पोखरा महानगरको बजेट ६ अर्ब २० करोड, बन्दाबन्दीले १६ अर्ब क्षति

0
Shares

विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ पश्चात् नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण पोखरा महानगरपालिकाले करिब १६ अर्ब रुपैयाँको क्षति व्यहोरेको जनाइएको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा बन्दाबन्दीले प्रत्येक क्षेत्रको गतिविधि थप्प हुँदा ठूलो क्षति पुगेको बताए ।

आर्थिक गतिविधि ठप्प हुँदा अन्य नियमित सेवालाई समेत प्रत्यक्ष प्रभाव पारेको नीति तथा कार्यक्रममा कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिले मानव समुदायको आवश्यकता र प्राथमिकतालाई नै बदलिदिएको उल्लेख छ ।

“महानगरपालिकाको आन्तरिक राजस्व सङ्कलन, विकासका कार्यक्रम र नियमित सेवा प्रवाहमा प्रतिकूल असर गरेको छ”, उनले भने, “चैत ११ देखि जेठ ३२ गतेसम्मको बन्दाबन्दीको ७३ दिनमा सो क्षति भएको अनुमानित हिसाब हो ।” विषम परिस्थितिको सामाना गर्दै यस महामारीका सम्भावित असरलाई न्यूनीकरण गर्न र महानगरवासीको जीवनरक्षा गर्दै विकासका गतिविधिलाई निरन्तरता दिने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको उनले बताए ।

कोरोना भाइरसको सङ्क्रमणले सिर्जना गरेको प्रतिकूल अवस्थाको सामना गर्न युवालाई नयाँ व्यवसायी शुरु गर्न नवउद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै उनले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परिरहेको प्रतिकूल असरलाई मध्यनजर गर्दै व्यवसायी सञ्चालन हुने वातावरण निर्माण गर्न आवश्यक पहल गरिने उल्लेख गरे ।

संवैधानिक व्यवस्थाअनुसार समाजवादउन्मुख समाज तथा दिगो विकास लक्ष्य २०३० ले निर्दिष्ट गरेको लक्ष्यलाई साकार पार्ने आधार निर्माण गर्ने गरी तीन वर्षदेखि अवलम्बन गरिएका नीतिलाई अझ थप परिमार्जन गरी चालू आर्थिक वर्षमा प्रस्तुत गरिएको छ । गत आव ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरेर १२ वटा योजनामार्पmत ६० किलोमिटर बाटो ग्राभेल र १३ मिलोमिटर सडक कालोपत्रे गरिएको नीति तथा कार्यक्रममा समपूरक अनुदान बजेटबाट १० किलोमिटर बाटो ग्राभेल र छ किमी कालोपत्र गर्ने कार्य सम्पन्न भएको उल्लेख छ ।

पोखरा महानगरपालिकाले पूर्वाधार विकासमा जोड दिँदै आएको उल्लेख गर्दै उहाँले विभिन्न स्थानमा निर्माणाधीन छ वटा मोटरेबल पुलको निर्माण कार्यले तीव्रता लिएको जानकारी दिए । महानगरले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस ९अक्टुबर १० मा महानगरको सबैभन्दा जेठो महिला तथा पुरुषलाई महानगर पिता र माता घोषणा गर्ने भएको छ भने ताल संरक्षण तथा वनजङ्गल संरक्षणसहित महानगरलाई पर्यावरणमैत्री पर्यटनका रुपमा अघि बढाउने नीति लिएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा जलस्रोत, जैविक विविधता संरक्षण एवं सम्वद्र्धन गर्दै शहरी वन विकासको अवधारणाअनुसार महानगरपालिकालाई हरित शहरका रुपमा विकास गरी पर्या–पर्यटन प्रवद्र्धन गर्ने नीति लिएको छ ।
महानगरको प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, खानेपानी, ताल संरक्षण, स्मार्टसिटी निर्माण, न्याय सम्पादन, उपप्रमुखसँग महिला, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, पशुपालन, जलवायु परिवर्तन तथा जोखिम व्यवस्थापनलगायतलाई उच्च प्राथमिकतामा राखेको छ ।

पोखरा महानगरपालिकाको बजेट छ अर्ब २० करोड

पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७/७८ का लागि रु छ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । पोखरा सभागृहमा आज आयोजित सातौँ नगरसभामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गर्नुभएको बजेटमा चालू खर्चतर्पm रु तीन अर्ब २० करोड ८४ लाख र पुँजीगत खर्चतर्पm रु दुई अर्ब ९८ करोड ८८ लाख रहेको छ ।

सङ्घीय सरकारबाट रु दुई अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट रु १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत रु दुई अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान गरिएको छ भने अन्तरसरकारी अख्तियारबाट रु ८५ करोड प्राप्त हुने प्रस्तुत बजेटमा अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिए ।

बजेटमा राजस्व बाँडफाटतर्फ सङ्घीय सरकारबाट रु ३० करोड ६४ लाख र प्रदेश सरकारबाट रु चार करोड ३७ लाख गरी जम्मा ३५ करोड एक लाख र आन्तरिक स्रोतबाट रु दुई अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँटअन्तर्गत सङ्घीय सरकारबाट रु ४१ करोड ९९ लाख र प्रदेश सरकारबाट रु तीन करोड ८२ लाख, आन्तरिक आय रु दुई अर्ब ७४ करोड २९ लाख १७ हजार, ऋणबाट रु १० करोड, जनसहभागिता रु १२ करोड २५ लाख, नगद मौज्दात रु २२ करोड, सडक बोर्ड रु दुई करोड ५० लाख, अन्तरसरकारी अख्तियारी रु एक अर्ब २६ करोड २५ लाख अनुमान गरिएको थियो ।

आज सर्वजनिक गरिएको बजेटमा पूर्वाधारतर्पm रु दुई अर्ब ७३ करोड ४० लाख, स्वास्थ्यतर्पm एक अर्ब २९ करोड ६३ लाख, कृषि तथा पशुपालनतर्पm पाँच करोड ३५ लाख, पर्यटनतर्पm दुई करोड ४६ लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । कोरोना विशेष कार्यक्रमका लागि २८ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ ।

महानगरपालिकाकाले आर्थिक वर्ष २०७६/७७ मा व्ययतर्फ सञ्चित कोषबाट रु पाँच अर्ब ७१ करोड ७९ लाख अनुमान गरिएकोमा संघीय सरकारबाट थप सशर्त अनुदान प्राप्त भई सञ्चित अनुमान छ अर्ब ३८ लाख भएको छ । कार्य सञ्चालन कोषबाट व्यय रु एक अर्ब २८ करोड ७५ लाख अनुमान गरिएकामा आव २०७६/७७ को जेठ मसान्तसम्म रु तीन अर्ब ३१ करोड २० लाख सञ्चित कोषमा रकम आम्दानी भएको थियो ।

आव २०७६/७७ को जेठ मसान्तसम्म चालू खर्चतर्फ रु एक अर्ब ३६ करोड २० लाख र पुँजीगत खर्चतर्फ रु एक अर्ब १० करोड ८३ लाख खर्च भई चालूतर्फ ५४ दशमलव ५ र पुँजीगततर्फ ३१ दशमलव पाँच प्रतिशत खर्च भई कूल वित्तीय प्रगति ४१ प्रतिशत भएको छ । असार मसान्तसम्म ६० प्रतिशत कार्य प्रगति हुने अनुमान गरिएको छ । आयतर्फ हालसम्म तीन अर्ब ३१ करोड २० लाख आम्दानी भई अनुमानको ५५ प्रतिशत लक्ष्य हासिल भएको छ । कोरोना भाइरस कोभिड– १९ ले पारेको प्रभावले आम्दानी र खर्च प्रगति कम भएको हो । महानगरले चालू आवका लागि भने रु सात अर्ब ५४ करोडको बजेट ल्याएको थियो ।