहरुले अन्य बैंक वित्तीय संस्था खरीद गरेर मात्र पूँजी बढाएका होइनन्। यसमा लगानीकर्ताको लगानी पनि उत्तिकै थपिएको छ। त्यसका साथै शहरमा मात्र बैंकिङ सेवा प्रदान गर्ने वाणिज्य बैंकहरु एक दशकको अवधिमा गाँउगाँउमा पुगेको अवस्था छ।
चालू आवको १० महिना अवधिमा कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका छन्। अब ७ वटा स्थानीय तहमा मात्रै शाखा पुग्न बाँकी रहेको राष्ट बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
गाउँगाउँमा शाखा पुग्दा बैंकिङ पहुँचमा वृद्धि त भएको छ नै तर, बैंकहरुले संस्थागत वित्तीय अवस्थामा गरेको सुधार अनुसार लगानीमा विविधता ल्याउन भने नसकेको स्पष्ट देखिन्छ। यो अवधिमा बैंकहरुले कर्जा प्रवाह गर्ने शैलीलाई भने आधुनीकीकरण गर्न सकेका छैनन्। त्यतिमात्र नभई सूचना तथा प्रविधिको प्रयोगमा समेत बैंकहरुको लगानी प्रयाप्त हुन नसक्दा समय समयमा प्रविधिमा आधारित वित्तीय अपराधका घट्नहरु बाहिर आउने गरेका छन् ।
पछिल्लो एक दशकको अवधिमा सबैभन्दा धेरै पूँजी बढाएको ग्लोबल आइएमई बैंकको नाफा पनि अन्य बैंकहरुको तुलनामा उच्च दरमा वृद्धि भएको देखिन्छ। तर, २०६७ असारको तुलनामा २०७६ चैतमा सरकारी लगानी रहेको नेपाल बैंकले २५ गुणा भन्दा धेरैले चुक्ता पूँजी बढाएको भएपनि नाफा वृद्धि भने साढे २ गुणाले मात्र गर्न सकेको छ । सरकारी लगानी रहेका बैंकहरुको पूँजी तथा नाफा वृद्धिमा खासै ठूलो अनुपातमा बढोत्तरी भएको देखिन्न। उता केही बैंकहरुको पूँजीको अनुपातमा नाफा वृद्धि घटेको पनि देखिन्छ।
पछिल्लो १० वर्षको अन्तरालमा माछापुच्छ«े बैंकले करिब ६ गुणाँले पूँजी बढाउँदा १० गुणाले नाफा बढाएको छ। त्यसैगरी सिटिजन्स बैंकले साढे ८ गुणाले पूँजी बढाएर नाफामा पनि करिब १२ गुणाँले वृद्धि गरेको अवस्था हो। यो अवधिमा सनराइज बैंकले करिब ७ गुणाले चुक्ता पूँजी बढाई खुद नाफा ११ गुणा भन्दा धेरैले वृद्धि गरेको देखिन्छ। यो अवधिमा एनएमबी बैंकले करिब ९ गुणाले चुक्ता पूँजी बढाउँदा नाफा भने करिब ३० गुणाले वृद्धि गरेको छ।
पछिल्लो एक दशकमा पूँजी वृद्धिको अनुपातमा नाफा नगर्ने बैंकहरु पनि उत्तिकै देखिन्छन्। यो अवधिमा सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआइ बैंक, बैंक अफ काठमाण्डू, नबिल बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले पूँजी बढेको अनुपातमा नाफा वृद्धि गर्न भने सकेका देखिँदैन ।
२०७६ साल असार मसान्तसम्ममा सञ्चालनमा रहेको किष्ट बैंक, डिसिबिएल बैंक संस्थागत समस्याका कारण अन्य बैंकहरुमा विलय भएभने लुम्बिनी बैंक, एनआइसी बैंक, बैंक अफ एशिया पनि एक आपसमा मर्जर तथा एक्विजीशनमा गएको अवस्था छ ।
यस अवधिमा जनता बैंक स्थापना भएपनि ग्लोबल आइएमई बैंकमा विलय भएको अवस्था छ भने एनआइसी र बैंक अफ एशिया बीच मर्जर भएर एनआईसी एशिया बैंक बनेको अवस्था हो। यस बीचमा मेगा, सिभिल तथा सेञ्चुरी गरि तीनवटा नयाँ बैंक स्थापना भएर सञ्चालनमा छन्।
- दुई विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति
यो एक दशकको अवधिमा २ विकास बैंकले आफुहरुलाई वाणिज्य बैंकको रुपमा स्थापना गर्न सफल भएका छन् ।
विकास बैंकबाट स्तरोन्नती गरेर वाणिज्य बैंक भएकाहरुमा सानिमा बैंक र प्रभु बैंक रहेका छन्। प्रभू बैंकले तत्कालीन किष्ट बैंकलाई र डिसिबिएल बैंकलाई नै खरीद गरेर विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नती भएको हो।
प्रतिक्रिया