बैंकहरुले लकडाउनको अवधिमा पनि ३४ अर्ब ‘रिकभरी’ गरे

0
Shares

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको भएपनि बैंकिङ क्षेत्रको कारोबार खासै प्रभावित भएको देखिदैन । सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको अवस्थामा पनि बैंकहरुले ३४ अर्ब रुपैयाँ कर्जा रिकभरी गरी १५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन ।

सरकारले गत चैत ११ गते देखि असार १ गतेसम्म कडिकडाउ लकडाउन गरेको अवस्था हो । यो अवधिमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले चैत देखि असारको पहिलो सातासम्ममा नयाँ कर्जा प्रबाह नभएको र कर्जा असुलीमा लचकता अपनाएको भएपनि त्यसले बैंकहरुलाई खासै असर नगरेको देखिन्छ । 

लकडाउनको प्रभाव कम परेको व्यापारी व्यवसायी नियमीत रुपमा कर्जा तिरीरहेको अवस्था छ । कर्जाको म्याद सकिन लागेका ऋणीहरुले कर्जा भूक्तानी गर्दा रिकभरी बढेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । “लकडाउनको विचमा पनि प्रभावित नभएको ब्यापार ब्यवसाय जस्तो खाद्यन्न, औषधि तथा मेडिकल सामाग्रीको, इन्टरनेट, टेलिकम, विद्युत बिक्री गरिरहेका जलविद्युत कम्पनी लगायतको आम्दानी प्रभावीत नहुदाँ कर्जा असुलि भएको देखिन्छ ।”

चैतमा ४२ अर्ब कर्जा प्रबाह गरेका बैंकहरुले बैंशाखमा १६ अर्ब कर्जा रिकभरी गरेको देखिन्छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै चैत ११ देखि लकडाउन गरेको हो । चैत महिनामा ११ दिन बैंकहरुले नियमीत बैंकिङ व्यवसाय गरेका थिए । तर, बैंशाख महिनामा पूर्ण रुपमा लकडाउन रहेको अवस्था हो । त्यसैगरै पूर्ण रुपमा नै लवकडाउन कायम रहेको जेठ महिनामा बैंकहरुले १३ अर्ब कर्जा असुलि गरेका छन् । असार एक गतेदेखि लकडाउन खुकुलो भएसंगै र आर्थिक वर्षको अन्त्य नजिकिएसंगै असारको पहिलो सातामामात्र बैंकहरुले ५ अर्ब रिकभरी गरेको नेपाल बैंकर्स संघले जनाएको छ । तर गत आर्थिक वर्षको चैत २२ अर्ब, वैशाखमा २१ अर्ब र जेठमा २७ अर्ब रुपैयाँ कर्जा बढेको थियो ।

सो अवधिमा बैंकहरुमा निक्षेप भने उच्च दरमा थपिएको छ । लकडाउनको अवधिमा बैंकहरुमा १५४ अर्ब रुपैयाँ निक्षेप वढेको छ । बैंकहरुले चैतमा ४९ अर्ब, बैशाखमा ११ अर्ब, जेठमा ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन । असारको पहिलो सातामा बैंकहरुले १८ अर्ब निक्षेप संकलन गरेका छन । बैंकहरुमा निक्षेप उच्च दरमा वढ्ने र कर्जा असुलिन पनि बढ्दै गएको भएपनि नयाँ कर्जा भने जारी हुन नसकेको अवस्था छ । तर, असार एक गतेखि लकडाउन खुकुलो भएको छ । लकडाउन खुकुलो भएसंगै उद्योग ब्यासायहरु सुचारु हुने भएकाले कर्जाको माग पनि वढ्ने दाहालले बताए ।

बैंकहरुले चैत मसान्तसम्ममा कर्जा भुक्तानी गर्ने ऋणीलाई ब्याजमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका भएपनि सो अवधिमा कर्जा असुली हुन नसकेको बैंकरहरुले बताउने गरेका छन् । कर्जा असुलिको सन्दर्भमा केन्द्रीय बैंकले उपयुक्त व्यवस्था नगरेको खण्डमा बैंकहरुले आप्mनै प्रक्रिया अनुसार असुलिको नीति लिने योजना बैंकहरु देखिन्छन ।

बैंकहरुले आर्थिक वर्षको अन्तिम समय भएकाले असार महिनामा भने असुलीलाइ प्राथमिकतामा राख्ने गर्छन । तर, कोरोना भाइरसका कारण कर्जा तिर्ने समय ६ महिना थप भएको अवस्थामा बैंकहरुले कर्जा असुलिको पक्षलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गर्ने व्यवस्था अनुसार गर्ने भन्नेमा पनि देखिन्छ ।