बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा उच्च गिरावट, खर्च बढ्यो

0
Shares

बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बोटलर्स बालाजुले नोक्सान देखाउँदा बोटलर्स तराईले भने सामान्य नाफा देखाएको छ ।

बोटलर्स नेपालको बिक्री वापतको आम्दानी घट्दा नाफा प्रभावित भएको छ भने तराईको बिक्री वापतको आम्दानी बढेपनि बिक्री वितरण र अन्य खर्च उच्चदरले बढ्दा नाफा घटेको हो ।

तेस्रो त्रैमासको अन्तिम २० दिन लकडाउनमा परेपनि बोर्टलर्स नेपालले ५ अर्ब ६२ करोड ४० लाख रुपैयाँ तथा तराईले ३ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बराबरको उत्पादन बिक्री गरेका छन् । सरकारले चैत्र ११ गते कोरोना रोकथाम तथ नियन्त्रणका लागि लकडाउन गरेपछि भने कम्पनीको कारोबार प्रभावित हुन पु्गेको देखिन्छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मममा बोटलर्स नेपाल (बालाजु) एक करोड ८० लाख रुपैयाँ खुद नोक्सानमा पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री वापतको आम्दानी १३ करोड ६१ लाख रुपैयाँले घटेर ५ अर्ब ६२ करोड ४० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल १ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ पुगेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको भन्दा १९ करोड १० लाख कम हो । यता कम्पनीको उत्पादनको बिक्री वितरण खर्च बढेको छ भने कर्मचारी र प्रशासकीय खर्चमा पनि बढोत्तरी भएको छ ।

चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ७३ करोड २३ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ नकारात्मक पुगेको छ भने मूल्य आम्दानी अनुपात ११८ गुणा नकारात्मक भएको छ।

यस्तै बोटलर्स नेपाल (तराई) ले चालु आवको चैत मसान्तसम्मममा ३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा १६ करोड ९ लाख रुपैयाँ कम हो। गत आवको यसै अवधिसम्ममा कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री वापतको आम्दानी ४६ करोड ६६ लाख रुपैयाँ बढेर ३ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको व्यपार बढेपनि खर्च बढ्दा नाफा प्रभावित भएको हो। कम्पनीको बिक्री खर्च, वितरण खर्च उल्लेखीय रुपमा बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८३ करोड ४९ लाख रुपैयाँले घटेर एक अर्ब ५ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब २१ करोड १५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३६ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १८३ गुणा कायम भएको छ।