सरकारको आन्तरिक ऋण ६ खर्ब नाघ्यो, थप २४ अर्ब उठाउँदै

0
Shares

सरकारले चालु आर्थिक वर्षको एघार महिनामा झण्डै ६ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । सोमबार ट्रेजरी बिल बिक्री मार्फत सरकारले २४ अर्ब ३ करोड रकम उठाँउदै छ ।

यो समेत गर्दा सरकारको आन्तरिक ऋण ६ खर्ब २० अर्ब २ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले हालसम्म ५ खर्ब ९५ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण लिएको छ।

सरकारले सबैभन्दा धेरै विकास ऋणपत्र मार्फत ३ खर्ब ८९ अर्ब रुपैयाँ लिएको छ। त्यस्तै ट्रेजरी बिल मार्फत एक खर्ब ९७ अर्ब रुपैयाँ उठाएको छ। नागरिक बचतपत्र मार्फत ८ अर्ब ३७ करोड रुपैयाँ लिएको छ भने वैदेशिक रोजागार बचतपत्र मार्फत ४५ करोड रुपैयाँ ऋण लिएको छ।

सरकारी ऋणमा सबैभन्दा धेरै विकास ऋणपत्रको हिस्सा रहेको छ । सरकारले विकास ऋणपत्र मार्फत ६५.४३ प्रतिशत, ट्रेजरी बिलबाट ३३.०९ प्रतिशत, नागारिक बचतपत्र बाट १.४१ प्रतिशत तथा वैदेशिक रोजागार बचतपत्र मार्फत ०.१ प्रतिशत ऋण उठाएको छ ।

सरकारले बजेट कार्यान्वयन गर्नका लागि राजस्व, आन्तरिक ऋण, वैदेशिक सहायता तथा ऋण मार्फत जुटाउने गरेको छ।
यसैबीच सरकारले सोमबार थप २४ अर्ब तीन करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।

यसका लागि नेपाल राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिलको बोलकबोल गर्नेछ। २८ दिन अवधिको ५ अर्ब ९१ दिनको १४ अर्ब तीन करोड रुपैयाँ र १८२ दिनको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल असार ९ गतेदेखि जारी गर्नेछ।

केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएको ९ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो भने १५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणालीमार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। असार ९ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

राष्ट्र बैंकले यसअघि असार १ गते पनि ९१ दिन अवधिको ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो।